आर्थिक अभावले माओवादीका पूर्वलडाकुको उपचारमा समस्या
विराटनगर : पार्टीले संघीय सरकारको नेतृत्व गरिरहेका बेला माओवादीका पूर्वलडाकुले भने आर्थिक अभावका कारण उपचारमा समस्या भोग्नु परिरहेको पाइएको छ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले प्रधानमन्त्री मुलुकको प्रधानमन्त्री छन्। तर, उनलाई त्यो तहसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेकाहरू भने उपचार खर्चको अभावले छटपटाइरहेका छन्। माओवादी सशस्त्र युद्धमा होमिएर जेलनेल, आक्रमण तथा यातना भोग्दै मुलुकको व्यवस्था परिवर्तनका लागि लडेका पूर्वलडाकुले सहज उपचार पाउने वातावरण नबनेको हो।
संखुवासभाको पाँचखपन नगरपालिका–२ श्याबुन घर भएका माओवादीका पूर्वलडाकु ४५ वर्षीय टेकनाथ जनप्रेमी दाहाल अहिले रोगसँगै अभाव र संकटसँग जुधिरहेका छन्। आर्थिक अभावकै कारण समस्याग्रस्त र तनावपूर्ण अवस्था उत्पन्न हुँदा उनले प्रभावकारी उपचार पाउन सकेका छैनन्। भूमिगत भएर माओवादी सशस्त्र युद्धमा होमिएका उनी अहिले स्वास्थ्य अवस्था बिग्रिएपछि उपचार खर्चको अभाव झेलिरहेका छन्।
दमका बिरामी रहेका टेकनाथ जनप्रेमीलाई उपचारका लागि माघ २६ गते विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। ६ दिनसम्म आईसीयूमा राखियो। अवस्था सामान्य बन्दै गएपछि फोक्सो वार्डमा सारियो। अहिले फोक्सो वार्डको बेड नम्बर ३० मा उपचाररत छन्। तर, स्वास्थ्य अवस्था दिन प्रतिदिन नाजुक बन्दै गइरहेको छ। ‘म बाँच्छु कि बाँच्दिनभन्दा पनि तत्काललाई उपचार गराउने पैसा भएन,’ टेकनाथले भने, ‘अस्पतालमा कति दिन बस्नुपर्ने हो टुंगो छैन।’
परिवारको आम्दानीको स्रोत नहुँदा अभाव र संकटसँगै रोगले पनि शिथिल बनाएर लगेको गुनासो उनी गर्छन्। परिवारले आफन्तसँग ऋण गरेर उनलाई उपचारका लागि विराटनगर ल्याएका थिए। ऋण गरेर ल्याएको पैसा पनि सकिएपछि समस्या भएको उनले सुनाए।
उपचारका लागि लिएको ऋण कसरी तिर्ने होलाभन्ने चिन्ता भइरहेका बेला थप उपचारका लागि रकम अभाव भएको हो। ‘उपचार खर्च कति लाग्ने हो भन्ने टुंगो छैन। ५ लाख रूपैयाँजतिको बिल भइसक्यो,’ टेकनाथ भन्छन्, ‘ऋण सापटी नै भएपनि अहिलेसम्म त आफन्तहरूले सहयोग गरिरहेका थिए। अब आफन्तले पनि दिनसक्ने अवस्था छैन।’
उनका अनुसार उपचार र औषधि उधारोमा चलिरहेको छ। ल्याबमा परीक्षण गरेको ७० हजार रूपैयाँ मात्रै तिरेको टेकनाथ बताउँछन्। उनकी पत्नी पार्वता थापा ‘कल्पना’ पनि माओवादीकी पूर्वलडाकु हुन्। पत्नी पार्वतासँगै जेठान बलबहादुर थापामा टेकनाथको उपचारमा संलग्न छन्। ‘म बिरामी छु। काम गर्न सक्दिन। श्रीमतीले सामान्य खेती किसानी र वस्तुभाउ गरेर परिवारको संकट टार्थिन्,’ उनले भने, ‘पारिवारिक अवस्था निक्कै तनावपूर्ण छ। त्यहाँमाथि रोगले कमजोर बनाउँदै लग्यो। म थलिएपछि झन बिजोग भएको छ।’
ज्वाईं टेकनाथको उपचारमा खर्चको अभाव भएको र ऋण गरेर ल्याएको पैसा सकिसकेको बलबहादुरले सुनाए। ‘थप उपचार उधारोमा हुँदैछ। अस्पतालले पैसा जम्मा गर्नु भनिरहेको छ,’ उनले भने, ‘तर, रकम बुझाउन सकिएको छैन। ५ लाखभन्दा बढीको बिल उठिसकेकाले कसरी तिर्ने होलाभन्ने तनाव छ।’ ज्वाईंको उपचारमा पार्टी र सरकारले बेवास्ता गरेको गुनासो बलबहादुरको छ।
उनका अनुसार बहिनी–ज्वाईंलाई घरव्यवहार र जीविका चलाउनै मुस्किल भइरहेका बेला उपचारमा थप संकट आइपरेको हो। ‘माओवादीमै लागेका कारण ज्वाईंको स्वास्थ्यमा समस्या भएको हो,’ उनी भन्छन्, ‘तर, पार्टीले वास्तै गर्दैन।’
टेकनाथकी पत्नी पार्वता पनि सहयोद्ध पतिको सहज उपचार गराउन नसकेर छटपटाइरहेकी छन्। पार्टी र सरकारले सहयोग नगरेको तथा व्यक्तिगत हिसाबबाट मात्रै सहयोगको आश्वासन आएको उनले बताइन्। उनले आफू र पति नै माओवादीको जनमुक्ति सेनामा आवद्ध भएर युद्ध लडेको बताइन्।
‘हाम्रो आर्थिक अवस्थाले उपचार खर्च धान्न सक्दैन। भएको रकम सबै सकियो। आफन्तसँग ऋण गरेर ल्याएको पनि बाँकी छैन,’ पार्वता भन्छिन्, ‘आर्थिक संकटले थप उपचारमा समस्या भयो। अझै कति खर्च थपिँदै जाने हो भन्ने थाहा छैन। आईसीयू हुँदै नर्मल बेडमा उपचाररत श्रीमानलाई अस्पतालले डिस्चार्ज दिएपछि कसरी बाहिर निकाल्ने भन्ने चिन्ताले पिरोलेको छ।’
आफूहरूजस्ताको साथ पाएर युद्धमा लडेको पार्टीले सरकारको नेतृत्व गर्दा पनि विगतमा दिएको योगदानलाई बिर्सिनु एकदमै पीडादायी रहेको उनको गुनासो छ। पार्वताका अनुसार घरमा वृद्ध सासू ससुरा छन्। ‘त्यहाँमाथि सासू बिरामी हुनुहुन्छ। ससुरा पनि केही गर्न सक्नु हुन्न,’ उनले भनिन्। खर्च धान्न नसक्दा छोरीहरूलाई माइतीले र छोरालाई फुपूले राखेर पढाइरहेको पार्वता बताउँछिन्। पार्टीले राज्यसँग लड्दा हतियार बोकेर युद्धमा होमिए पनि अहिले आफूहरू समस्यामा पर्दा बेवास्ता गरिरहेको गुनासो उनको छ। युद्धमा दिएको योगदानलाई अवमूल्यन गरिएको र कैयौं पूर्वलडाकु तथा कार्यकर्तालाई बेवास्ता गरिएको पार्वता बताउँछिन्।
कोशी प्रदेशका सामाजिक विकासमन्त्री एवं माओवादी नेता राजेन्द्र कार्की टेकनाथलाई भेट्न नोबेल अस्पतालमा पुगेका थिए। उनले टेकनाथको उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। ‘उहाँ (टेकनाथ)को परिवारले पार्टीका लागि धेरै गर्नु भएको हो। मुलुकको व्यवस्था परिवर्तनमा उहाँजस्तै योद्धाहरूको महत्वपूर्ण योगदान छ,’ संखुवसभाबाट प्रदेशसभा सदस्य निर्वाचित मन्त्री कार्कीले भने, ‘उहाँको उपचारमा सहयोग गर्न सक्दो प्रयास भइरहेको छ। मैले पनि व्यक्तिगत हिसाबले पहल गरिरहेको छु।’
उपचाररत टेकनाथले पनि मन्त्री कार्की र माओवादीका केही कार्यकर्ताबाहेक आफूलाई भेट्न अस्पतालमा अरु कोही नआएको गुनासो पोखे। कार्कीले भने स्वयं अस्पताल आएर सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले बताए। पार्टीले आफूजस्ता धेरैले दिएको योगदानलाई बिर्सिएको गुनासो टेकनाथको छ।
‘पार्टीले मलाई मात्रै हैन, मजस्ता धेरै जनालाई हेरेन। युद्धमा लड्दा कैयौं घाइते भए, अंगभंग भए। कतिपयको शरीरबाट बमका छर्रा र गोली निकालिएको छैन। अहिले पनि उनीहरूको दैनिकी निक्कै पीडादायी छ,’ उनले भने, ‘यो समस्या देशैभरिकै हो। गुनासो जति गरेर पनि सुनुवाई हुँदैन।’
आफूहरूकै योगदानका कारण मुलुकमा लोकतन्त्र र गणतन्त्र आएको बताउँदै टेकनाथले भने, ‘हाम्रा कमाण्डर मुलुकको प्रधानमन्त्री भएर सरकारको नेतृत्व गरिरहेका छन्। तर, हामीजस्ताले यही उपहार पायौं। भोगिरहेको पीडालाई शब्दमा बयान गरिसाध्य छैन। युद्धमा मर्नबाट जोगिएकाले अहिलेसम्म जीवितै छु। नाफाको जीवन कति समयसम्म रहन्छ थाहा छैन। जति चिच्याए पनि सुनुवाई हुँदैन।’
पूर्वलडाकु तथा युद्धका घाइतेहरू उपचार अभावमा छटपटाइरहँदा सरकार र पार्टीले नसुन्नु आश्चर्यजनक भएको उनको गुनासो छ। ‘मेरो उपचारमा आआफ्नो ठाउँबाट सहयोग गरिदिनु हुन सबैमा अनुरोध गर्छु,’ टेकनाथले भने, ‘सिकिस्त अवस्थामा म अस्पताल भर्ना हुँदा अवस्था राम्रो नभएपनि कहिले केही सुधार हुँदैछजस्तो लाग्छ।’ तर, कहीँ कतैबाट सहयोग नपाउँदा थप समस्या भएको गुनासो उनको छ।
संखुवासभाको खाँदबारी नगरपालिकाका पूर्वमेयर एवं एमाले नेता मुरारी खतिवडाले दाहालको उपचारमा समस्या भइरहेको बताए। उपचारमा सहयोग गर्न उनले सबैलाई आग्रह गरेका छन्। पूर्वमेयर खतिवडाले दाहालको उपचारमा सहयोग गर्न सबैमा आह्वान गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत बैंक खाता नम्बर सार्वजनिक गरेका छन्। ‘उहाँ (दाहाल)ले माओवादीलाई लामो समयदेखि योगदान दिनु भयो। पछि पार्टी एउटै हुँदा नेकपामा आवद्ध भएर भूमिका खेल्नु भयो,’ उनले भने, ‘अहिले उपचार खर्च अभाव भएको छ। सहयोग गरिदिनु हुन सबैमा अनुरोध गर्छु।’
खतिवडाले गरिब र विपन्नको उपचारलाई राज्यले जतिसक्दो चाँडो सहज बनाउनुपर्ने पनि बताए। भने, ‘अझ उहाँ (टेकनाथ)ले त अहिले सरकारको नेतृत्व गरिरहेको पार्टीलाई सशस्त्र युद्धाकालदेखि नै सहयोग गरेर आउनु भएको हो। पार्टीका लागि हतियार बोकेरै युद्धमा जानुभयो। यस्ता व्यक्तिहरूलाई सरकारले बेवास्ता गर्नु ठीक हैन।’
यस्तो छ टेकनाथ र पार्वताको भूमिगत जीवनकाल
टेकनाथ माओवादी सशस्त्र संघर्षलाई साथ दिँदै २०५७ साल पुस १६ गतेदेखि भूमिगत भएका थिए। एरिया सदस्य, जिल्ला सदस्य हुँदै तत्कालीन मेची–कोशी ब्युरो सचिवसम्म भए। अहिले पनि आफू माओवादीमै आवद्ध रहेको उनी बताउँछन्। तर, पार्टी र सरकारले पूरै बेवास्ता गरिरहेको गुनासो उनको छ।
युद्धरत माओवादीले त्यतिबेला संखुवासभा, भोजपुर, धनकुटा र तेह्रथुम गरी ४ जिल्लालाई समेटेर एउटा जिल्ला बनाएको थियो। दोलखाबाट २०७९ को चुनावमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका गंगा कार्की ‘विश्व’ त्यसको जिल्ला सेक्रेटरी थिए। हालका संघीय सांसद गंगाले त्यतिबेला जिल्ला सेक्रेटरीको भूमिका निर्वाह गरिरहँदा टेकनाथ भने धनकुटा एरियाको सदस्यको जिम्मेवारीसहित भूमिगत भएका हुन्। माओवादीले बनाएको जिल्लाभित्र पनि संखुवासभा, भोजपुर, धनकुटा र तेह्रथुम गरेर ४ वटा एरिया छुट्याइएको थियो।
टेकनाथले आफू २०५८ सालदेखि माओवादी लडाकुको भूमिकामा रहेको बताए। लडाकुको भूमिकामा रहेर २०५८ साउन ९ गते तेह्रथुमको पोक्लाबुङमा युद्ध लडेको स्मरण उनले गरे। लडाकुको भूमिकामा रहेर पोक्लाबुङसहित पाँचथरको गोपेटार, सिरहाको लाहान, मोरङको बेलबारी र सिन्धुलीको भीमानलगायतमा सेनासँग युद्ध लडेको टेकनाथले सुनाए। ‘कुनै युद्धमा जनमुक्ति सेनाको विजय भयो। कुनैमा हामीले हार्र्यौं,’ उनी भन्छन्, ‘पूर्वतयारी राम्रोसँग गरेर जाँदा जितियो। तयारी नपुगेका ठाउँमा हारियो।’
सुरुवाती भूमिगत नाम ‘ज्वाला’ भएपनि पछि परिवर्तन गरेर पार्टीले ‘अतास’ राखिदिएको उनले सुनाए। उनका अनुसार अरुण र तमोर नदी तथा सभा खोलाले छुट्याएको भू–भाग एवं क्षेत्रलाई समेटेर माओवादीले २०५७ फागुनदेखि अभियान चलाएको थियो। अरुण, तमोर र सभाभित्रको भू–भाग केन्द्रित अभियानलाई ‘अतास’ नाम दिइयो। भूमिगतकालमा माओवादीले राजनीतिक, फौजी र सांगठनिक अभियान चलाएको थियो। ‘अतास’ त्यही अभियानभित्रको एउटा कार्यक्रम हो।
अभियान सफल भएपछि त्यसमा सबैभन्दा सफल र उत्कृष्ट काम गरेको भन्दै भूमिगत नाम परिवर्तन गरेर पार्टीले ‘अतास’ राखिदिएको टेकनाथ बताउँछन्। उनले आफू माओवादी सेनामा हुँदा सहकमिसारको भूमिकामा रहेको बताए। ‘अरुण, तमोर र सभाले भेटेजतिको क्षेत्रलाई समेटेर अभियान चलाइएको थियो। त्यो सफल भएपछि मेरो भूमिगत नाम ‘अतास’ राखियो,’ टेकनाथ भन्छन्, ‘पार्टीमा अर्को ‘ज्वाला’ नाम गरेको साथी हुनुहुन्थ्यो। दुई जनाको जुध्ने भएकाले पनि एक जनाको नाम परिवर्तन गर्न आवश्यक देखियो।’
२०६० भदौ १९ गते आफूलाई पक्राउ परेर २०६३ माघ १६ गतेसम्म मोरङ कारागारमा राखिएको उनले बताए। ‘पक्राउ परेको लामो समयपछि कारागार मुक्त भएँ,’ उनले भने, ‘त्यो बेला भागेको यातनाको बयान गरिसाध्य छैन।’ तत्कालीन जनमुक्ति सेनाले बेलबारीमा चलाएको फौजी कारबाहीपछि आफू पक्राउ परेको उनले सुनाए। भने, ‘५ महिनासम्म सेनाले आँखामा पट्टी बाँधेर राख्यो। चरम यातना दियो। त्यही यातनाका कारण मेरो स्वास्थ्यमा समस्या भएको हो। अहिले आएर यो नियती भोग्दै छु।’
उनीभन्दा अघि पत्नी (श्रीमती) पार्वता माओवादीमा लागेर भूमिगत भएकी थिइन्। माओवादीको तत्कालीन जनमुक्ति सेनामा आवद्ध पार्वता २०५७ जेठदेखि भूमिगत भएकी हुन्। टेकनाथका अनुसार पार्वतालाई प्रहरीले २०५७ चैत २७ गते संखुवासभाको चिचिलास्थित कुवापानीबाट पक्राउ गरी मातृका यादव, नारायण दाहाललगायतको टोलीसँगै हनुमानढोकामा लगेर राखेको थियो।
पक्राउ परेको १ महिना १९ दिनपछि उनी रिहा भएको टेकनाथ बताउँछन्। ‘हामी दुवै जना (पति–पत्नी’ नै जनमुक्ति सेनामा आवद्ध थियौं। श्रीमतीको भूमिगत नाम कल्पना हो,’ टेकनाथले भने, ‘संखुवासभामा पहिलोपटक पक्राउ पर्ने माओवादी उनै हुन्। पार्वता माओवादीको प्लाटुन कमाण्डर थिइन्।’ उनका अनुसार पार्टीको एउटा संगठनात्मक अवस्थासम्म पुग्न जनमुक्ति सेनामा भर्ना हुनुपर्ने र हतियार बोक्नुपर्ने हुन्थ्यो। ‘अहिले पनि पार्टीमा आवद्ध छु। संगठक भएर पार्टीकै काममा सक्रिय छु। माओवादी शान्ति प्रक्रियामा आएपछि जनमुक्ति सेना र संगठकको विभाजन भयो। म चाहिँ संगठक बनेर पार्टीको काममा लागें,’ टेकनाथ भन्छन्, ‘जनमुक्ति सेनाहरू क्यान्टोनमेन्टमा जाने भए। त्यहाँ नजानेलाई सेना भनिएन। सुरुमा जनमुक्ति सेना भएर युद्ध लडेपनि पछि पार्टीको संगठकका रूपमा सक्रिय भएँ।’
भूमिगत अवस्थामै जन्मिइन् छोरी
टेकनाथ र पार्वताका ३ सन्तान छन्। टेकनाथका अनुसार दुवै जना भूमिगत भएकै बखत २०५९ साल वैशाख २४ गते जेठी छोरी उषाकिरण जन्मिन्। ‘युद्धकालमै छोरी जन्मिएसँगै हामीले धेरै हण्डर खायौं। नाबालक छोरीको बोकाइ र सुताइ सहज हुन भएन। हेरचाह र स्वाहार सुसार राम्रोसँग गर्न पाइएन। बाबु–आमा युद्ध लड्न जानु पर्ने थियो। कतिपय युद्धमा छोरी बोकेरै गइयो,’ उनी भन्छन्, ‘राज्यको आक्रमणबाट छल्दै र जोगाउँदै हुर्काइयो। लडाइँकै क्रममा जन्मिएकी छोरीको अहिले देब्रे पाटो चल्दैन। शारीरिक रूपमा अपांगता छिन्। उपचारका लागि विभिन्न ठाउँमा पुर्याउँदा पनि समस्या ठीक भएन।’ तर, धेरै उपचार गराइसकेपछि थोरै मात्रामा शरीरका भागहरू चल्न थालेको दाहालले बताए।
उपचारका लागि भारतको मुम्बईस्थित अंकुर अस्पतालसम्म पुर्याएको र त्यहाँ उपचार गराएपछि अलि सुधार भएको उनले बताए। उपचारमा संलग्न चिकित्सकले पूर्ण सुधार हुन नसक्ने बताएको उनको भनाइ छ। टेकनाथका अनुसार अहिले २२ वर्ष पुगेकी जेठी छोरी उषाकिरण कक्षा १२ मा पढ्दैछिन्। उनी मावली घरमा बस्छिन्।
दाहाल दम्पतीका दोस्रो सन्तान छोरा छन्। २० वर्षीय छोरा मुस्कान दाहाल वैदेशिक रोजगारीमा जानका लागि कोरियन भाषा पढ्दैछन्। आफ्नो पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले सुनसरीस्थित इटहरीमा कान्छी फुपू बेदकुमारी थापाले राखेर मुस्कानलाई पढाइरहेकी छिन्।
कान्छी छोरी सजना दाहाल कक्षा ११ मा पढ्दैछिन्। १५ वर्षीया उनी दिदीसँगै मावलीमा बसेर पढ्छिन्। मावली संखुवासभाकै धर्मदेवी नगरपालिका–९ आँखीभुइँ हो। ‘घरको आर्थिक अवस्था नाजुक भएकाले खर्च जुटाउन नसक्दा हामीले छोराछोरीलाई सँगै राखेर पढाउन सकेनौं। दुवै छोरी मावलीमा बसेर पढ्दैछन्,’ टेकनाथले भने, ‘हाम्रो पारिवारिक स्थितिकै कारण मावलीले छोरीहरूलाई पढाइदिन्छौं भनेर लैजानु भएको हो। फुपूको सहयोगमा छोरा पढ्दैछन्।’ सामान्य खेती किसानी गरेर जीविका चलाउने गरिएका कारण छोराछोरीलाई पढाउने खर्चसमेत जुटाउन नसकिएको उनको भनाइ छ।
जेठान पनि माओवादी
टेकनाथ र पार्वता मात्रै हैन, उनीहरूभन्दा अघिदेखि नै टेकनाथका ससुराली खलक पनि माओवादीमा आवद्ध थिए। जेठान ४८ वर्षीय बलबहादुर थापा ‘नारायण’ २०५४ सालदेखि नै माओवादीमा लागेका हुन्। भारतको मुम्बईमा ‘नेपाली एकता समाज’मा आवद्ध भएर पार्टीको प्रवास कमाण्ड सम्हालेर बसेका थिए।
बलबहादुरका अनुसार त्यतिबेला मुम्बईमा रहेको ‘नेपाली एकता समाज’ले भूमिगत माओवादीलाई अप्रत्यक्ष सहयोग गर्ने गरेको थियो। पछि त्यो थाहा पाएर भारत सरकारले प्रतिबन्ध लगाएको उनले बताए। त्यसपछि ‘नेपाली जनअधिकार सुरक्षा समिति भारत’ नामक संस्थान खोलेर माओवादीलाई सहयोग गरेको उनी सम्झन्छन्। ‘हाम्रो परिवारले भूमिगत र युद्धरत अवस्थामा माओवादीलाई ठूलो सहयोग गरेको थियो,’ बलबहादुर भन्छन्, ‘तर, पार्टी सरकारमा पुगेर शासन गर्न थालेपछि सबै कुरा बिर्सियो।’