संकटमा हिमाली रैथाने बाली
सुर्खेत : जुम्लाको कनकासुन्दरी गाउँपालिकाका किसान हर्कराज बुढाले रैथाने बालीको खेती गर्न छाडेको एक दशक भयो। परिश्रमअनुसार उब्जनी नहुने, हुर्कनै समय लाग्ने, रोग र किराबाट जोगाउनै मुस्किल भएपछि उनले परम्परादेखि लगाउँदै आएका अन्नबालीको खेती गर्न छाडेका हुन्।
‘पहिला त राम्रै फल्थ्यो,’ उनी सम्झन्छन्, ‘फापर, उवा, चिनो र कागुनो अचेल पहिलाको जस्तो फल्दैन, दुःखअनुसार उब्जनी नहुँदा स्थानीय जातका अन्नबाली लगाउन छोडिसक्यौं।’ उनका अनुसार केही वर्षअघिसम्म स्थानीय जातका बालीको खेती राम्रै हुन्थ्यो। तर पछिल्ला वर्षमा ती बालीको उत्पादन क्रमशः घट्दो छ। उत्पादन घट्दै गएपछि स्थानीयले कतिपय रैथाने बालीको खेती नै गर्न छाडेका छन्। हिजोआज कतिपय स्थानीय जातका रैथाने बालीको बिउ नै नपाउने अवस्था आएको उनले सुनाए। उनी भन्छन्, ‘पहिला त पाखामा छरिदिए पुथ्यो, त्यही फलेको बालीले छाक टाथ्र्यौं। तर अचेल पहिलाको जस्तो उब्जनी हुँदैन, उब्जनी नहुने बाली किन लगाउनु ?’ धेरै उत्पादन हुने आसमा हाइब्रिड जातका बालीको खेती गर्न थालेको उनले सुनाए।
जुम्लाकै तातोपानी गाउँपालिकाका किसान जयप्रसाद गौतमले पछिल्लो समय मार्सी धानको उत्पादन घट्दै गएको सुनाए। नयाँनयाँ रोग र किराको प्रकोपले मार्सी धानको उत्पादन सोचेअनुसार नहुँदा विस्तारै यसको खेती घटाउँदै गएको उनको भनाइ छ। उनका अनुसार वर्षांैदेखि स्थानीयले खेती गर्दै आएको जुम्ली मार्सीको खेतीमा पछिल्लो समय रोगले सताउन थालेको हो। गौतम भन्छन्, ‘बर्सेनि नयाँ रोगले पाक्ने बेलामा मार्सी धान खेतमै नष्ट हुन्छ, पहिलाको जस्तो उत्पादन नै हुँदैन। रोगले सताउने र उब्जनी हुन छाडेपछि मार्सीको साटो नयाँ जातका धान लगाउन थालेका छौं, अब सबैले खेती गर्न छाडेपछि रैथाने मार्सी नै लोप हुन्छ जस्तो भयो।’
कर्णालीका हिमाली जिल्ला जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोटमा रैथाने जातका बालीको खेती घट्दो छ। उत्पादनमा आएको ह्रासका कारण स्थानीयले खेती गर्न छाडेपछि कतिपय रैथाने बालीको अस्तित्व नै संकटमा परेको हो। चिसो र हिमाली हावापानीमा फल्ने चिनो, कागुनो, उवा, फापर, मार्से, जुम्ली मार्सी, कोदो, सिमी र जौलगायत बाली संकटमा पर्न थालेका छन्।
‘जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिउँ समयमै पर्दैन,’ वातावरणविद् सञ्जित कँडेल भन्छन्, ‘पहिलाको तुलनामा हिउँ कम पर्ने गरेको, हिउँ पर्न छाडेपछि विस्तारै हिमाली क्षेत्रको तापक्रम पनि वृद्धि हुँदै जाँदा त्यहाँका बालीलाई अनुकूल वातावरण भएन। ती बालीमा रोग र किराको प्रकोप पनि बढ्न थाल्यो, यसले उत्पादन घट्ने नै भयो।’
रैथाने बाली लोप हुने अवस्थामा पुग्दा स्थानीय किसानको जीविकोपार्जनमा नै समस्या उत्पन्न हुन थालेको छ। तर स्थानीय किसान भने के कारणले रैथाने बालीको उत्पादन घट्यो भन्ने विषयमा जानकार छैनन्। बरु उत्पादन बढी हुने बालीको खोजीमा किसान भौंतारिने गरेका छन्।
मुगुको खत्याड गाउँपालिकाका किसान वीरबहादुर खत्री भन्छन्, ‘हिउँ र पानी नपर्दा छरेको बाली पनि सपिँ्रदैन, पहिला अन्न फल्ने पाखाहरू अचेल बाँझै छन्। पुस्तौंदेखि लगाउँदै आएका बालीको उत्पादन राम्रो नहुँदा हामीलाई छाक टार्न कठिन हुन्छ, यहाँको हावापानीसँग सुहाउँदो नयाँ बालीहरू केही भए सरकारले दिए हुन्थ्यो।’ उनका अनुसार रैथाने बाली फल्न छाडे पनि जिल्लामा विगतमा नफल्ने कतिपय बाली र फलफूल भने अचेल फल्न थालेका छन्।
कर्णाली प्रदेश सरकारले रैथाने बालीको संरक्षणका लागि पहल भइरहेको जनाएको छ। प्रदेश सरकारका अनुसार रैथाने बालीको अस्तित्व जोगाउन सूचीकृत गरिएको छ।