मालिक बनाउने कोरियाली सूत्र

समीक्षा

मालिक बनाउने कोरियाली सूत्र

सफलताका यी कथा कोरियाबाट फर्केका मात्रै नभई नेपालमै रहेका युवालाई पनि प्रेरणाका स्रोत बन्न सक्छन्। साँच्चै तपाईंलाई पनि मालिक बनाउन सक्छन्।

अपत्यारितलो लाग्न सक्छ। तर, यो सत्य हो– नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङका बुवाले श्रमका लागि खाडी मुलुकमा जीवनको लामो कालखण्ड बिताएका थिए। सन् १९५० को दशकमा युद्धको नमिठो अनुभव भोगेको दक्षिण कोरिया आर्थिक हिसाबले निकै दयनीय थियो। त्यो बेलामा कोरियासँग न श्रमशक्ति थियो, न त प्राकृतिक स्रोत साधन। सन् १९६०÷७० को दशकमा कोरियन वैदेशिक रोजगारीका लागि खाडीमुलुक जान्थे।

तीव्रत्तर विकासको फड्को मारिरहेको कोरियाका लागि अहिले वैदेशिक रोजगार अनौठो मानिन्छ। राजदूतको भनाइजस्तै कोरियाले पुष्टि गरेको छ, हामी गर्न सक्छौं भन्ने विश्वास भयो भने अगाडि बढ्न कसैले रोक्न सक्दैन। हामी नेपालीका लागि दक्षिण कोरियाली विकास शिक्षा र प्रेरणाको थलो किन पनि बन्न सक्छ भने, अहिले हामी वैदेशिक रोजगारीको उच्चतम् चरणमा छौं। रोजगारदाता देशमध्ये एक बनेको छ, दक्षिण कोरिया। 

तर, वैदेशिक रोजगार देश समृद्धिको खुड्किलो पनि बन्न सक्छ। त्यसका लागि उदाहरण बनेका छन् केही यस्ता नेपाली जो कोरियाको रोजगारबाट फर्किर स्वदेशमै पौरख गरिरहेका छन्। र, तिनैलाई विषयवस्तु बनाएर कोरियाली दूतावासले भर्खरै एक पुस्तक प्रकाशन गरेको छ, ‘तपाईं पनि मालिक बन्न सक्नुहुन्छ।’ शिवप्रसाद पोखरेलले लेखेको उक्त पुस्तकमा राजदूत पार्कले लेखेका छन्, ‘दक्षिण कोरियालाई रोजगारीको गन्तव्य बनाएका नेपाली युवाको संख्या लाखौं पुगिसकेको छ। कोरियाको अनुभव भएका धेरै नेपाली स्वदेश फर्किएर विभिन्न व्यवसायमार्फत रोजगारी सिर्जना गरिरहेको सुन्न पाउँदा खुसीको अनुभूति हुन्छ। कोरिया सरकारको उद्देश्य पनि नेपालमा उद्यम गर्ने व्यक्तिहरूको संख्या वृद्धि होस् भन्ने नै हो।’ प्राकृतिक स्रोतसाधनको धनी नेपालका नागरिकले विदेशमा भन्दा पनि स्वदेशमा उद्यम गर्दा देश समृद्धिको बाटोमा अगाडि बढ्ने विश्वास उनको छ। 

पुस्तकमा समावेश व्यवसायीको सफलताको सूत्र नै व्यवसाय गर्ने अठोट, पुँजीको सदुपयोग, अनुशासन, धैर्य, कामको सम्मान, छलफल, मिलनसार व्यवहार, समयको पालना तथा परिवारिक सहयोग छ। सन् १९७४ देखिको कोरिया–नेपाल कूटनीतिक सम्बन्ध ५०औं वर्षमा छ। अर्धशताब्दी उत्सवको पूर्वसन्ध्यामा यो प्रेरणादायी पुस्तक तयार गरिएको हो। 

सकारात्मक सोचले मात्रै सफलताको सम्भावना देख्न सकिन्छ र उत्साहले सफलताको गोरेटो तय हुन्छ भन्दै कोरियामा अनुभवी भएर फर्किएका सफल व्यवसायीको दूतावासले खोजी थाल्यो। विभिन्न व्यवसायमा आबद्ध भई नेपालको अर्थतन्त्रमा सकारात्मक भूमिका खेलिरहेका तथा रोजगारी सिर्जना गरी नेपाली समाजमा उदाहरणीय पहिचान दिइरहेका व्यवसायीमाथि दूतावासको ध्यान थियो। झन्डै ६ महिनाको प्रयासमा न्यूनतम १५ जनालाई रोजगारी दिने केही सफल व्यवसायी फेला पार्‍यो। उनीहरूकै सफलताका कथा समेटेर २६ व्यवसायीका कथाको संगालो ‘तपाईं पनि मालिक बन्न सक्नुहुन्छ’ पुस्तक दूतावासले प्रकाशन गरेको हो। जसमा रोजगारीका सिलसिलामा कोरिया गएर कमाएको ज्ञान, धन, प्रविधि र लगनलाई उपयोग गरी सफलतातर्फ अगाडि बढेका युवाका कथा छन्। ती कथाले सबैलाई प्रेरणा दिन्छन्।

पुस्तकमा कोरियाको रोजगार अनुभवले काम सानो–ठूलो हुँदैन भन्ने सिकाउँछ। मालिक बन्न सबै सहकर्मीको समान भूमिका रहन्छ भन्ने भोगाइ सफलताका कथाका पात्रको छ। आफूले सुरु गरेको व्यवसायमा मात्रै ध्यान केन्द्रित हुनुपर्छ, प्रतिफलका लागि बारम्बार प्रयास गर्नुपर्छ भन्ने सोच छ। व्यवसायमार्फत धेरै व्यक्तिलाई रोजगारीको अवसर दिने योजनादेखि भाषिक ज्ञानको फाइदासम्मका विषयवस्तु पुस्तकमा छन्। सफलताको कथा पुस्तकमा कोरियामा कमाएका अनुभव प्रयोग गरेका उत्पादनमूलक, कृषि, सेवामूलक र शिक्षा गरी चार क्षेत्रका सफल व्यवसायी समेटिएका छन्। लेखक पोखरेलले शब्दका सुन्दर माला गाँसेर कथालाई पठनीय बनाएका छन्। उत्पादनमूलक क्षेत्रमा सातजना सफल व्यवसायीका कथा छन्। जसमा कार्डबोर्ड, साबुन, गार्मेन्ट, खाद्य सामग्री, प्लास्टिक, इन्टेरियर र हाइड्रो इलेक्ट्रिक व्यवसाय कसरी सफल भए भन्ने पढ्न सकिन्छ। कृषि क्षेत्रअन्तर्गत ६ जना व्यवसायीका कथा छन्। जसमा कृषि फार्म, दुग्ध डेरी, कफी, मिटमार्ट तथा नवीन प्रविधिमा आधारित खाद्य पदार्थ व्यवसायका सफलताका कथा छन्। सेवामूलक क्षेत्रमा ८ सफल व्यवसायीका कथा छन्। जसमा अस्पताल, पर्यटन, कोरियन भाषा कक्षा, होटल, रेष्टुरेन्ट, एडभेन्चर्स सेवालगायत क्षेत्रमा सफल भएका कथा छन्। त्यस्तै, शिक्षा क्षेत्रमा पाँच सफल व्यवसायीका कथा यो पुस्तकमा पढ्न सकिन्छ।

कोरियामा गएर ज्ञान, धन, संस्कार, सभ्यता, अनुशासन, समयको व्यवस्थापन, खानपान, धैर्यलगायत धेरै कुरा आर्जन गरी नेपाल फर्केर सफल व्यवसाय सञ्चालन गरिरहेका यी वास्तविक पात्रका कथा पढिसक्दा जोकोहीमा पनि अचानक ऊर्जा थपिएर आउँछ। केही गरुँगरुँ लाग्छ। यसमा समावेश भएका कथा काल्पनिक नभएर वास्तविक हुन्। उनीहरूले नेपालबाट कोरियासम्म पुग्दा, काम गर्दा अनि स्वदेश फर्किएर गरेको व्यवसायमा पनि सफल भइसकेका तथ्य यहाँ पढ्न पाइन्छ। पढ्न मात्रै होइन, भौतिक रूपमै हेर्न पनि पाइन्छ। पुस्तकमा कथाका ‘हिरो’हरूका व्यवसाय तथा गन्तव्य पनि देखाइएको छ।

कोरियामा रोजगारीका लागि जान के–कस्ता कुरामा ध्यान दिनुपर्छ ? के–के कुरा सिकेर जाँदा आफूलाई सहज हुन्छ ? भाषाज्ञान कस्तो माध्यमबाट लिनु उपयुक्त हुन्छ ? कोरिया पुगेपछि कस्ता समस्या आउन सक्छन् ? त्यसको समाधानका लागि कस्ता उपाय अपनाउनु सबैभन्दा उत्तम हुन्छ ? भन्ने ज्ञान कथाका पात्रले बताउँछन्। कोरियामा बस्दा जान्नुपर्ने–मान्नुपर्ने नियम–कानुन पनि सिकाउँछन्। समयको व्यवस्थापनसँगै अनुशासन र आर्थिक कारोबार कसरी गर्ने भन्ने पनि यस पुस्तकका पात्रको अनुभवमा समेटिएको छ। आर्थिक व्यवस्थापनलाई मिलाएर पारिवारिक दायित्व कसरी निर्वाह गर्न सकिन्छ भन्ने पनि यसमा छ। कोरियामा यान्त्रिक प्रविधिबाट कसरी कामलाई सहज बनाइन्छ अनि त्यसलाई नेपालमा कसरी प्रयोग गरिँदैछ भन्ने कुराको ज्ञान पनि यो पुस्तकका पात्रले सुनाएका छन्।

दक्षिण कोरिया र नेपाल भौतिक दूरीका हिसाबमा टाढा छन्। तर, एक अर्काप्रति गरिने सम्मान, रहनसहन, शिष्टता आदिमा दुई देशबीच नगन्य समानता छन्। विगतमा विभिन्न चरणका उचारचढाव झेलेको कोरिया आज विश्वमा विकसित मात्रै होइन, एक सम्पन्न देश बनिसकेको छ। कोरिया धेरै नेपालीको ‘ड्रिम कन्ट्री’ पनि हो। विकासोन्मुख देशका साधारण परिवारले आर्थिक भार खेप्नुपर्ने बाध्यता संसारभर छ। नेपाल पनि त्यसबाट अछुतो रहन सकेन। त्यसबाट अलिकति भए पनि छुटकारा पाउने कसरत नेपाल सरकार कोरियन सरकारबीच भयो। फलत: २३ जुलाई २००७ मा नेपाली युवालाई रोजगारका लागि ईपीएसमार्फत दक्षिण कोरिया लैजान सरकारी स्तरबाटै सम्झौता भयो। यसरी कामदार लैजान थालेयता १५ जनवरी २०२४ सम्म नेपालबाट १ लाखबढीले दक्षिण कोरियामा रोजगारीको अवसर पाएका छन्।

दक्षिण कोरियाले नेपाली युवालाई रोजगारी मात्रै दिने उद्देश्य राखेन। उसले कोरियामा कमाएको पुँजी, अनुभव, सीप र लगनमार्फत समग्र नेपालको अर्थतन्त्रमा पनि योगदान दिन सकून् भनेर सरकारी तवरबाटै विभिन्न योजना ल्याउँदैछ। कति चलिरहेका छन् भने कतिपय कार्यान्वयनका चरणमा पनि छन्। रोजगारी सकेर फर्किएकालाई विभिन्न व्यवसायको आधारशिला तय गर्न दक्षिण कोरिया सरकारले व्यावसायिक प्रशिक्षण, पुँजी व्यवस्थापनलगायत पुन: एकीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ। कोरियामा काम गरेको अनुभव भएका नेपाली युवालाई नेपालमै विभिन्न व्यवसायमा आबद्ध गराएर रोजगारी सिर्जना गरी देश विकासमा टेवा पुगोस् भन्ने पुन: एकीकरण कार्यक्रमको उद्देश्य छ।

कोरियाको विगतजस्तै नेपालले पनि स–साना उद्योग स्थापना गरेर रोजगारी सिर्जना गर्दै अगाडि बढ्न सके नेपालको विकास र समृद्धिको ढोका खुल्छ भन्ने कोरियन सरकारको बुझाइ छ। त्यसैले नेपाल–कोरियाबीच आपसी हितका विभिन्न विकास साझेदारी कार्यक्रम सञ्चालनमा छन्। त्यसैअन्तर्गत कोरिया र नेपालबीच जनस्तरको सम्बन्ध विस्तारमा रोजगार अनुमति प्रणाली (ईपीएस)ले महत्वपूर्ण भूमिका खेलेको छ। साथै, कोरियामा कामको अनुभव सँगालेर स्वदेश फर्किएर विभिन्न व्यवसायमा आबद्ध धेरै व्यवसायीले नेपालमै रोजगारी सिर्जना गरेको सुखद अनुभव पनि कोरियन सरकारको छ। अर्धशताब्दी उत्सवको पूर्वसन्ध्यामा प्रकाशित यी सफलताका कथा कोरियाबाट फर्केका मात्रै नभइ नेपालमै रहेका युवालाई पनि प्रेरणाको स्रोत बन्न सक्छ। साँच्चै तपाईंलाई पनि मालिक बनाउन सक्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.