क्यानडाविरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने
काठमाडौं : क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ। त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले क्यानडालाई ब्याटिङको निम्तो दिएका हुन्।
नेपालको पौडेल र क्यानडाको साद बिन जाफरले कप्तानी गरेका छन्। नेपालले डब्लुसीएल लिग टूको तयारी स्वरुप आयोजना गरेको सिरिज खेल्न क्यानडाको टीम नेपाल आएको हो।
क्यानडाविरुद्धको एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो खेलमा नेपालले ‘क्लिन स्विप’गर्ने लक्ष्यमा रहँदा क्यानडा भने पहिलो जितको खोजीमा रहनेछ। घरेलु दर्शक र समर्थक ठूलो संख्यामा उपस्थित भएपछि क्यानडाको टीम र क्यानडाका मुख्य प्रशिक्षक पुबुदु दाशानायकेले दबाब महसुस गरिरहेका छन्।
आजको खेलमा हेमन्त धामीले डेब्यु गर्ने भएका छन्। सोमपाल कामी, आसिफ शेख, सुर्य तामाङ, रिजन ढकाल बेञ्चमा रहेका छन्।
नेपालले सिरिजको पहिलो खेलमा नेपालले ७ रन र दोस्रो खेलमा ४ विकेटको जित हात पारेको थियो।
नेपालको प्लेइङ ११ : अनिल शाह, कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), देव खनाल, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, आकाश चन्द, ललित नारायण राजवंशी, हेमन्त धामी
नेपालले लगातार अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने भएको छ। नेपालले फेब्रुअरी १५ देखि २५ सम्म टियु क्रीकेट मैदानमा नेदरल्यान्ड्स र नामिबियासँग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्दैछ। त्यसलगत्तै नेपालले नेदरल्यान्ड्स र नामिबियासँग फेब्रुअरी २७ देखि ५ मार्चसम्म टि-२० सिरिज खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।