राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमीका अवसरमा बुधबार बिहान वसन्तपुरको हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण गरेका छन्।
राष्ट्रपतिले वसन्त पञ्चमी अर्थात सरस्वती पूजाको अवसरमा सो स्थानमा पुगेर वसन्त श्रवण गर्ने परम्परा छ। सो अवसरमा राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो।
कार्यक्रममा राष्ट्रपति पौडेलले पूजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहण गरेका थिए। राष्ट्रपति पौडेलले उक्त अवसरमा विद्याकी देवी सरस्वतीको पूजा आराधना पनि गरेका थिए।
वसन्तश्रवण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखलगायतको उपस्थिति थियो। वसन्तपञ्चमीमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिन्छ भने वसन्त श्रवण गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास छ।
वसन्त पञ्चमीको दिनबाट वसन्त ऋतु सुरुवात भएको मानिन्छ। यस दिनबाट नै संसारको स्वरूपले नै नयाँ रूप लिने विश्वास रहिआएको छ।