मेलम्ची खानेपानीमा भ्रष्टाचार गरेको अभियोगमा अध्यागमन विभागका महानिर्देशक तामाङविरुद्ध मुद्दा दर्ता
काठमाडौं : मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोगग अनुसन्धान आयोगले अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध मुद्दा दर्ता गरेको छ। आइतबार अख्तियारले मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य तामाङलाई विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
अख्तियारले तामाङमाथि ११ करोड ९ लाख १७ हजार ४५८ रुपैयाँ विगो जरिवाना माग गरेको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सोही दफाले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३(१) र ३(१) (झ) बमोजिम कैद र जरिवाना गरी दफा १७ बमोजिम बिगो असूल हुन समेतको मागदाबी लिइएको छ।
अख्तियारले मेलम्ची खानेपानी विकास समितिको बोर्डका तत्कालीन अध्यक्ष एवं खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा. संजय शर्मा, भिम प्रसाद उपाध्याय, गजेन्द्र कुमार ठाकुर, समितिका कार्यकारी निर्देशकसमेत १५ जना र परामर्शदाताहरु तथा निर्माण कम्पनीउपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर गरेको हो।