सेनाको भगौडा बताउने व्यक्ति शृङ्खलाबद्ध सवारीसाधन चोरीमा संलग्न

सेनाको भगौडा बताउने व्यक्ति शृङ्खलाबद्ध सवारीसाधन चोरीमा संलग्न
सुन्नुहोस्

विराटनगर : आफूलाई नेपाली सेनाको भगौडा बताउने एक व्यक्ति शृङ्खलाबद्ध सवारीसाधन चोरीमा संलग्न रहेको पाइएको छ। मोटरसाइकल, स्कुटरसमेतका सवारीसाधन चोरीमा संलग्न मोरङको बेलबारी नगरपालिका–४ घर भएका ३६ वर्षीय सन्तोष थापा भनिने मनीकुमार तामाङलाई अदालतले दोषी ठहर गरेको छ। उनी भारतको बागडुग्रामा समेत कोठा भाडामा लिएर बस्दै आएको खुलेको छ। मोटरसाइकल चोरी सम्बन्धी मुद्दामा जिल्ला अदालत मोरङले गत माघ २१ गते तामाङलाई ४ महिना कैद र १५ हजार रूपैयाँ जरिवानाको फैसला गरेको थियो। 

उनलाई सजाय भुक्तानका लागि मोरङ कारागार चलान गरिएको छ। स्कुटर चोरी सम्बन्धी छुट्टै मुद्दामा अदालतले उनीसँग १ लाख रूपैयाँ धरौटी माग गरेको थियो। धरौटीवापतको रकम समेत तामाङले तिरेका छैनन्। तामाङले आफू सेनाको भगौडा रहेको बताउने गरेका छन्। सेनामा भर्ना भइसकेपछि २०६३ सालमा तालिम छाडेर भागेको बयान उनले दिएका छन्। 

तामाङ नेपाल र भारतमा भएका शृङ्खलाबद्ध सवारीसाधन चोरीमा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनले हालसम्म २५ वटा मोटरसाइकल र स्कुटर चोरी गरिसकेको पत्ता लागेको छ। अनुसन्धानका क्रममा पनि २५ वटा सवारीसाधन चोरी गरेको उनले स्वीकार गरेका छन्। मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलका अनुसार तामाङले मोटरसाइकल, स्कुटर लगायतका सवारीसाधन नेपालबाट चोरी गरेर भारत पुर्‍याउँदै र भारतबाट चोरी गरेर नेपाल ल्याउँदै बिक्री गर्ने गरेको यकिन भएको छ। 

उनलाई गत पुस २१ गते इलामको दानाबारीबाट पक्राउ गरिएको पोखरेलले बताए। पक्राउ गरेर उनलाई मोरङको उर्लाबारी ल्याइएको थियो। इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर देवेन्द्र दास नेतृत्वको टोलीले चोरी मुद्दामा उनीमाथि अनुसन्धान गरेको थियो। 

मोरङको मिक्लाजुङ गाउँपालिका–३ धोबेनीका गोपाल तामाङको को ३८ प ११०५ नम्बरको मोटरसाइकल चोरी गरेर लैजाने क्रममा तामाङ पक्राउ परेका हुन्। उक्त मोटरसाइकल इलामको माई नगरपालिका–३ बाट प्रहरीले बरामद गरेको थियो। प्रहरीले अनुसन्धान सकेर मिसिल (अनुसन्धान प्रतिवेदन) बुझाएपछि सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पार्दै तामाङलाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको थियो। त्यही मुद्दामा उनी दोषी ठहर भएका हुन्। 

तामाङविरुद्ध धनकुटा, झापालगायतका जिल्लामा पनि चोरी मुद्दा छ। मोरङ अदालतले निर्धारण गरेको सजाय भुक्तान गरिसकेपछि उनलाई मुद्दा चलेका अन्य स्थानमा लैजाने प्रहरीको तयारी छ। विभिन्न स्थानमा परेको किटानी जाहेरीका आधारमा उनलाई प्रहरीले खोजी गरिरहेको थियो। उनले एकजना बालकलाई लिएर हिँड्ने र मानिसहरुको विश्वास जितेर सवारीसाधनको ‘रेकी’ गर्दै चोरेर लैजाने गरेको प्रहरीको भनाइ छ। ‘केही मोटरसाइकल सम्बन्धित धनीसँगै मागेर लैजाने र अन्यत्र लगेर बिक्री गर्ने गरेको खुलेको छ,’ एसपी पोखरेलले भने, ‘कुनै ठाउँमा पुगेर आउँछु भन्दै धनीलाई विश्वासमा पारेर मोटरसाइकल लगेपछि फर्किएर नआउने गरेको पाइयो।’

प्रहरीका अनुसार तामाङले पछिल्लो समय भारत दार्जिलिङका दुर्गा तामाङको मोटरसाइकल र मोरङ मिक्लाजुङका सन्देश मगरको स्कुटर चोरेर लगेको स्वीकार गरेका छन्। साथै, पछिल्लो २ महिनाभित्रमा इलामको दानाबारीबाट पार्किङ गरेको स्कुटर भारतमा लगेर बेचेको र भारतका विभिन्न स्थानबाट ५ वटा मोटरसाइकल नेपालमा ल्याएको उनले बयानमा खुलाएका छन्। 

टेलिभिजन, मोबाइललगायत चोरीमा पनि तामाङको संलग्नता देखिएको प्रहरीको भनाइ छ। उनले विभिन्न समयमा चोरी गरेका दुईवटा मोटरसाइकल र एउटा स्कुटरसमेत प्रहरीले बरामद गरेको छ। त्यस्तै, भारतबाट चोरेर नेपाल ल्याइएको अर्को स्कुटर पनि फेला पारेर प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ। ‘शृङ्खलाबद्ध सवारीसाधन चोरीमा गिरोह नै संलग्न रहेको अनुमान छ। अहिले तामाङ मात्रै पक्राउ परेका छन्,’ प्रहरी स्रोतले भन्यो, ‘अनुसन्धानबाट खुलेको तथ्य र प्राप्त सूचनाका आधारमा गिरोहका अन्य सदस्यको खोजी भइरहेको छ। दायरा फराकिलो पारेर विभिन्न कोणबाट अनुसन्धान जारी राखिएको छ।’ 

तामाङले आफू विगतमा लागूऔषध गाँजा र सुन तस्करीमा समेत संलग्न रहेर कारबाही भोगिसकेको प्रहरीलाई बताएका छन्। तर, यसको पुष्टि भइसकेको छैन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.