‘आइ डन्ट लाइक ब्राह्मण’

पहिलो समस्या हो नबुझेर र दोस्रो समस्या हो कसैको प्रायोजनले। किनकि मानिस कर्मले उच्च हुन्छ, जातले होइन भन्ने बुझ्न र बुझाउन थप जरुरी छ। मनुस्मृति होइन, यज्ञवल्क्यस्मृति बुझ्न जरुरी छ।

‘आइ डन्ट लाइक ब्राह्मण’

म ब्राह्मण, बोलीचालीमा बाहुन हुँ तर छोरालाई मेरो जात मन पर्दैन। ‘एसईई’ दिने बेलादेखि ‘आइ डन्ट लाइक ब्राह्मण’ भन्न थालेको हो। ‘प्लस टु’ आइपुग्दा झन् ‘आइ डन्ट लाइक क्षेत्रीज एल्सो’ पो भन्छ। जातजाति, धर्म, लिंग र वर्णको आधारमा कोही पनि ठूलो सानो हुँदैन, मेहनत र संघर्षले उसलाई ठूलो बनाउने हो भन्ने आफैं बुझ्ला भनेको त झन् उल्टो पो भो। हुँदाहुँदै अहिले त उसलाई बाहुनको चुच्चे नाक, ठूला आँखा, अग्लो र तुलनात्मक रूपमा पातलो शरीर, लुगाफाटो, बोली र व्यवहार अनि संस्कार केही पनि मन नपर्ने भो।

कुरै नसुन्ने अवस्था : सम्झाउन खोज्दा कुरै नसुन्ने। भन्छ, हजुर पूर्वाग्रही कुरा गर्नुहुन्छ। मन पर्दैन र सुन्दिनँ। म पनि रन्कँदै बोलें, ‘ब्राह्मणलाई नराम्रो भनेर गालीचाहिँ गरिरहने तर जवाफ सुन्नै नसक्ने हो भने कसको गल्ती हो ? ल मैले माने, यो देशमा ब्राह्मणको धेरै ज्यादती छ रे तर के यो मैले गरेको हो ?’ छोराले भन्यो, ‘हजुरले होइन, हजुरका पुर्खाले।’

अपराध मानिससँगै मर्छ : त्यसो हो भने सबैभन्दा पहिले के बुझ्नुपर्छ भने पुर्खाहरूले गरेको अपराधमा अहिले मलाई र मेरो सम्प्रदायलाई दोष दिन मिल्दैन। बिगतमा कसैले कुनै गल्ती गर्‍यो भने घरपरिवार र सम्प्रदाय पनि दोषी बनाउन पाइन्थ्यो। जंगबहादुरको मुलुकी ऐन १९१० ले गल्ती गर्नेका परिवारलाई पनि सजाय दिन्थ्यो। तर, हाल त्यो न्यायको सिद्धान्तविरुद्ध हो। मेरा पुर्खाले गरेको अपराध उनीहरू मरेपछि सकियो। छोरो एकछिन घोत्लियो। अन्तमा बोल्यो, ‘म केही ‘कन्भिन्स’ भएँ।’

छलफलका क्षेत्र : उसका प्रश्नका वर्षा आइरहे, मेरा जवाफका धारा बगिरहे। हामीबीच संस्कार, कानुन, राष्ट्रिय नीति र कोशी प्रदेशको ‘पहिचान आन्दोलन’को औचित्यसम्मका कुरा भए।

ब्राह्मण र जाती व्यवस्था : पहिलो प्रश्न। ब्राह्मणले आफूमाथि हुन मानिसलाई चार जात र छत्तीस बर्ण भनेर छुट्यायो। आफूलाई माथि राख्यो अनि अरूलाई अछुतसम्म बनायो। जनावरजस्तो अवस्थामा पुर्‍यायो। मेरो जवाफ, यो त्यतिबेलाको राज्य व्यवस्थाले बनाएको हो। यो समग्र दक्षिण एसिया (भारतवर्ष) कै समस्या हो। नेपालमा सबैभन्दा पहिले यो थिति बसाउने जयस्थिति मल्ल नेवार राजा हुन्। उनको ‘मानव न्यायशास्त्र’ (१४३७) भन्ने त्यतिबेलाको मुलुकी ऐनले यो गराएको हो।

जाति व्यवस्था कायम राख्ने को ? : ‘यो कायमै राखेको ब्राह्मण ले नै त हो’ छोराको प्रतिक्रिया। भर्खरैको उदाहरण दिएँ, मुगुमा स्वास्थ्यकर्मी तुलसाकुमारी विकमाथि जातीय भेदभाव गरेको आरोपमा झापु शाहीलाई पक्राउ गरी मुद्दा चलाइयो। राजधानीमै रूपा सुनारमाथि जातीय छुवाछूत तथा विभेद गरेको आरोप लागेकी सरस्वती प्रधानलाई पक्राउ गरी मुद्दा दायर गरियो। दलितभित्र पनि दलित छ र दलितले पनि आफ्नै उपसमूहलाई अन्याय गरेको छ। यो समाजको गलत प्रथा हो। नेपालमा मात्र होइन, यो भारतमा झन् डरलाग्दो छ। बंगलादेश, पाकिस्तान र श्रीलंकामा पनि। जापानमा झन् कडा थियो। अहिलेकै अमेरिकामा पनि काला–गोराबीच, नेटिभ अमेरिकन र आगन्तुकबीच, युरोपियन र एसियनबीच यसको अंश छ भन्न मिल्छ। यो पुरातनबादी सोच र गलत अभ्यास हो। कुनै जाति विशेषले गरेको होइन।

समाजमा मेजोरिटी र माइनोरिटी विवाद : छोराको अर्को कथन। ‘ब्राह्मणले आफूमाथि छु भनेर अरू जातलाई होच्याउँछ। अरू जातलाई अनेक उपमाले इन्सल्ट गर्छ।’ यो फरक खाले सामाजिक समस्या हो। जस्तो कि काठमाडौं केन्द्रका मानिसले काँठमा बस्नेलाई ‘काँठे’ भन्छन्। काठमाडौंले पहाडका मानिसलाई पर्वते, खैचा, बर्मुचा भन्छ भने पहाडले काठमाडौंकालाई ‘ज्यापु’ ‘कोदे’ आदि। पहाडमा ‘मधिसे’ र मधेसमा ‘पहाडिया’। विभिन्न समाजमा खराब उपमा त सबैभन्दा वढी बाह्मणकै छन्। बाहुन, काठो, टपरे, छुच्चो, कञ्जुस, मरन्च्याँसे, लोभी आदि कति–कति।

नेपाल कसको थियो ? : छोरा बोल्यो, यो देश पहिले अरू जातकै थियो। भारतबाट आएका बाहुनले यो ठाउँ अरू जनजातिबाट खोसे। अहिले रजगज गरेका छन्। बाहुनले अरूको भाषा, धर्म, चाडबाड, संस्कार खोस्यो र आफ्नो लाद्यो। त्यसैले भन्छन् नि ! ‘बाहुनलाई कासी, क्षेत्रीलाई फाँसी।’ तिमीले इतिहासको कुरा गर्‍यौ। धेरै अगाडि अहिलेको नेपाल तीन देशमा बाँडिएको रहेछ। ‘कोलिग्राम’ अर्थात् कपिलवस्तु भाग, जुन गौतम बुद्धको देश थियो। ‘नेपाल’ अर्थात् काठमाडौं खाल्डो जुन किरातहरूको देश। ‘कौशिकी क्षेत्र’ अर्थात् राजा जनकको राज्य।

तत्कालको नेपाल अर्थात् काठमाडौं खाल्डोबारे कुरा गर्दा यहाँ किराँतले राज्य गरेका रहेछन्। किराँत भनेका अहिलेका छ जात– राई, लिम्बु, याक्खा, सुनुवार, देवान र धिमाल हुन्। किराँत मंगोलियन हुन्। बाहुन आर्यन हुन्। आर्यहरू रसियाको भोल्गाबाट मध्ययुरोप र सिन्धुघाँटी हुँदै भारत आई बनारसमा सभ्यता बसाए। त्यहाँबाट नेपाल आए। किराँतहरू मंगोलियाबाट चीन, तिब्वत हुँदै पूर्वी नेपालबाट काठमाडौं छिरे। यो ठाउँसँगै जन्मेको त कोही पनि होइन।

प्राचीन नेपालमा किराँतभन्दा पहिले गोपालवंशी र महिषपाल थिए। नेपालको पहिलो राजा नै गोपालवंशी भूमिगुप्त मानिन्छन्। गोपालहरूले पाँच सय वर्ष बढी राज्य चलाए। गोपालवंशीलाई महिषपालले जिते। पहिलो महिसपाल राजा वीरसिंह हुन्। उनीहरूले करिब साढे दुई सय वर्ष राज्य चलाए। त्यसपछि मात्र किराँतले जिते। पहिलो किराँत राजा यलम्बर वा युलुङ हुन्। अनि किराँतलाई लिच्छवीले, लिच्छवीलाई मल्लले, मल्ललाई शाहले जितेका हुन्। अति प्राचीन कुरा गर्ने हो भने किराँतभन्दा पहिले यहाँ गोपालवंशी र महिषपालवंशी थिए। जुन दक्षिण सिम्रौनगढ र जनकपुरबाट आएका अहिलेका तराईका ‘यादव’ (अहिर) का पुर्खा हुन्।

नेपालका विजेता शासक र राज्य व्यवस्था : पछिल्लो इतिहासको कुरा गर्दा नेपाल देश बाइसी र चौबिसी राज्यमा विभाजित थियो। ठकुरी, गुरुङ, मगर, घले, राई, लिम्बु, तामाङ, भोटे आदि राजा भएका ससाना राज्यमा टुक्रिएको थियो। बाहुन पनि राजा भएका राज्य थिए। परम्परागत राजा ठकुरीहरू सुयोग्य ठहरिए। ठकुरीले सर्वप्रथमत क्षेत्रीहरूलाई परिचालन गरी आधुनिक नेपाल राज्य विस्तार गरे। ठकुरीको राज्य बिस्तारमा पछि आएर मगर, गुरुङ र अरू जातजातीले योगदान गरे। नेपालको यो स्वरुप ठकुरीले जितेर बनाएको हो।

देश एकीकरण सन्दर्भ : त्यतिबेला भारत पनि करिब पाँच सय ५० राज्यमा विभाजित थियो। त्यहाँ अंग्रेजले सबैलाई जिते। भारत अंग्रेजले र नेपाल ठकुरीले एकीकरण गरे। अंग्रेज भारतका थिएनन् र अन्तमा भारत स्वतन्त्रतापश्चात् भाग्नुपर्‍यो। नेपालमा ठकुरी शासन कायम रह्यो। संस्कृत शब्द ‘भोट’ र ‘अन्त’ बाट बनेको नाम भएको राज्य भुटान सत्रौं शताब्दीमा पश्चिम तिब्बतबाट आएका ‘मंगोल’ले लिएकाले त्यो उसैको राज्य भयो। त्यो भोटे राजाको हाल नेपालीभाषी मंगोल, बाहुन र क्षेत्रीउपर शासन छ। जसको राजपाठ हुन्छ, उसको प्रभाव पर्छ। राष्ट्रिय पोसाक ‘बख्खु’, राष्ट्रिय भाषा ‘जोंखा’। त्यो अहिले आएर भोटे राजाले भुटान अरूबाट खोसेको भन्न मिल्दैन। गोर्खाका ठकुरीले घलेलाई युद्दमा जितेर आफ्नो राज्य खडा गरे। त्यही राज्यले काठमाडौं जित्यो। घले राजाले जितेको भए नेपाल घले राज्य हुने थियो। नेवार नहारेका भए नेपाल नेवार राज्य हुने थियो। नेपालका अन्य लगभग सबै जातजातिका पुर्खा राजा भएका छन्। 

तिनीहरूले जितेको भए अहिले नेपाल तिनैको राज्य हुने थियो। युद्ध जित्न शरणागतिमा लिने वा दबाबले सन्धि गर्न बाध्य पनि पारिन्थ्यो।

इतिहास विजेताको : अंग्रेजसँग युद्ध नहारेको भए हाल नेपाल दक्षिणमा बनारससम्म, पूर्वमा सिक्किमसम्म पश्चिममा देहारादुनसम्म हुने थियो। बीसौं शताब्दीको मध्य वा संयुक्त राष्ट्रसंघको प्रादुर्भावसम्म जहाँ जसले जित्यो, उसैको राज्य हुने गथ्र्यो। जसको राज्य भयो, उनीहरूकै भाषा, संस्कार, पोसाक राष्ट्रिय बन्ने नै भयो। एसिया, युरोप, अमेरिका सबैतिर यही हो। बिजेताको इतिहास बन्छ। हरूवाको टुंगिन्छ। इतिहासमा जितेकालाई अहिले हाम्रो राज्य खोसेको भन्ने हो भने अब इतिहास नै उल्टाउन खोजेको हुन्छ। के अब सिंगो भारतलाई पाँच सय ५० राज्य बनाउन सम्भव होला ? के नेपाललाई अव फेरि बाइसे–चौबिसे राज्यमा टुक्र्याउन मिल्ला ? के काठमाडांै गोपालवंशीको थियो भन्ने ?

भाषा, संस्कार र यसको विकास : छोराको अर्को प्रश्न, बाहुनले अरूको भाषा खोस्यो। नेपालीलाई सरकारी भाषा बनायो। हिन्दु धर्म लाद्यो। जस्तो, दसैंलाई राष्ट्रिय चाड बनाइयो। म बोल्दै गएँ। पहाडको कन्दरामा एउटा मूल हुन्छ। त्यो खोलामा मिसिन्छ। खोला नदीमा, नदी सागरमा। ठीक यसै स्वरूपमा भाषा र संस्कार पनि मिसिँदै जाने हो। जस्तो राईभित्रै ३६ भाषा छन्। त्यसलाई जिल्ला वा क्षेत्रमा बोलिने अर्को बलियो राई भाषाले प्रभाव पार्छ। त्यो राई भाषालाई नेपाली भाषाले प्रभाव पार्छ। नेपाली भाषालाई हिन्दी भाषाले प्रभाव पार्छ। हिन्दीलाई अंग्रेजीले। यो क्रम ‘डेभलपमेन्ट प्रोसेस’ पनि हो। युद्ध जितेर विराट राज्य बन्ने जस्तै पश्चिमेली भाषा, पोसाक र संस्कार अहिले विश्वब्यापी बनेको छ। पहाडको कन्दरामा ‘राउटेको जस्तो जीवनचर्या’ रोज्ने कि खुला विश्वसामु फर्फराउने ?

भाषा र संस्कारमा विश्वव्यापीकरण : हाम्रो मौलिक संस्कार विवाहमा ‘ब्यान्ड वाजा’ बजाउँछौं। जन्मदिनमा केक काट्छौं। ‘ह्याप्पी बर्थ डे’ भन्छौं। भारतीय गीतमा नाच्छौं। धोती कछाडको सट्टामा पाइन्ट, भोटोको सट्टामा सर्ट अनि कोट नेपाली पोसाकको अंग बनेको छ। हाम्रा भोजभतेरमा ‘स्कच ह्विस्की’ हुन्छ, हामी फोड्छौं। भारतमा पाँच सयभन्दा बढी भाषा भए बाबजुद अंग्रेजी राष्ट्रिय भाषाभै सम्मानित छ। अंग्रेजी बोल्ने माथिल्लो दर्जाको मानिन्छ। अंग्रेजी भारतको सर्वांगिण विकासको आधारशीला बनेको छ। हामीले स्थानीय भाषाको जगेर्ना गर्दै अंग्रेजीमा पनि फड्को मार्नै पर्छ। बैंक डिटेल, हवाई टिकट, विद्यालयका भौचर, व्यापार विजनेस, अस्पतालका विल, बिजुली र फोनको रसिद सबै अंग्रेजीमा हुन्छन्। फेसबुक, टिकटक सबै यसैमा। अंग्रेजी प्रतिस्पर्धी फ्रेञ्च, चाइनिज, रसियनहरू त अर्को देशमा सम्पर्क गर्दा अंग्रेजी नै बोल्छन्, लेख्छन् भने हामी त्यसतर्फ नजाने कुरै भएन। अब बाहुनले अरूको चाडबाड खोस्यो, आफ्नो लाद्यो भन्ने सन्दर्भ। नेपालको स्थापना र एकीकरण गरेको ठकुरी शासकको धर्म, संस्कार र रीतिरिवाज राज्य व्यवस्थामा देखिनु स्वाभाविकै हो। त्यसैले नेपाल हिन्दुराष्ट्र बन्यो। भुटान सन्दर्भ र अरू जातको पीडा मननीय छ।

के दसैं बाहुनको मात्र चाड हो ? : भारतमा दशैं पर्वभर निराहार व्रत बसिन्छ। कोट र शक्ति पीठमा वली दिइँदैन। काटमार गरिन्न। मांसाहार गरिन्न। खानपिन र रमाइलो गरिँदैन। रातो अबीरले मुछेको अक्षताको ‘दशैं टीका’ लगाइँदैन। मान्यजनको घरघरमा पुगी आशीर्वाद लिने दिने कार्य पनि गरिँदैन। जुन स्वरूपमा नेपालमा दसैं मनाइन्छ, सो नेपालका विभिन्न जातजातिको प्रचलन र स्थानीय संस्कार हो। यदि बाहुन र हिन्दूको भएको भए यहाँ पनि भारतसरह नै दसंै मनाइने थियो। उदारहणका लागि दसैं टीकामा रातो अबिर राख्ने किराँत प्रचलन हो, जसमा पहिले बलीको रगत मिसाएर अक्षता बनाइन्थ्यो। काटमार र खानपिनले पनि दसैं हिन्दूको मात्र होइन भन्ने बुझिन्छ।

मादक पदार्थ सेवन सन्दर्भ : छोराको प्रश्न, खानपिनको कुरा गर्दा, बाहुनले मादक पदार्थ सेवन नगर्ने तर अरूलाई गर्ने अवस्थामा पुर्‍याउने ? यो कारण पनि अरूको प्रगतिको वाधक बनेको छ। पहिलो कुरा त, मादक पदार्थ सेवन गर्ने व्यक्तिको जात हुँदैन। जाँड खाने जड्याहा हो। प्रशस्त बाहुन जड्याहा छन् भने अन्य जातका प्रशस्तले छुँदै छुँदैनन् पनि। बरु मेरो प्रस्ताव, अब मादक पदार्थ बन्देज गर्ने संस्कार बसालौं। भारतको विहारमा जस्तो। यसबाटै ‘सूर्य अस्त और नेपाल मस्त’ भनेर भारतमा गिज्याउने क्रम हट्छ।

राज्यसत्ता र संयन्त्र : जेसुकै भए पनि नेपालमा बाहुन नै प्रधानमन्त्री, मन्त्री, सचिव, सीडीयो, न्यायाधीश, प्रहरी, सेना छन्। आफूहरू नै राज्यसत्तामा भएकाले बाहुनले अरूलाई सरकारी उच्च पदमा लाँदैन र आफूहरू मात्रै बस्ने वातावरण बनाइरहेको छ। बाबु, यो महत्वपूर्ण प्रश्न हो। विगतमा नेपालका सरकारी नोकरी ‘हुकुमप्रमांगी’ अर्थात् राजाको आदेशले दिने गरिन्थे। त्यसबेला जो राजाको नजिक भए उनैको नोकरी हुन्थ्यो। दरबार नजिकका अन्य जातिले यो अवसर पाएकै थिए। त्यसैले गर्दा सेनामा अधिकांश ठकुरी र उच्चस्तरका क्षेत्रीहरू टाउके भए। निजामतीतर्फ बाहुन। तर, २०४७ सालपछि राजाको त्यो अधिकार काटियो। अहिले सरकारी नोकरी खान लोकसेवा आयोगबाट लिइने छनौट परीक्षामा सफल हुनुपर्छ।  सचिव, सिडियो, न्यायाधीश, प्रहरी, सेनाजस्ता सरकारी नोकरीमा रहेका मानिस सबै लोकसेवाको प्रतिस्पर्धामा सफल र छानिएका व्यक्ति हुन्। लोकसेवा उत्तीर्ण हुन पढ्नुपर्छ। नपढ्ने वा अरूलाई पढेर नजित्ने मानिसले प्रतिस्पर्धात्मक नोकरी पाउँदैन। काम नगरी परिणाम मिल्दैन भने झैं शैक्षिक मेहनत नगरी सरकारी नोकरी पाइँदैन।

राज्य संयन्त्रमा अवसर र आआफ्ना संस्कार : हाम्रो पहाड गाउँको उपमा दिँदै मैले भनें, तल्लो भागमा बस्ने बाहुन परिवारमा यस वर्ष कसले ब्याचलर गरे, को शाखा अधिकृत लड्दैछ, को खरदार भए, को सुब्बा ? लोकसेवा लड्न कहाँ पढ्न पठाउने जस्ता प्रसंगले प्राथमिकता पाउँछन्। त्यहाँ पुस्तकालय हुनसक्छ। अर्कोतर्फ, त्यही पहाडको माथितिर बस्ने गुरुङ गाउँमा यस वर्ष लाहुरे को भए ? को इन्डियन आर्मीमा, को ब्रिटिस आर्मीमा ? गल्ला कहिले खुल्छ ? लाहुरे तयारी तालिम कहाँ ? फ्रान्स र जर्मनीमा पनि लाहुर खुलेकाले त्यहाँ कसरी जाने ? जस्ता कुरा चल्छन्। आआफ्ना जातीय संस्कारले गर्दा नै सरकारी नोकरी मात्र होइन, हरेक एकेडेमिक फिल्ड– शिक्षक, प्राध्यापक, नेता, लेखक, पत्रकार, अनुसन्धाता, बैंकर, कम्पनी सीईओ, गुरु, पण्डित सबैतिर बाहुन धेरै छन्। नेपाली सेनामा ठकुरी, क्षेत्रीहरू धेरै छन्। गायन तथा खेलकुद क्षेत्र र विदेशी आर्मीमा जनजाती धेरै छन्।

धनी र बाठो बाहुन : जे भए पनि अरू जनजातीभन्दा त बाहुन नै धनी र बाठा छन् नि त। मैले भनें, एक त बाहुन धनी छैनन्। नेपालको गरिब सरकारले दिने तलबले धेरै धनी हुने कुरै भएन। सरकारी स्ट्याटस चाहिँ बनाए। दोस्रो अहिले के देखिन्छ भने जो विदेशमा गई डलर र पाउण्ड कमाउँछ, उ नै धनी हुन्छ। नेपाली पैसा तलब खाने धनी हुँदैन। छोरालाई हाम्रा गाउँमा नपढेका नातेदार बाहुन धनी लाहुरे गुरुङका हली भएको उदाहरण देखाएँ। जात होइन, पढ्ने र मेहनत गर्ने धनी हुने हो।

विद्या र अर्थको सम्बन्ध : अब बाहुन बाठो हुन्छ पनि भन्न मिल्दैन किनभने बाठो हुन बुद्धि चाहियो। बुद्धि विद्याबाट आउने हो। विद्यामा जसले धेरै लगानी गर्न सक्छ, उसैको हुने अवस्था भयो। अर्थात्, धेरै फि तिर्ने मानिसले राम्रो स्कुल र विद्या पाउँछ र न बाठो हुने हो। धेरै पैसा हुनेको विद्या राम्रो हुने अवस्था भयो तर पारिवारिक परिवेशले फरक पार्न सक्छ।

नयाँ समस्या : पारिवारिक संस्कारले सरकारी नोकरीमा बाहुनको वर्चस्व छ, तर अव बाहुनले सन्ततीको अध्ययनमा धेरै लगानी गर्न नसक्लान्। त्यसमा थप, २०६३ सालदेखि समग्र सरकारी नोकरीको ५५ प्रतिशत नै आरक्षणमा गयो। यसले गर्दा अहिले कोही धेरै नम्बरका बाबजुद नपर्ने तर कोही कम नम्बरमा पनि पर्ने भयो।

शब्द पनि नदिनेले के स्वतन्त्रता देला ? : छोराको ठूलो गुनासो आयो। लिम्वुबान र खुम्बुवानको ठूलो सभ्यता र जनसंख्याको बाबजुद एक नम्बर प्रदेशलाई ‘किराँत प्रदेश’ नाम पनि नदिने ? ‘शब्द’ पनि दिन नसक्नेले स्वतन्त्रता के देला ? भारतमा त आआफ्ना प्रदेश छन् त ! लामो सास फेरेर बोलें। धेरै गम्भीर कुरा गर्‍यो छोरा। भारतको प्रचलन हेर्‍यो भने भाषाको आधारमा प्रदेश कायम छ। जस्तो जुनसुकै जात भए पनि तामिल भाषा बोलिने क्षेत्रलाई ‘तामिलनाडु’ बनाइयो भने तेलुगु भाषा बोल्ने स्थानलाई तेलंगना। यदि भारतमा जातकै आधारमा प्रदेश बनाउने हो भने भारत एक हजारभन्दा बढी टुक्रा हुन्थ्यो।

भन्न सजिलो छ, राई लिम्बुलाई किरात प्रदेश दिँदा के फरक पर्छ ? त्यसो भए गुरुङ, मगर, तामाङ, थारु, थकाली, सुनुवार, शेर्पालाई किन नदिने ? अनि कोचे, मेचे, डोल्पो, दुरा, व्यासी, चेपाङ, लेप्चा, झांगड, सतार, माझी, जिरेल, थामीले किन नपाउने ? कुसुण्डा र राउटे झन् आदिवासी, उनले किन नपाउने ? अनि मधेसका मुसहरलगायत जातलाई किन नदिने ? वास्तवमा नेपालमा पहिल्यैदेखि सबै जातिले थिचिरहेका दलित हुन्, तिनलाई किन नदिने ? अनि दलितभित्र अनेक उप समूह छन्, त्यसमध्ये कसलाई दिने ? जात र सम्प्रदायअनुसारको प्रदेश बनाउने हो भने नेपालमा करिब एक सय ५० जति राज्य बनाउनु पर्‍यो। भाषाको हिसाबले बनाउने हो भने एक सय ३० भन्दा बढी। कुनै पनि क्षेत्रमा सबैले बोल्ने एउटै सामूहिक भाषा छैन। कुनै पनि ठाउँमा एउटै जात छैन। त्यहाँ कसलाई राज्य दिने ?

यदि ‘मेजोरिटी’ लाई राज्य दिइयो भने ‘माइनोरिटी’लाई झन् पिडा थपिन्छ। लोकतन्त्र त अल्पसंख्यकको संरक्षणका लागि आएको हो, बहुसंख्यककै बाहुल्य बचाउन होइन। थोरै संख्या भएका जातलाई झन् पीडा थप्दै जाने कि मेजोरिटीलाई अवसर थप्दै जाने ? हाम्रो देश नै एउटा उदाहरण सरह छ। ८० प्रतिशत हिन्दू मेजोरिटीमा भएको नेपाललाई हिन्दू राष्ट बनाइएन। ‘सेक्युलर स्टेट’ राखियो। ठूलो संख्या त छँदैछ, थोरैलाई हो समेट्नु पर्ने। नाम नदिएको भनेर काम त रोकिँदैन नि। के नेपाल हिन्दू राष्ट्र होइन भनेर यहाँ हिन्दूका कुनै क्रियापलाप रोकिएका छन् ? त्यस्तै हो, जात र सम्प्रदायलाई राज्य दिने कुरा पनि।

प्रदेशको नाम परिवर्तन गर्ने सन्दर्भ : हिजो जन्मजात शासक हुने राजतन्त्र थियो। संविधान र कानुनका कारण बहुमतले पनि त्यसलाई फाल्न सक्दैनथ्यो। संघर्ष अनिवार्य भयो। स्वतन्त्रता प्राप्त भएपछिको अबको लडाइँ चाहिँ जनताको बहुमत प्राप्त गर्न हुनुपर्छ। अब जनताको मतले सरकार बनाऔं। सोही बहुमतले प्रदेशको नाम पनि परिवर्तन गरौं। नाम फेर्न चाहनेहरू जनताका बीचमा जाने, बहुमत ल्याउने र फेर्ने।

बुझ्नुपर्ने सार : अब सिरियस हुने पालो छोराको। यी तथ्यका बाबजुद ब्राह्मण किन दोषी मानिने र ऊमाथि निरन्तर प्रहार किन ? किन पृथ्वीनारायण शाहको अपमान ? किन देश एकिकरणलाई ज्यादती गरेको भन्ने ? छोटो जवाफ दिएँ, पहिलो समस्या हो नबुझेर र दोस्रो समस्या हो कसैको प्रायोजनले। मानिस कर्मले उच्च हुन्छ, जातले होइन भन्ने वुझ्न र बुझाउन थप जरूरी छ। मनुस्मृति होइन, यज्ञवल्क्यस्मृति बुझ्न जरुरी छ। फाल्गुनन्द, डा. स्वामी प्रपन्नाचार्य, डा. गणेशमान गुरुङ, डा. जगमान गुरुङ, भूपि शेरचन, राजेन्द्र लिङ्देन, सुवास नेम्बाङ, कृष्णबहादुर थकाली, फत्तेसिंह थारु, ठाकुर सिंह थारु आदि केही जाज्वल्य उदाहरण हुन्।

दोस्रो, कसैको प्रायोजन भनेको चाहिँ, नेपालका जातजातिको आपसी सौहाद्रता भत्काउने हो भने देश कमजोर र गरिब बन्छ। अलिक परका राष्ट्रहरू यसैमा खेलेर नेपालमा धर्म परिवर्तन गराउन चाहन्छन्। छिमेकी राष्ट्रहरू नेपाल कमजोर भए आफूमा ‘निर्भरता’ बढ्ने भन्ने सोच्छन्। उतिखेर युद्ध जितेर महान् राज्य हुने र सो प्रक्रियाबाट राज्य एकीकरण बन्ने परम्परा थियो। त्यसलाई हाल राज्य खोसेको, लुटेको, बन्दी बनाएको, अत्याचार र दमन गरेको भन्ने आरोप प्रायोजित बाहेक केही होइन। पृथ्वीनारायण शाहकै पल्टनमा अनेक जातजाति भएको कुरामा ध्यानै नदिई नेपालमा इतिहासदेखिको जातजातीको संयोजन जुन वरदान थियो र हो, लाई अभिशाप ठहराउन खोज्नेलाई रोक्न जरुरी छ।

अबुझ राजनेता : नेता यो कुरा किन बुझ्दैनन् भन्ने प्रश्नमा मेरो जवाफ। यही त समस्या हो नेपालको। हिजो महेन्द्र र बीपी मिलेको भए केही हुन्थ्यो। जानी दुस्मन भए जुन देशका लागि अभिषाप भयो। गिरीजाप्रसाद कोइराला आए। आफ्नो बहुमतको पार्टीसमेत जोगाउन सकेनन्। त्यसपछि राजा ज्ञानेन्द्रले पनि केही अवसर पाएकै हुन्। उनैको कुबुद्धिले राजसंस्था नै फालियो। रक्तपात मच्चाएर आएको माओवादीले समस्या पहिचान त गरायो, समाधान दिनै सकेन। उल्टो जातीय समस्याका सबै पोकाका मुख खोलेर देश नै अलपत्र पार्यो।

एमाले र माओवादी एकता भई केपी ओलीले ठूलो मौका पाए। झन् नराम्रोसँग चुके। पोल्टामा भएको गुमाएर सिला खोज्दै हिँडे। तर, राज्य प्रणालीमा हार खाएर बस्ने छुट हुँदैन। अब आशा छ त, कांग्रेसका गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलबाट। वामपन्थीका घनश्याम भुसाल, योगेश भट्टराई जस्ता युवाबाट। तर, संग्रहालयमा राख्नुपर्ने बुढा नेताले स्थान नै नदिने भए। रास्वपाको रवीले केही गर्लान् भनेको हो तर उनी आफैं गलत पृष्ठभूमिका रहेछन्। जे भए पनि डाँकु रत्नाकर पछि वाल्मीकि बनेकै हुन्। हेरौं, यिनको बुद्धि फिर्ला कि ?

नयाँ पुस्ताको जिम्मेवारी : अन्तमा छोरो बोल्यो, ‘हजुरले म अर्थात् युवा पुस्तालाई के भन्नुहुन्छ ? ठूलो होइन, असल मानिस बन। पर्याप्त पढ र चौतर्फी ज्ञान बटुल। सक्छौ भने राजनीतिमा जाऊ। फोहोरी खेल नभन, आफैं सहभागी भई फोहोरलाई सुधार। हरेक युवाले आफूलाई माथि लान सक्यो भने देश आफैं बन्छ।’ छोरालाई हेरेँ। उसले मलाई। जातपात र आरक्षण होइन, कर्म र मेहनतमा केन्द्रित हामी आफ्नो क्षेत्र भन्ने राग अलाप्दै कन्दरामा झ्याँगिने होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा फैलने कुरा गर्छौं। हामी एकापसमा हाँस्छौं। लाग्छ, हामी दुई पुस्ता हाँसे मेरो देश पनि हाँस्ने छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.