महालक्ष्मी विकास बैंक संगठित संस्थाको 'ए' वर्गमा पर्न सफल
काठमाडौं : महालक्ष्मी विकास बैंक नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले फागुन ३ गते जारी गरेको सूचनाबमोजिम संगठित संस्थाको वर्गीकरणअनुसार 'ए' वर्गमा परेको छ।
धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम चुक्ता पुँजी कम्तीमा एक अर्ब रुपैयाँ भएको, धितोपत्र सूचीकरण गराएको कम्तीमा ३ वर्ष पूरा भएको, विगत तीन आर्थिक वर्ष लगातार नाफामा रही लाभांश वितरण गरेको, क्रेडिट रेटिङ संस्थाबाट औसत वा सो भन्दा माथिको रेटिङ प्राप्त गरेको, नियमनकारी निकायले तोकेको ढाँचामा वित्तीय विवरण पेश गरेको तथा आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न गरेको संस्थाहरू 'ए' वर्गमा पर्ने व्यवस्था रहेको र सोही बमोजिम महालक्ष्मी विकास बैंक 'ए' वर्गमा परेको हो।
'सबल बैंक, सफल सहकार्य' को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरू र करिब ७ लाख ग्राहकहरू रहेका छन्। साथै मिति २०८०/०९/२८ मा सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ।