एमालेकै पहलमा शान्तिप्रक्रिया टुंगिन्छ : अध्यक्ष ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको पहलमा शान्तिप्रक्रिया टुङ्गोमा पुग्ने चरणमा रहेको बताएका छन्। विश्व सामाजिक मञ्च २०२४को अवसरमा नेपाल बुद्धिजीवी परिषद्ले शुक्रबार काठमाडौंमा आयोजना गरेको समाजवादको विश्वव्यापी सम्भावना नामक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
उनले अहिलेको संविधानमा सामाजिक न्यायसहितको अधिकार स्थापित गरेको भन्दै यसलाई सबै मिलेर कार्यान्वयन गरिने धारणा राखे। उनले एमाले सरकारमा रहदा सामाजिक न्यायसहितको आर्थिक विकासमा जोड दिएको र त्यसका लागि आवश्यक पूर्वाधार बनाएको दावी गरे ।
महिला अधिकार, शिक्षा, स्वच्छ खानेपानी र स्वास्थ्यबिमासहित सामाजिक सुरक्षाका क्षेत्रमा एमाले सरकारले धेरै काम गरेको उनको भनाइ छ। ओलीले सुखी नेपाली समृद्ध नेपालको लक्ष्यलाई पुरा गर्नका लागि प्रतिवद्ध रहेको धारणा राखे । त्यस्तै उनले समाजवादले नै मुलुकलाई अघि बढाउन सकिने र सबै प्रकारका विभेद अन्त्य गर्ने बताए।
अध्यक्ष ओलीले सामाजिक न्यायका आधारमा परराष्ट्र नीति र सम्बन्ध पारस्पारिक लाभलाई अघि बढाउनुपर्नेमा जोड दिए।