जनप्रतिनिधि र कर्मचारीले श्रमदानबाटै बनाए सडक
डोल्पा : हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी मिलेर सडक निर्माण गरेका छन्। नगरपालिकाभित्र पर्ने चुँ गार्ड खोलादेखि लिकु जाने बाटोसम्मको करिब एक किलोमिटर सडक निर्माणसँगै सुधार गरेका हुन्।
मंगलबार नगर प्रमुख जनचन्द्र रोकायको नेतृत्वमा गएको जनप्रतिनिधि र कर्मचारीको टोलीले साँघुरो ठाउँमा बाटो चौडा गर्नुका साथै बीच बाटोमा रहेका ढुंगाहरू फुटाएर सडक निर्माण गरेको हो।
पैदलयात्रु र मोटरसाइकलमा आवतजावत गर्न समस्या भएपछि जनप्रतिनिधि र कर्मचारी मिलेर सडक सुधारको काम पनि गरेका छन्। सबै सानातिना ठाउँमा बजेट हाल्न पारदर्शी नहुने भएकाले जनप्रतिनिधि र कर्मचारीसहित श्रमदान गरेर सडक बनाइएको उनले बताए।
पहिला बाटो अप्ठेरो भएकाले मोटरसाइकलमा यात्रा गर्न असहज भए पनि अब भने सरर यात्रा गर्न मिल्ने बनाइएको छ। बाटो सुधार भएसँगै चुँ गार्ड खोलामा मोटरेबल पुल नबनुञ्जेल मोटरसाइकलमा सहज रुपमा आवतजावत गर्न सकिने वडा नम्बर १ का अध्यक्ष रामचन्द्र कुलालले बताए। श्रमदान कार्यक्रममा झण्डै ५० जना जनप्रतिनिधि र कर्मचारी सहभागी भएका थिए।