संकटमा हिमालका रैथाने बाली

संकटमा हिमालका रैथाने बाली
हुम्लाको ताँजाकोटस्थित एक किसानको बारीमा खेती गरिएको रैथाने बाली चिनो। तस्बिर : अन्नपूर्ण

सुर्खेत : जुम्लाको कनकासुन्दरी गाउँपालिकाका किसान हर्कराज बुढाले रैथाने बालीको खेती गर्न छाडेको एक दशक भयो। दुःख गरेअनुसार उब्जनी नहुने, हुर्कनै समय लाग्ने, रोग र किराबाट जोगाउनै मुश्किल भएपछि उनले परम्परादेखि लगाउँदै आएका अन्नबालीको खेती गर्न छाडेका हुन्। ‘पहिला त राम्रै फल्थ्यो’ उनी भन्छन्,‘फापर, उवा, चिनो र कागुनो अचेल पहिलाको जस्तो फल्दैन, दुख अनुसार उब्जनी नहुँदा हामीले स्थानीय जातका अन्नबाली लगाउन छोडिसक्यौं।’

उनका अनुसार केहीवर्ष अघिसम्म फापर, चिनो, कागुनो, उवा, कोदो र जौ लगायतका स्थानीय जातका बालीको खेती राम्रै हुन्थ्यो। तर पछिल्ला वर्षमा ती बालीको उत्पादन क्रमशः घट्दो छ। उत्पादन घट्दै गएपछि स्थानीयले कतिपय रैथाने बालीको खेती नै गर्न छाडेका छन्। खेती नै गर्न छाडेपछि हिजोआज कतिपय स्थानीय जातका रैथाने बालीको बीउ नै नपाउने अवस्था आएको उनले सुनाए। उनी भन्छन्,‘पहिला त पाखामा छरिदिए पुग्थ्यो, त्यही फलेको बालीले छाक टार्थ्यौं। तर अचेल पहिलाको जस्तो उब्जनी हुँदैन, उब्जनी नहुने बाली किन लगाउनु ?’ धेरै उत्पादन हुने आसमा हिजोआज आफूहरूले हाइब्रिड जातका बालीको खेती गर्न थालेको उनले बताए।

जुम्लाकै तातोपानी गाउँपालिकाका किसान जयप्रसाद गौतमले पछिल्लो समय मार्सी धानको उत्पादन घट्दै गएको सुनाए। नयाँनयाँ रोग र किराको प्रकोपले मार्सी धानको उत्पादन सोचेअनुसार नहुँदा आफूहरूले विस्तारै यसको खेती घटाउँदै गएको उनको भनाइ छ। उनका अनुसार वर्षौदेखि स्थानीयले खेती गर्दै आएको जुम्ली मार्सीको खेतीमा पछिल्लो समय रोगले सताउन थालेको हो। गौतम भन्छन्,‘बर्सेनि नयाँ रोगले पाक्ने बेलामा मार्सी धान खेतमै नष्ट हुन्छ, पहिलाको जस्तो उत्पादन नै हुँदैन। रोगले सताउने र उब्जनी हुन छाडेपछि मार्सीको साटो नयाँ जातको धान लगाउन थालेका छौं, अब सबैले खेती गर्न छाडेपछि विस्तारै यहाँको रैथाने मार्सी नै लोप हुन्छ होला।’ 

कर्णालीका हिमाली जिल्लाहरू जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोटमा रैथाने जातका बालीको खेती घट्दो छ। उत्पादनमा आएको ह्रासका कारण स्थानीयले खेती गर्न छाडेपछि कतिपय रैथाने बालीहरूको अस्तित्व नै संकटमा परेको हो। चिसो र हिमाली हावापानीमा फल्ने चिनो, कागुनो, उवा, फापर, मार्से, जुम्ली मार्सी, कोदो, सिमी र जौं लगायतका रैथाने बालीहरू संकटमा पर्न थालेका छन्।

जलवायुमा आएको परिवर्तनका कारण यी रैथाने बालीहरूको अस्तित्व पनि संकटमा पर्न थालेको विज्ञहरू बताउँछन्। ‘जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिउँ समयमै पर्दैन’ वातावरणविद् सञ्जित कँडेल भन्छन्,‘पहिलाको तुलनामा हिउँ कम मात्र पर्ने गरेको, हिउँ पर्न छाडेपछि विस्तारै हिमाली क्षेत्रको तापक्रम पनि वृद्धि हुँदै जाँदा त्यहाँका रैथाने बालीलाई अनुकुल वातावरण भएन। ती बालीमा रोग र किराको प्रकोप पनि बढ्न थाल्यो, यसले उत्पादन घट्ने नै भयो।’ 

जीविकोपार्जनमा समस्या 

रैथाने बाली लोप हुने अवस्थामा पुग्दा स्थानीय किसानको जीविकोपार्जनमा नै समस्या उत्पन्न हुन थालेको छ। तर स्थानीय किसान भने के कारणले रैथाने बालीको उत्पादन घट्यो भन्ने विषयमा जानकार छैनन्। बरु उत्पादन बढी हुने बालीको खोजीमा किसानहरू भौंतारिने गरेका छन्। मुगुको खत्याड गाउँपालिकाका किसान वीरबहादुर खत्री भन्छन्,‘हिउँ र पानी नपर्दा छरेको बाली पनि सप्रिँदैन, पहिला अन्न फल्ने पाखाहरू अचेल बाँझै छन्। पुस्तौंदेखि लगाउँदै आएका बालीको उत्पादन राम्रो नहुँदा हामीलाई छाक टार्न कठिन हुन्छ, यहाँको हावापानीसँग सुहाउँदो नयाँ बालीहरू केही भए सरकारले दिए हुन्थ्यो।’ उनका अनुसार रैथाने बाली फल्न छाडे पनि जिल्लामा विगतमा नफल्ने कतिपय बाली र फलफूलहरू भने अचेल फल्न थालेका छन्। 

हिमाली क्षेत्रका किसानले उत्पादन बढी हुने आसमा उन्नत जातका बीउको खेती गर्न थालेका छन्। यसले पनि रैथाने बालीहरू संकटमा पर्न थालेका हुन्। रैथाने बालीको संरक्षणका लागि सरकारले जलवायुमैत्री कृषि प्रविधि र खेती प्रणालीतर्फ किसानलाई आकर्षित गर्नुपर्ने अगुवा किसानहरूको माग छ। पछिल्लो समय कर्णालीका रैथाने बालीले बजार पाउन थालेका छन्। मार्सी, सिमी र फापरको बजारमा माग बढेको भए पनि उत्पादन भने वृद्धि हुन सकेको छैन। रैथाने बालीको उत्पादन वृद्धि र बीउ संरक्षणमा प्रभावकारी योजना र कार्यक्रम नहुँदा यी बालीहरू संकटमा पर्न थालेको किसानहरू बताउँछन्। 

रैथाने बाली जोगाउने प्रयास

कर्णाली प्रदेश सरकारले रैथाने बालीको संरक्षणका लागि पहल भइरहेको जनाएको छ। रैथाने बालीको अस्तित्व जोगाउन र किसानलाई यसको खेतीमा आकर्षित गर्न कर्णालीमा उत्पादन हुने ९ वटा रैथाने प्रजातिका बालीहरू सूचीकृत गरिएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चिनो, कागुनो, उवा, मार्से, फापर, जुम्ली मार्सी, कोदो, जौ र सिमीलाई रैथाने बालीको रूपमा सूचीकृत गरिएको जनाएको छ। मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले रैथाने बाली संस्कृतिसँग जोडिएकाले सम्पदाको उपमा दिएर ती रैथाने बालीको उत्पादनहरू बिक्री गर्नेले अब अनिवार्य रूपमा ‘मूल्यवान’ अंकित लोगो राख्नुपर्ने व्यवस्था गरिएको जानकारी दिए। 

कठायतले भने,‘रैथाने बालीको बजार माग धेरै छ, मूल्य पनि राम्रो छ। तर उत्पादन भने हुन सकिरहेको छैन, रैथाने बालीको उत्पादन बढाउन र ती बालीको संरक्षणका लागि मन्त्रालयले प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिरहेको छ।’ उनले चालू आर्थिक वर्षमा रैथाने बालीको संरक्षण र प्रवर्द्धनका लागि जिल्लाहरूमा करिब ४ करोड बजेट पठाइएको बताए। रैथाने बालीको बीउ लोपोन्मुख अवस्थामा पुगेपछि जिल्लास्थित कृषि विकास कार्यालयहरूले बीउ जोगाउन प्रयास गरिरहेको मन्त्रालयको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.