आधारहीन समाचारप्रति एनआईसी एशिया बैंकको गम्भीर ध्यानाकर्षण
काठमाडौं : एनआईसी एशिया बैंकले केही सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। बैंकको कर्जा असुली चिन्ताजनक रहेको, बैंकलाई राष्ट्र बैंकले छानबिन गरिरहेको र सोही सन्दर्भमा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेको राजीनामा आएकोलगायतका विषयमा प्रकाशित भ्रामक समाचारप्रति बैंकले गम्भीर ध्यानाकर्षण जनाएको हो।
हालः बैंकमा नेपाल राष्ट्र बैंकको नियमित वार्षिक सुपरीवेक्षण चलिरहेको र उक्त सुपरीवेक्षण नेपाल राष्ट्र बैंकको नियमित क्यालेणडरअन्तर्गत भइरहेको एनआईसी एशियाले जनाएको छ। तर त्यसविपरीत केही सञ्चार माध्यमले कपोकल्पितरूपमा नेपाल राष्ट्र बैंकले यस बैंकको अनुसन्धान गरिरहेको र सो क्रममा बैंकमा ठूला कमजोरी तथा कैफियतहरू पत्ता लगाइएको भन्ने उल्लेख गरी भ्रामक समाचार प्रकाशित गरेको बैंकले जनाएको छ। उक्त समाचार झुठा र आधारहीन रहेको बैंकले विज्ञप्ति जारी गर्दै बताएको छ।
'यसै विषयलाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेको राजीनामासँग जोडेर उहाँको, प्रमुख कार्यकारी अधिकृतको, अध्यक्षज्युको, सञ्चालकज्युहरूको र समग्र बैंक परिवारको प्रतिष्ठा, इमान्दारिता र कर्तव्यपरायणता समेतमा कपोकल्पितरूपमा हास्यास्पद टिप्पणी हुनु अत्यन्त खेदजनक रहेकाले यस्ता हास्यास्पद समाचारबाट भ्रमित नहुन सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछौं। साथै संस्थागत सुशासन, प्रचलित कानुन तथा नियमनकारी व्यवस्थाहरूको परिपालना र आम निक्षेपकर्ता, ऋणी, शेयरधनी, कर्मचारी लगायतका सम्पूर्ण सरोकारवालाको हकहितको सम्बर्द्धनको विषयलाई यस बैंकले सदैव सर्वाधिक उच्च प्राथमिकतामा राखेको तथ्यसमेत अवगत गराउँदछौं,' विज्ञप्तिमा भनिएको छ।