पाँच जना पूर्वप्रधानमन्त्री पढेको आदर्श मावि ९५औं वर्षमा प्रवेश
विराटनगर : विराटनगरको शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान पुर्याइरहेको आदर्श माध्यमिक विद्यालय बिहीबारबाट ९५औं वर्षमा प्रवेश गरेको छ।
यो विद्यालयमा पढेका ५ जना मुलुकको प्रधानमन्त्री भइसकेका छन्। पूर्वप्रधानमन्त्रीहरू स्वः गिरिजाप्रसाद कोइराला, नगेन्द्रप्रसाद रिजाल, मनमोहन अधिकारी, सूर्यबहादुर थापा र कीर्तिनिधि विष्टले यही विद्यालयमा अध्ययन गरेका थिए। साथै, कांग्रेस नेता डा. शेखर कोइरालादेखि डा. भोला रिजाल, डा. वीरेन्द्रकुमार विष्टलगायतले यही विद्यालयमा पढेका थिए। आदर्श माविमा अध्ययन गरेका कैयौं व्यक्तिहरूले विभिन्न क्षेत्रमा विशिष्ट स्थान हासिल गरिसकेका छन्।
पिताजी कृष्णप्रसाद कोइरालाले विक्रम संवत १९८६ मा स्थापना गरेको विद्यालयले ९५ औं वार्षिकोत्सव मनाएको छ। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास पराजुलीको अध्यक्षतामा वार्षिकोत्सव मनाएको हो। वार्षिकोत्सवको अवसरमा विद्यालयले वर्ष शिक्षकका रुपमा भगिरथ पोखरेललाई सम्मान गरेको छ। पोखरेललाई उत्कृष्ट शिक्षकका रुपमा सम्मान गरिएको हो।
विद्यालयले पर्वतकुमार श्रेष्ठ, लालबहादुर गुरुङ, अजित चापागाईं, प्रवेश दुलालसहित विभिन्न संकायका संयोजकहरुलाई पनि सम्मान गरेको छ। सफाई कर्मचारी रिंकी मरिक र अम्बिका कुमारीलाई पनि विद्यालयले सम्मान प्रदान गरेको छ। उनीहरुलाई मेयर कोइराला र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पराजुलीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए। विद्यालयमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो।
वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले नेपालको शैक्षिक विकासमा आदर्श माविको योगदान महत्वपूर्ण रहेको बताए। ५ जना पूर्वप्रधानमन्त्रीलगायतका विभिन्न क्षेत्रमा विशिष्ट स्थान हासिल गरेका व्यक्तिहरुले अध्ययन गरेकाले पनि आदर्श विद्यालयको गरिमा उच्च रहेको उनको भनाइ छ।
आदर्श माविले प्राविधिक शिक्षालाई प्राथमिकता राखेको छ। अन्य सामुदायिक विद्यालयले पनि प्राविधिक शिक्षामा जोड दिनुपर्ने धारणा कोइरालाको छ। ‘प्राविधिक शिक्षा बिना अब रोजगारी पाउने अवस्था छैन,’ उनले भने, ‘विद्यालयस्तरदेखि नै स्वरोजगारमूलक र व्यवहारिक शिक्षा दिनु जरुरी छ।’
विद्यालय तहदेखि नै प्राविधिक, सीपमुलक र व्यवहारिक शिक्षामा जोड दिएमा उत्पादित जनशक्तिको श्रम बिक्ने उनले बताए। ‘हरेक वर्ष नेपाली श्रमबजारमा ५ लाखभन्दा बढी जनशक्ति आउने गरेका छन्,’ मेयर कोइरालाले भने, ‘त्यसमध्ये थोरैले मात्रै स्वदेशमा रोजगारी पाउने गरेका छन्।’ वार्षिकोत्सवका अवसरमा विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।
विद्यालयलले कक्षा १ देखि १२ सम्मका अतिरिक्त १८ र २४ महिने कम्प्युटर तालिमलगायत विभिन्न प्राविधिक तथा सीपमूलक शिक्षा प्रदान गरिरहेको जानकारी प्रअ पोखरेलले दिए। उनले २०८० सालमा सामुदायिक विद्यालयतर्फ प्राविधिक शिक्षामा नेपालभरिमै सर्वोत्कृष्ट भएर आदर्श माविले पुरस्कार प्राप्त गरेको बताए। आदर्श माविले समावेशी शिक्षालाई पनि समावेश गरेको पोखरेलको भनाइ छ। विद्यालयमा हाल ३ हजार ४ सय ७४ जना विद्यार्थी अध्ययनरत छन्।