डोल्पा : हिमाली जिल्ला डोल्पामा रहेको एक आधारभूत स्वास्थ्य सेवा कार्यालयमा १८ दिनदेखि ताला लागेको छ। त्रिपुरासुन्दरी नगरपालिका ९ मा पर्ने चुँ गाउँमा रहेको स्वास्थ्य सेवा कार्यालयमा एक महिनादेखि ताला लागेको हो।
नगरपालिकाबाट पठाएको करार कर्मचारी राख्न नसकिने भन्दै वडाध्यक्ष राजु बुढाले ताला लगाएका हुन्। आफ्नो वडामै स्वास्थ्य विषय लिएर पढेका तीनचार जना भए पनि नगरपालिकाले सिधै अर्को वडाको मान्छेलाई नियुक्ति गरेर पठाएपछि कार्यालयमा ताला लगाएको उनले स्विकार गरे।
सम्बन्धित वडाकै कर्मचारी नियुक्त नहुन्जेलसम्म ताला नखुल्ने वडाध्यक्ष बुढाले बताए। यता नगर प्रमुख जनचन्द्र रोकायले नगरपालिकाले नियुक्त गरेको कर्मचारीले नगरभित्र जहाँसुकै गएर जागिर खान पाउने अधिकार भएकाले यसरी संवेदनशील कार्यालयमा वडाध्यक्षले ताला लगाउन नमिल्ने बताए।
गाउँमा रहेको स्वास्थ्य सेवा कार्यालयमै जिम्मेवार जनप्रतिनिधिले आफ्नो मान्छे नियुक्ति भएन भनेर ताला लगाएर वडाबासीको स्वास्थ्यमा खेलवार्ड भएको उनले प्रष्ट पारे। अब ताला खुलाउनतर्फ पहल गर्ने उनको भनाइ छ।
वडा नं ७ बस्ने स्थानीय अहेव खुशीला बुढालाई नगरपालिकाले गत माघ १ गते नियुक्त गरेको थियो। नियुक्ति लिएलगत्तै वडा स्वास्थ्य सेवा कार्यालयमा हाजिर भएकी बुढाले १७ माघसम्म हाजिर गरे पनि त्यसयता हाजिर गर्न नपाएको र केन्द्रमा दुईवटा ताला लागेको बताइन्।
स्वास्थ्य सेवा कार्यालयमा एउटा कार्यालय र अर्को वडाध्यक्षको ताला लागेपछि आफू बाहिरै बस्ने गरेको उनले गुनासो गरिन्। गाउँको स्वास्थ्य सेवा कार्यालयमा लामोसमयदेखि ताला लागेपछि सर्वसाधारण नागरिकहरु स्वास्थ्य सेवाबाट वञ्चित भएका छन्।
बिरामी परेको बेला नजिकै रहेको लिकु स्वास्थ्य चौकीमा जाँदा औषधी नभएकाले आफ्नै स्वास्थ्य कार्यालयमा जानुपर्ने भनेर फर्काउने गरेको समेत चुँ गाउँका सर्वसाधारणले गुनासो गरेका छन्।