सिन्धुलीमा ‘कोरिया–नेपाल मोडेल डेरी भिलेज’
काठमाडौं : दुग्धजन्य प्रयोजनका गाईबस्तुको आनुवंशिक सुधार र उन्नत डेरी अभ्यासमार्फत नेपालको डेरी क्षेत्रको सुधार सिन्धुलीको कमलामाई नगरपालिकाबाट सुरुवात भएको छ। दैनिक औसत ३० लिटर दूध दिने होल्स्टिन गाईबाट किसानले लाभ लिन थालेका छन्।
यसको पहिलो अवसर पाएकी छन् कमलामाई– ५ की गुणकुमारी घिमिरेले। गत माघ २३ गते होल्स्टिन गाईबाट बाच्छी ‘गाम्सा’ जन्मिएको थियो। फागुन १ गते आयोजित उपहार प्रदान समारोहमार्फत घिमिरेबाट सोही नगरपालिकाकी उमा सुवेदीलाई ६ महिनापछि लैजाने गरी उपहार प्रदान गरिएको छ।
सिन्धुलीमा स्थापित नेपालकै अग्रणी कोरिया–नेपाल मोडेल डेरी भिलेजमा नमुना किसान बन्ने तालिम पाएका ५१ साना घरेलु कृषकमध्ये गुणकुमारी पनि एक हुन्। दक्षिण कोरियाबाट १३ महिनाअघि (२०७९ पुस) मा नेपाललाई १ सय उच्च आनुवंशिक गुणको बाच्छी र ८ प्रजनन साँढे उपहारस्वरूप प्रदान गरिएको थियो। यसको अवसर सिन्धुलीको कमलामाई नगरपालिकाका महिला किसानले पाएका थिए। यहाँ ८० होल्स्टिन बाच्छी ५१ घरधुरीका महिलालाई उपहारस्वरूप दिइएको थियो। हाल, मोडेल डेरी भिलेजमा ६७ अन्य होल्स्टिन बाच्छी ब्याउने भएका छन्। यी गाईको दूध उत्पादन औसतमा दैनिक ३० लिटरभन्दा बढी हुने अनुमान गरिएको छ।
सिन्धुलीमा कोरिया–नेपाल मोडेल डेरी भिलेजको औपचारिक उद्घाटन सोमबार भएको छ। कोरिया–नेपाल कूटनीतिक सम्बन्धको ५०औं वर्षगाँठको उपलक्ष्यमा औपचारिक उद्घाटन गरिएको हो। नेपालका लागि कोरियाका राजदूत ताएयोङ पार्क र कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलले उद्घाटन गरेका हुन्।
यस्तै, नेपालका लागि कोरियाका राजदूत पार्कले यो वर्ष दक्षिण कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवस्थामा यी बाच्छी ल्याइनु दुई देशबीचको चिरस्थायी मित्रताको प्रतीक बनेको बताए।