कोशी प्रदेश बालबालिका बचाउ अभियानमा लागेको छ : मुख्यमन्त्री कार्की
उदयपुर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार बालबालिका बचाउ अभियानमा जुटेको बताएका छन्।
त्रियुगा उद्योग वाणिज्य संघले उदयपुरको सदरमुकाम गाईघाटमा आयोजना गरेको दोस्रो प्रदेश महोत्सव २०८० को उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले भविष्यका कर्णधार बालबालिकालाई बचाउन प्रदेश सरकारले निःशुल्क स्वास्थ्य कार्यक्रम कार्यान्वयनमा ल्याइएको बताए। ‘बालबालिकाको स्वास्थ्य घर भित्रको विकास हो,' उनले भने, ‘प्रदेश सरकार बाहिरको मात्र हैन घर भित्रको विकासअन्तर्गतका शिक्षा, स्वास्थ्य र रोजगार बढावा दिने गरी काम गरिरहेको छ।'
उनले भने, ‘हामी प्रदेश भित्रका विपन्न परिवारलाई लक्षित गरी डाक्टर, इन्जिनियर, वकिल, कृषि तथा पशु सम्बन्धी सबै प्राविधिक धारमा लगानी गरी दक्ष जनशक्ति उत्पादन गर्ने योजनामा छौं। प्राविधिक धारतर्फ अध्ययन गर्न चाहाने र गर्दै गरेकाहरूलाई भुक्तानी गरेर दक्ष जनशक्ति निकाल्न चाहान्छौं,' मुख्यमन्त्री कार्कीले भने, ‘ढुक्क हुनुस् अब लाखौं रुपैयाँ निकालेर यी विषय पढ्न सक्दिन भनेर हार नमान्नुस् साथमा प्रदेश सरकार छ।'