युद्धप्रसाद मिश्रलाई अझै चिन्नै बाँकी हो ?
नेपाली कविता साहित्यको इतिहासमा वीर तथा भक्तिधाराको युग स्थापित भएको प्राथमिक काल हो। माध्यमिक कालमा आएर शृंगारिक धाराको प्रभाव रह्यो। यसपछि सुरु भयो, नेपाली कविताको आधुनिक काल परिष्कारवादी तथा शास्त्रीयतावादी धारालाई स्थापित गराउँदै। कविता लेखनका यी धाराहरूको प्रभावलाई उछिनेर फेरि स्थापित भयो, स्वछन्दतावादी धारा, त्यसपछि प्रयोगवादी धारा र चलनचल्तीमा रहेको समसामयिक धारा।
प्रयोगवादी एवं समसामयिक लेखनधाराको कालखण्डमा थुप्रै प्रवृत्ति र शैलीहरू स्थापित भए र भइरहेका छन्। तिनीहरू कतिलाई लेखन धाराकै रूपमा पनि मानिन्छ, कति प्रवृत्ति, अभियान र आन्दोलनका रूपमा स्थापित भए, भइरहेका छन्। यही नेपाली कविता साहित्यको विकास यात्रामा प्रखर काव्य चेत भएका कवि युद्धप्रसाद मिश्र देखापर्छन्। प्रारम्भमा हिन्दु आध्यात्मिक विचार संकेत गर्ने कविता लेखे तापनि उनी त्यो समयमा स्वछन्दतावादी धाराका सशक्त कविका रूपमा स्थापित हुन्छन्। यद्यपि उनको यो क्षमता र लेखनको अझैसम्म कमै अध्ययन र चर्चापरिचर्चा भएको पाइन्छ।
१९६४ पुस २७ गते भक्तपुर जिल्लाको सोमलिङटारस्थित सिरुटारमा जन्मिएका गणतन्त्रवादी कवि मिश्र, १९६६ कात्तिक २७ गते जन्मिएका महाकवि लक्ष्मीप्रसाद देवकोटा र १९६८ जेठ ९ गते जन्मिएका युग कवि सिद्धिचरण श्रेष्ठ समकालीन थिए। उमेर र लेखन दुवैमा समकालीन यी तीन महान् नेपाली काव्य साधकहरूले नेपाली कविता साहित्यमा स्वछन्दतावादी धाराको थालनी गरे, उचाइ दिए र स्थापित गरे। १९७६ सालमा देवकोटाले ‘घनघोर दुःख सागर’ कविता लेखेर आफ्नो कविता यात्रा आरम्भ गरेका थिए–
घनघोर दुःख सागर संसार छ जान भाइ
नगरे घमण्ड कहिले मर्नू छ हामीलाई।
मिश्रले १९७७ सालतिर ‘भाङसेवीका लागि’ कविता लेखेर काव्य यात्रा सुरु गरेको देखिन्छ–
भोज खाई फ्याँकिएका टपरीका वरिपरि
अनेक रंगका कुत्ता झटपट जम्मा भएसरि।
तीनैजना कविका प्रथम कवितामा काव्य चेतना प्रष्ट रूपमा प्रकट भएको देखिन्छ। राणा शासनको उत्तरार्धमा स्वच्छन्दतावादी कविता लेखनमा चम्किएका यी कविमध्ये देवकोटा अद्वितीय प्रतिभाका खानी थिए र त्यहीअनुसारको साहित्य सिर्जनाले नेपाली साहित्यलाई हराभरा पारे। श्रेष्ठले अपवादबाहेक सहजतापूर्वक आफ्नो प्रतिभाको भरपूर प्रयोग गरेर नेपाली साहित्यलाई योगदान गरे। युद्धप्रसाद मिश्रले भने विशिष्ट प्रतिभा हुँदाहुँदै पनि आजीवन राज्यको विभेदकारी व्यवहारको सिकार बन्नुपर्यो। सामाजिक व्यवहारहरूमा उत्पन्न कठिनाइ, सामाजिक उत्तरदायित्वको चेत, राजनीतिक चेतना, पारिवारिक आर्थिक संकट, निर्वासनको जीवन र उनी स्वयंको अत्यन्त विद्रोही, स्वाभिमानी स्वभावका कारण सिर्जनाको नियमितता र प्रतिभाको भरपुर प्रयोगमा व्यावधान आएको पाइन्छ। युद्धप्रसाद मिश्र र सिद्धिचरण श्रेष्ठले त एउटै शीर्षक राखेर कविता लेख्ने गरेका र एउटै पत्रिकामा एकै अंकमा छपाउने गरेका पनि थिए। यस्तो अवस्थामा कला, शिल्प, कल्पनाशक्ति, भाषाको पकड, सामाजिक उत्तरदायित्वको भाव आदि कुरामा मिश्र उत्कृष्ट देखिने कुरा वरिष्ठ समालोचक तारानाथ शर्मा यसरी उल्लेख गर्छन्। मिश्रका कविता जति इमान्दार, सरस, लयमय, कवितात्मक र गुढ श्रेष्ठका कविताहरू छैनन् (युद्धप्रसाद मिश्र र सिद्धिचरण श्रेष्ठ ः तुलनात्मक विवेचना, रूपरेखा १०८, वैशाख, २०२७)।
देवकोटा, मिश्र र श्रेष्ठ तीनैजनाले ‘पागल’ कविता लेखे। देवकोटा र मिश्रका पागल कवितामा जुन काव्य शक्ति छ त्यो श्रेष्ठको कवितामा कम पाइन्छ। समालोचक तारानाथ शर्माले एकै शीर्षकका हुन्। फरक हुन् सबैमा मिश्रका कविताको उचाइमा श्रेष्ठका कविता नपुग्ने कुरा सोही लेखमा उल्लेख गरेका छन्। यहाँ उठाउन प्रयास गरिएको प्रश्न कसले राम्रो लेख्यो या लेखेन भन्ने हैन, युद्धप्रसाद मिश्र जस्तो सशक्त कवि आफ्नो जीवनभर र जीवनपश्चात् पनि किन सही मूल्यांकनको सही कसीमा पर्न सकेनन् भन्ने हो। युद्धप्रसाद मिश्रले अभ्यासकालीन लेखनमा हिन्दु आध्यात्मिक विचार प्रेरित कविता लेखे पनि त्यहाँ सामाजिक उत्तरदायित्वको चेत भेटिन्छ। १९९० सालपछि जब उनले सशक्त रूपमा स्वच्छन्दतावादी धाराका कविता रचना गर्न थाले तब उनको कवित्वले गर्विलो उचाइ समातेको पाइन्छ।
म हाँसे भने चन्द्रमाले समालून्
म रोएँ भने मेघ आई फुल्याउन् (पागल)।
लह लह पल्लव हरित लताको
छायाँ स्वर्गिक शीतल रूखको
कुञ्ज छ मन्दिर चिडियाहरूको
(चरखण्डीको खोंच)।
२००७ सालको परिवर्तनका लागि आफूलाई क्रियाशील बनाएका मिश्रले त्यो परिवर्तनलाई पूर्ण मान्न सकेनन्। राणा शासनदेखि जागिर जाने, जेल जाने जस्ता सजाय पाउने घटना भइरहेका थिए। अझै पनि जागिर पुनर्बहाली हुने, फेरि निलम्बित हुने आदि कारणले आर्थिक समस्या र तनावकै बीचमा समय गुज्रिरहेको बेला २०१७ सालको घटना भयो। त्यो घटनालाई उनले अनुचित कदम माने। अन्याय, अत्याचार, विभेद र असमानताका विरुद्ध एवं जनचेतनाका लागि नेपालमा बसेर काम गर्न कठिन छ भन्ने निष्कर्ष निकालेर उनी सपरिवार स्वनिर्वासनका लागि भारततिर लागे।
भारत प्रवासमा बसेर मिश्र माक्र्सवादी राजनीतिक चिन्तन ग्रहण गर्दै प्रगतिशील साहित्यिक सिर्जनामा लागे। निरंकुशता विरोधी लेखन नै उनको लेखनको मुख्य धार बन्न थाल्यो। उनको काव्य साधना अझ प्रखर र जनपक्षीय प्रगतिवादी दृष्टिकोण सुसज्जित हुँदै जनप्रिय बन्न थाल्यो। कवि मिश्रको काव्य साधनामा प्रगतिवादी चेतका द्योतकका रूपमा सामाजिक यथार्थको प्रकटीकरण, इतिहास चेतनाको बोध, वर्गीय चेतना र क्रान्ति चेतनाको शंखघोष, शान्ति र मुक्तिको खोजी, जनपक्षीय वैचारिक प्रतिबद्धता, पुँजीवाद विरोधी चेतना रहेका पाइन्छन्।
हामी जुट्यौं अब भने पृथिवी उचाल्छौं
दारिद्रय दुःख, भय, संकटलाई फाल्छौं (अनिवार्य क्रान्ति)।
यसैगरी, उनका कवितामा व्यक्तिवाद विरोधी भावना, नारी जागरण, जातीय उत्पीडन, अन्धविश्वासविरुद्ध जागरण, बौद्धिक दासत्वविरुद्ध व्यंग्य, राष्ट्रप्रेम, सिंगो मानवीय मूल्य र मान्यताप्रति जागरुकता र बालबालिकाप्रति सकारात्मक भावना ज्योतिमय भेटिन्छन्।
मानवीय आँखामा खुलेका
भावनामा ज्यान हुन्छन्
साधनामा घोटिएका
खुन स्वाभिमान हुन्छन्
२०४० सालमा स्वदेश फर्किएपछि उनको विचारमा झन् झन् प्रखरता र लेखनमा प्रगतिवादी धारा सशक्त बन्यो। भौतिक र साहित्यिक सिर्जनामार्फत परिवर्तनको आह्वान गर्दै २०४६ सालको आन्दोलनमा निरंकुशता विरोधी लेखक कलाकारको रानो बनेका मिश्रको निधन २०४७ फागुन ६ गते काठमाडौंमा भयो।
अनेकौं अप्ठ्यारा र विभेदका बाबजुद जीवनभर नेपाली काव्य जगत्को सेवा गरेका मिश्रले राज्यबाट कुनै सुविधा लिन चाहेनन् र पाएनन् पनि। त्यतिमात्र होइन, उनको साहित्यिक योगदानको मूल्यांकनको पाटो अझै अधुरै रहेको देखिन्छ। यतातिर वर्तमान समयका समालोचक, विश्लेषक र उहाँका अनुयायीहरूको ध्यान पुग्न आवश्यक देखिन्छ।
कवि युद्धप्रसाद मिश्रलाई अझै चिन्नै बाँकी हो त ?