रेड नोटिस जारी भएका २० प्रतिशत मात्रै पक्राउ पर्छन्

रेड नोटिस जारी भएका २० प्रतिशत मात्रै पक्राउ पर्छन्
सांकेतिक तस्बिर।

काठमाडौं : अघिल्लो महिनामा मात्रै इन्टरपोलबाट रेड नोटिस जारी गरेका ५ जना आरोपी विदेशबाट नेपाल ल्याइएको छ। यही माघको पहिलो हप्ता खोटाङका १९ वर्षीय किरण राई कतारमा पक्राउ परेका थिए। उनीविरुद्ध रेड नोटिस जारी गरेको ५ दिनमै इन्टरपोलले उनलाई नियन्त्रणमा लिएको थियो। 

माघ १० गते सुनसरीका सेहमान खाँ पनि कतारमा पक्राउ परे। जबर्जस्ती करणी मुद्दामा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दर्ता भएको छ। एनसीबी दोहाको समन्वयमा उनलाई कतारमा पक्राउ गरिएको हो। मुद्दाको अनुसन्धानका क्रममा खाँ कतारमा रहेको थाहा भएपछि उनलाई इन्टरपोलको सहायतामा नेपाल फर्काइएको हो। 

गत पुस महिनामा पनि दुबई र कतारबाट ४ जना आरोपीलाई नेपाल ल्याइएको थियो। इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रहरूको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएका व्यक्तिहरू पक्राउ पर्छन्। यसैगरी यही माघ १६ गते नेपालगञ्जका गणेस सिजापति पनि कतारमै पक्राउ परे। काठमाडौंको तीनकुनेमा रहेको नमस्ते बचत तथा क्रण सहकारी संस्थाका प्रबन्धक रहेका उनीविरुद्ध सहकारी ठगीको उजुरी प्रहरीमा दर्ता भएको छ। 

यी त केही उदाहरण मात्रै हुन् । नेपालमा अपराध गरेर विदेश फरार भएका विभिन्न व्यक्तिहरू रेड नोटिस जारी गर्दै पक्राउ परेका विभिन्न उदाहरण छन्। जबर्जस्ती करणी मुद्दामा विदेशमा भएका क्रिक्रेटर सन्दीप लामिछानेविरुद्ध पनि रेड नोटिस जारी भएको थियो। नेपाल प्रहरीको नेसनल सेन्ट्रल ब्युरो ‘एनसिबी’ ले फरार आरोपी खोज्न तथा अन्र्तराष्ट्रिय स्तरमा खोजतलास गर्नका लागि इन्टरपोल महासचिवालयमा समन्वय गर्ने गर्छ। सचिवालयले सम्वन्धित देशमा सूचना जारी गर्छ। प्रहरी प्रधान कार्यालय नक्सालले दिएको तथ्यांकअनुसार नेपाल प्रहरीले हालसम्म १६८ वटा रेड नोटिस जारी गरेको छ। यसमध्ये ३६ जना आरोपी विभिन्न मुलुकमा पक्राउ परेका छन्। यस्तै, १०३ वटा डिफ्युजन नोटिस जारी गरेको छ। डिफ्युजन नोटिस जारी भएका १३ जना पक्राउ परेका छन्। प्रहरीकै तथ्यांक हेर्ने हो भनेपनि रेड नोटिस जारी भएका २० प्रतिशत आरोपी मात्रै पक्राउ परेका छन् । अझ डिफ्युजन नोटिस जारी भएका संख्या र पक्राउ संख्या हेर्ने हो भने यो प्रतिशत कम देखिन्छ। 

के हो रेड नोटिस ? 

नेपालमा अपराध गरेर फरार भएका व्यक्तिको खोजीका लागि इन्टरपोलले रेड नोटिस जारी गर्छ। कुनै व्यक्ति अपराधमा मुछिएको उजुरी प्रहरीमा पर्नासाथ प्रहरीले उसको खोजी गर्छ। गम्भीर प्रकृतिका अपराधमा संलग्न भएको उजुरी आएको तथा प्रमाण भेटिएको अवस्थामा उसलाई खोज्नका लागि डिफ्युजन नोटिस जारी गरिन्छ। उसको ठेगाना पत्ता लगाएपछि यदि उ विदेशमा छ भने पक्राउ पुर्जी जारी हुन्छ। पक्राउ पुर्जी जारी भएको फरार आरोपीलाई नियन्त्रणमा लिनका लागि इन्टरपोलले रेड नोटिस जारी गर्छ। फरार आरोपी संलग्न भएको अपराधको प्रकार अनुसार विभिन्न नोटिस जारी गर्नका लागि नेपाल प्रहरीले इन्टरपोल महासचिवालयमा अनुरोध गर्दै पत्र लेख्छ। 

नेपाल प्रहरीका प्रवक्ता भीम ढकालका अनुसार फरार अभियुक्त पक्राउ गर्न इन्टरपोलले निकै सक्रियतापूर्वक काम गर्छ। किन सबै आरोपी पक्राउ पर्देनन त ? प्रवक्ता ढकाल भन्छन्, ‘अपराधमा संलग्न भएकाहरू विश्वका जुनसुकै देशमा भाग्ने, लुक्ने गर्छन्। कतिपयले परिचय नै बदल्छन् । अपराधीको काम नै लुक्ने र भाग्ने हो। उसले कसरी सजायबाट बच्न सकिन्छ भन्दै आफूलाई जोगाउने प्रयत्न गरिरहेको हुन्छ ।’ 

ढकाल अगाडि भन्छन्, ‘पछिल्लो समय फरार अभियुक्त पक्राउ पर्ने दर बढेको छ। कतिपय आरोपी त नेपालबाटै पक्राउ परेका उदाहरण पनि छन्। हामीले विभिन्न स्रोतबाट उनीहरूको निगरानी गरिरहेका हुन्छौं। जुनसुकै ठाउँमा लुकेर बसे पनि एक न एक दिन प्रहरीको नियन्त्रणमा परिहाल्छन्। अपराध गरेर भाग्छु भन्नु असम्भव प्रायः छ। गम्भीर प्रकृतिका अपराधमा इन्टरपोल सचिवालयबाट निकै सक्रियतापूर्वक काम हुन्छ। हामीले पनि अन्य देशका नागरिकलाई बेलाबेलामा डिपोर्ट गरिरहेका हुन्छौं। यो सहकार्य इन्टरपोलका सबै सदस्य राष्ट्रसँग हुन्छ।’ 

प्रहरी प्रवक्ताका अनुसार नेपालमा हुँदा कर्तव्य ज्यान, ठगी, अपहरण, डकैती, वन्यजन्तु अपराध, बैंकिङ कसूर, सुन तस्करी, संगठित अपराध, किर्ते, लागुऔषध ओसारपसार, साइबर अपराध, वैदेशिक रोजगार ठगी, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसारमा संलग्नता देखिएका फरार प्रतिवादीविरुद्ध रेड नोटिस जारी हुने गरेको छ। 

यस्तै, विदेशमा बसेर नेपालमा विभिन्न अनलाइन ठगी, साइवर अपराध जस्ता अपराधमा संलग्न भए पनि यस्ता आरोपीविरुद्ध रेड नोटिस जारी हुन्छ। रेड नोटिस जारी हुनका लागि अपराध पुष्टि नै हुन भने जरूरी छैन। चालु मुद्दाका फरार अभियुक्तलाई अनुसन्धानमा ल्याउनका लागि यस्तो नोटिस जारी गरेर आरोपी पक्राउ गर्ने गरिन्छ। 

एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयले विभिन्न नोटिस जारी गर्छ। इन्टरपोलबाट हालसम्म १ सय ६८ जनाविरूद्ध रेड नोटिस, २४ जनाविरूद्ध एल्लो नोटिस, १ जनाविरुद्ध ब्लु नोटिस, १ जनाविरूद्ध ब्ल्याक नोटिस, १ जनाविरूद्ध पर्पल नोटिस र १ सय ३ जनाविरूद्ध डिफ्युजन नोटिस जारी भएको छ। तीमध्ये ६१ रेड नोटिस, ११ एल्लो नोटिस, १ ब्ल्याक नोटिस, १ पर्पल नोटिस र ३५ डिफ्युजन नोटिस कारबाही प्रक्रियामा छन्। यसमध्ये ६ जना विदेशीविरुद्ध रेड नोटिस र ५ जना विदेशी नागरिकविरुद्ध डिफ्युजन नोटिस जारी भएको हो। 

रेड नोटिस जारी भएर पक्राउ परेकामध्ये यूएईबाट १९ जना, कतारबाट ९ जना, साउदी अरेबियाबाट ३ जना, भारत र कुबेतबाट ३/३ जना, मलेसिया-मकाउ र चीनबाट २/२ जना छन् । यस्तै थाइल्याण्ड, क्यानडा, युएसए, पोर्चुगल तथा बहराइनबाट १/१ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी नेपाल फिर्ता ल्याइएको छ।

कस्तो अवस्थामा कस्तो नोटिस जारी हुन्छ ?

प्रहरी प्रधान कार्यालयका अनुसार वारेन्ट जारी भएका फरार अभियुक्तहरूको खोजीका लागि रेड नोटिस जारी हुन्छ । वारेन्ट जारी नभएका तथा अनुसन्धान कै क्रममा रहेका फरार अभियुक्तहरूको खोजीका लागि डिफ्युजन नोटिस जारी हुन्छ । सनाखत नभएका मानव शवको पहिचान गर्नका लागि ब्ल्याक नोटिस र हराएका मानिसहरूको अन्तर्राष्ट्रिय स्तरमा खोजी कार्यका लागि एल्लो नोटिस जारी गरिन्छ ।

यस्तै अपराधीले अपराध गर्न प्रयोग गरेका हतियार, बिष्फोटक प्रदार्थ तथा खतराजन्य अन्य चिजवस्तु लुकाएको स्थानको बारेमा जानकारी दिन ओरेन्ज नोटिस, आपराधिक कार्यविधिको बारेमा जानकारी दिन पर्पल नोटिस जारी हुन्छ ।

यसैगरी व्यक्तिको आपराधिक क्रियाकलापबाट सार्वजनिक सुरक्षामा हुनसक्ने सम्भावित खतराको बारेमा जानकारी गराउन ग्रीन नोटिस तथा अपराधमा संलग्न व्यक्तिको खोजतलास तथा जानकारी प्राप्त गर्न ब्लु नोटिस जारी हुने गर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.