बीपीको समाजवाद नयाँ पुस्तालाई थाहा छ ?

कांग्रेसमा नीति बहस : कांग्रेसले रूखमा मात्रै भोट हाल्न पाउने कि नपाउने ?

कांग्रेसमा नीति बहस : कांग्रेसले रूखमा मात्रै भोट हाल्न पाउने कि नपाउने ?

काठमाडौं : कांग्रेस संस्थापन इतर पक्षको स्पष्ट एजेन्डा छ– अबका कुनै पनि चुनावमा गठबन्धन नगर्ने। कांग्रेस एक्लै चुनावमा जाने।’ महासमितिको बैठकबाट यो विषयमा नीतिगत निर्णय गराउने अडानमा छ, संस्थापन इतर पक्ष। तर, संस्थापन पक्ष भने चुनावी गठबन्धनबारे अहिल्यै नीति बनाउन नहुने अडानमा छ। पार्टीले यस्तो नीति लिए हालकै सत्तागठबन्धनमा असर पर्ने सभापति शेरबहादुर देउवा पक्षको बुझाइ छ। त्यसैकारण महासमिति बैठकमा ‘एक्लै जाने कि गठबन्धनको संस्कृति’ अनुसार अघि बढ्ने भन्ने एजेन्डामा कांग्रेसभित्र पेचिलो बहस हुने नेताहरू बताउँछन्।   

कांग्रेस महामन्त्री गगन थापाले अबका कुनै पनि चुनावमा कांग्रेसले गठबन्धन नगरी एक्लै चुनावमा जानुपर्ने राजनीतिक एवं सांगठानिक प्रतिवेदन पार्टीमा पेस गरे। केन्द्रीय कमिटी हुँदै यो प्रस्ताव सोमबारबाट सुरु हुने महासमिति बैठकमा पेस हुँदै छ। महामन्त्री थापाको यो प्रस्तावका पक्षमा डा. शेखर कोइराला पक्षीय नेताहरू अडिग छन्।

डा. कोइरालाले गठबन्धनको संस्कृतिका कारण कांग्रेसको भोट घट्दै गएको धारणा सार्वजनिक गरिसकेका छन्। त्यसैकारण कोइरालाले बारम्बार नेतृत्वसँग प्रश्न गर्ने गरेका छन्– कहिलेसम्म कम्युनिस्टको पछि लाग्ने हो ?’ कम्युनिस्टको पछि लाग्दा कांग्रेसको ७ प्रतिशत मत घटेको भन्दै कोइरालाले महासमिति बैठकमा ‘एक्लै चुनावमा जाने’ प्रस्तावका पक्षमा दरिलो भएर उभिन आफू पक्षीय नेताहरूसंग आग्रह गरिसकेका छन्। 

एक्लै जाने आँट गर्ला त कांग्रेस ?  

कुनै बेला कम्युनिस्टहरूको सबैभन्दा आलोचना गथ्र्यो, कांग्रेस। कम्युनिस्टहरू एकदलीय र निरंकुश भएको भन्दै कांग्रेसले आफू मात्रै ‘लोकतान्त्रिक’ पार्टी भएको दाबी गथ्र्यो। तर, पछिल्ला दिनमा कम्युनिस्ट पार्टीहरूसँग मिलेर सत्ता बनाउने मात्र होइन, चुनाव पनि लड्ने गरेको छ। त्यसैकारण संस्थापन इतर पक्षीय नेताहरू असन्तुष्ट छन्। उनीहरू ‘सत्ताका लागि गठबन्धन गरे पनि गठबन्धन गरेर चुनाव लड्न नहुने’ तर्क गर्दै आएका छन्। तर, सभापति देउवा पक्षीय नेताहरू भने गठबन्धन गर्नु बाध्यता भएको तर्क गर्छन्। 

उपसभापति पूर्णबहादुर खड्का कांग्रेसका लागि गठबन्धन रहर नभई बाध्यता भएको बताउँछन्। मिश्रित निर्वाचन प्रणालीका कारण कसैको पनि बहुमत आउने अवस्था नभएकाले गठबन्धन गर्नु बाध्यता भएको खडकाको भनाइ छ। महामन्त्री थापा भने चुनावी गठबन्धनका विपक्षमा छन्। कार्यकर्ताहरूको मनोभावअनुसार पार्टी एक्लै चुनाव लड्नुपर्ने उनको दाबी छ। त्यसैले चुनाव अघि गठबन्धन नगर्ने प्रतिबद्धता गर्नुपर्ने थापाको अडान छ।  

अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि चुनावमा गठबन्धन गर्न नहुने पक्षमा छन्। कांग्रेस पहिलो दल बने पनि समानुपातिकतर्फ मत घट्नुमा भने गठबन्धनको संस्कृतिलाई कारण देखाएका छन्। तर, अहिले नै गठबन्धन गर्ने भनेर महासमिति बैठकले नीति बनाउन नहुने उनको मत छ। ‘निर्वाचन आउनुभन्दा ४ वर्षअघि नै निर्वाचनबारे छलफल गर्नु यद्यपि आवश्यक विषय होइन,’ शर्माले समसामयिक प्रतिवेदनमा भनेका छन्, ‘त्यसैले आगामी निर्वाचनमा पनि गठबन्धन गरेर हामी जानेछौं या तीनवटै तहको सम्पूर्ण स्थानमा कांग्रेस उम्मेदवार खडा गर्नेछौं ? यसमा छलफल आवश्यक हो।’

कांग्रेसका पुराना मतदाताले अन्य चिह्नमा मत दिन पार्टीले गरेको आग्रह नरुचाएको महामन्त्री शर्माको विश्लेषण छ। उनीहरूको विश्वासलाई पुनर्जागृत गर्नुपर्ने शर्माले प्रतिवेदनमा उल्लेख गरेका छन्। ‘गठबन्धनमार्फत पहिलो दल त बन्यौं, तर समानुपातिकतर्फ ०७४ को तुलनामा हामीले करिब ७ प्रतिशत मत गुमाउनुको वास्तविक कारण के हो ?’ शर्माको प्रश्न छ। 

महामन्त्री थापा भने निर्वाचनका बेला गठबन्धन गर्न नहुने कुरा महासमिति बैठकबाटै नीतिगत निर्णय हुनुपर्ने पक्षमा छन्। ‘कार्यकर्ता र कांग्रेसका शुभेच्छुक गठबन्धनप्रति सकारात्मक नरहेकाले पार्टीले नयाँ संकल्प गर्नुपर्ने अनिवार्य भइसकेको छ,’ थापा भन्छन्, ‘भविष्यमा हुने आवधिक निर्वाचनहरूमा निर्वाचन पूर्वगठबन्धन (प्रि–इलेक्सन एलायन्स) गरेर अब कहिल्यै आफ्ना मतदातालाई अन्य कुनै दलको चुनाव चिह्नमा मत हाल्ने अवस्था सिर्जना गर्नु हुँदैन।’ गठबन्धनका कारणले पार्टीलाई क्षति पुगेको र कार्यकर्तामा निराशा थपेकोमा दुई महामन्त्रीको मत एक छ। थापाले भनेका छन्, ‘तीनै तहको निर्वाचनमा कतिपय स्थानमा आफ्नो आस्था प्रकट गर्ने ‘रूख’ चिह्न नै नहुँदा कांग्रेसजनले आज पर्यन्त आफ्नो असन्तुष्टि व्यक्त गरिरहेको हामीले देखेका छौं,’ थापाले प्रतिवेदनमा लेखेका छन्।

थापाले निर्वाचन प्रणालीको सीमाले गर्दा कुनै पनि दलले बहुमत प्राप्त नगर्ने अवस्था भए पनि पाँच वर्षका लागि गठबन्धनसहित मत मागेकाले यस अवधिसम्म जनतासँगको बाचा र अन्य साझेदार दलहरूसँगको सम्झौताबमोजिम राजनीतिक इमान्दारी प्रदर्शन गर्नुपर्ने उल्लेख गरेका छन्। ‘पार्टीको आफ्नो उम्मेदवार नहुँदा संगठनभित्र आकांक्षीको व्यवस्थापन त कठिन भयो नै पार्टीभित्रको ऊर्जामा समेत गिरावट आयो,’ महामन्त्री थापाले प्रतिवेदनमा लेखेका छन्, ‘जसले गर्दा निर्वाचनमा संख्यात्मक रूपमा पार्टी पहिलो दल भए पनि लोकप्रिय मत घट्ने अवस्था भयो।’ 

स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धन गर्दा पार्टीले १३.२ प्रतिशत  मतदाता गुमाएको थापाले उल्लेख गरेका छन्। ‘यही कुरा सातै प्रदेशसभा चुनावको मतका आधारमा हेर्ने हो भने हाम्रो लोकप्रिय मतको हिस्सा ५ प्रतिशतले घटेको छ,’ थापाले प्रतिवेदनमा भनेका छन्, ‘त्यसको एउटा प्रमुख कारण हो, स्थानीय तहको निर्वाचनमा हामीले तल्लो तहमै आवश्यकताका आधारमा तालमेल गर्ने भनेका थियौं, बाध्यात्मक बनाएका थिएनौं।’ थापाले अगाडि भनेका छन्, ‘एकातर्फ कांग्रेसका क्रियाशील सदस्यले आफ्नो चिह्नमा मत हाल्न पाएनन् नै अर्कोतर्फ अन्य दलको निर्वाचन चिह्न र झन्डा बोकेर मत माग्न हिँड्नुपर्ने बाध्यात्मक अवस्थामा हामीले पुर्‍यायौं।’ 

महासमितिबाटै चुनावी गठबन्धनमा जाँदैनौं भन्ने नीति तय गरेर देशभरका कार्यकर्तालाई सन्देश दिनुपर्ने इतर समूहका नेता डा. शेखर कोइरालाको भनाइ छ। ‘यो महासमिति बैठक बाटैै निर्णय गर्नुपर्छ भन्ने मान्यतामा म अडिग छु,’ कोइरालाले भने। 

null

कांग्रेसको नीति कस्तो ? महामन्त्री थापा भन्छन्, ‘अबको नीति ग्राउन्ड लेभलका जनताले महसुस गर्ने गरी निर्माण हुन आवश्यक छ। यतिबेला संघ, प्रदेश र बहुसंख्यक स्थानीय सरकारमा पार्टी नेतृत्वदायी भूमिकामा भए तापनि पार्टी सरकारमा भएको महसुस र आफ्नोपन नै कांग्रेस सदस्यले गर्न सकिरहेको देखिँदैन।’ सरकारका नीति, प्राथमिकता र कार्यक्रमसँग पार्टी जोडिएको अनुभूत गर्न नसकेको उनको भनाइ छ। ‘यस्तो अवस्थामा जताततै पार्टीभित्र एकखालको अलमल छ– हामीले सरकारको प्रतिरक्षा गर्ने कि प्रश्न ?’ थापाले भनेका छन्। 

नेता डा. गोविन्दराज पोख्रेल भन्छन्, ‘कांग्रेस आफनै बलबुतामा लड्नुपर्छ। कांग्रेसले कांग्रेसलाई नै मत माग्नुपर्छ। निर्वाचनपछि सरकार बनाउन गठबन्धन गर्नुपर्ने विषय त्यो विषय पछि हेर्नुपर्छ।’

६ महिनामा नीतिबारे बहस गर्नुपर्नेमा २ वर्षपछि मात्रै 

कांग्रेसको १४औं महाधिवेशन नेतृत्व चयनमा मात्रै केन्द्रित रह्यो। पार्टीको वैधानिकता जोगाउने चुनौतीबीच ०७८ मंसिर २८ गते महाधिवेशन भयो। तर, नीतिबारे छलफल भएन। त्यसैकारण नीतिबिनाको पार्र्टी र विधिबिनाको काम गराइले पार्र्टीलाई गतिशील, प्रभावकारी र सिर्जनशील बनाउन नसकेको कांग्रेसकै नेताहरू बताउँछन्।

कांग्रेसको विधानअनुसार नेतृत्व चयन भएको ६ महिनाभित्रमा नीति अधिवेशन गर्नुपर्ने हो। तर, २ वर्ष २ महिना बितेपछि महासमिति बैठकमा नीतिबारे छलफल हुँदै छ। नीतिमा छलफल नहुँदा कांग्रेसका धेरै विषय अपूर्ण छन्। विभागहरू गठन हुन सकेका छैनन्। सभापतिले कोषाध्यक्ष पनि बनाउन सकेका छैनन्। नीति प्रशिक्षण प्रतिष्ठान अलपत्र जस्तै छ।  

महासमिति बैठकको तयारीका लागि भनेर सभापति देउवाले बिहीबारलाई केन्द्रीय समितिको बैठक बोलाएका थिए। बैठकमा ३ वटा प्रतिवेदन पेस भएका थिए र ती तीनवटै प्रतिवेदन केन्द्रीय समितिको बैठकबाट परिमार्जनसहित पारित भएका थिए। महासमिति बैठकका अध्यक्ष एवं उपसभापति पूर्णबहादुर खड्काले तयार पारेको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक तथा राजनीतिक विषय समेटिएको नीति प्रस्तावको प्रतिवेदन ल्याएका छन्। त्यसैगरी महामन्त्रीद्वय गगन थापाले सांगठनिक प्रस्ताव र विश्वप्रकाश शर्माले समसामयिक राजनीति प्रस्ताव पेस गरेका छन्। 

राजनीतिक परिवर्तनको नेतृत्व लिने, विकास र समृद्धि गर्न नसक्ने महत्वपूर्ण राजनीतिक घटनाको मुख्य नेतृत्व लिँदै आएको कांग्रेस विकास र समृद्धिको जस भने कहिल्यै पाउने गरेको छैन। विकास र समृद्धि नेपाली कांग्रेसले जति अरूले नगरेको नेपाली कांग्रेसका नेता तारानाथ रानाभाट बताउँछन्।

‘हामी अहिले सपना बाँड्न सक्छौं, ती सपनालाई साकार पार्नलाई के गरेका छौं ? रानाभाट भन्छन्, ‘खासमा त्यसले महत्वपूर्ण राख्छ। परिवर्तन, कार्यपत्र, घोषणापत्र प्रतिबद्घता पत्रमा उल्लेख भएका कुरालाई कार्यान्वयन गरे मात्र जनताले विश्वास गर्छन्।’

नेता गुरु घिमिरे भने राष्ट्रनिर्माणमा नभई कांग्रेस बारम्बार सत्तामा केन्द्रित रहेको बताउँछन्  ‘२०४८ सालयता जुन अवसर कांग्रेसले पायो। त्यो मौका सत्तामा मात्र केन्द्रित रह्यो,’ उनको आरोप छ, ‘जनताबाट प्राप्त जनादेशलाई अवज्ञा गर्‍यो। पार्टीभित्रको अन्तरकलह बढायौं हामीले। त्यसैले यो बैठकमा हामीले गरेका कमजोरीलाई अन्तर आत्माबाट स्विकार्नुपर्ने आवश्यक छ।’  

०७२ पछि पनि खासखास मुद्दामा कांग्रेसको इमान्दारिता नदेखाएको घिमिरे बताउँछन्। उनी भन्छन्, ‘कांग्रेसको कार्यशैली पूर्णरूपमा यान्त्रिक देखिन्छ। ३५ वर्ष सरकार चलाउँदा मुलुक यो अवस्थामा पुगेको छ। देश बिग्रियो थिति बिग्रियो भनेर मात्र हुँदैन। हामीले बिगार्यौ भनेर गल्ति स्विकार्न सक्नुपर्छ,’ घिमिरे भन्छन्। 

बीपीको समाजवाद नयाँ पुस्तालाई थाहा छ ?

समाजवादको सिद्धान्त कहीँ कतै लागू नभएको कांग्रेस युवा नेता घिमिरे बताउँछन्। ‘जनताको सोच्ने शैलीलाई परिवर्तन गर्न सकिएको छैन,’ उनी भन्छन्, ‘अशान्ति, बेरोजगार, भ्रष्टाचार झन्–झन् बढ्दै गएको छ। अनि कसरी बीपीको समाजवादको कुरा गर्न सुहाउँछ ? पहिला व्यावहारिक रूपमा लागू गरौं अनि समाजवादको कुरा गरौं।’

अर्का नेता रानाभाट बीपीको समाजवाद छोडेर नयाँ दिशामा जाने भन्ने कुरा कांग्रेस पार्टीमा नहुने बताउँछन्। ‘यसैलाई हासिल गरेर घोषणा कसरी गर्ने परिपूर्ति कसरी गर्ने ? नेपाली कांग्रेसलाई समसामयिक कसरी बनाउने ? प्रश्न यो हो,’ उनी भन्छन्। कांग्रेसमा हजार बढी नयाँ पुस्ता आउने क्रम बढ्दो भएको रानाभाट बताउँछन्। उनी भन्छन्, ‘भ्रातृ र मातृ संगठन कांग्रेसमा धेरै छन्। भ्रातृ संस्थाबाट कांग्रेसमा आउनेलाई मात्र हैन पुराना कांग्रेसलाई पनि विपि समाजवाद व्यावहारिक ढंगबाट बुझाउनुपर्ने आवश्यक छ।’

राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले सैद्धान्दिक र वैचारिक दृष्टिकोणले कांग्रेसलाई रूपान्तरण गर्नुपर्ने बताउँछन्। ‘०४६ पछि नेपाली कांग्रेसले अनुशरण गरेको उद्धार र खुला अर्थनीतिको कारणले गर्दा आर्थिक वृद्घि त भयो, तर अपेक्षाकृत आर्थिक सामाजिक उपलब्धि हासिल गर्न सकेन,’ वाग्ले भन्छन्, ‘त्यसकारण लोकतान्त्रिक समाजवादलाई पनि समयअनुकूल परिष्कृत गर्नुपर्ने आवश्यक छ।’

रूखमा भोट हाल्न पाऔं

कांग्रेसका युवा नेता महर भन्छन्, ‘गाउँ–गाउँमा जो हजुरबुवाहरू हुनुहुन्छ। जो वर्षौंदेखि कांग्रेसको रूख चिन्ह्मा मत हाल्दै आउनुभएको छ। उहाँहरूलाई अर्को चिन्ह्मा भोट हाल भनेर व्यक्तिको नैसर्गिक अधिकार छिन्ने काम भएको छ। महासमिति बैठकबाट त्यो प्रचलन हटाउने नीति लिनुपर्छ। नेता  घिमिरे भने अहिले नै गठबन्धन छोड्दा जनताप्रति बेइमानी हुने बताउँछन्। ‘अहिलेको यो चुनावी गठबन्धन भएको हुनाले ५ वर्ष यस्तै–यस्तै गरेरै चल्ने जस्तो देखिन्छ,’ उनी भन्छन्, ‘अबको निर्वाचनमा भने कांग्रेस एक्लै चुनावमा जानुपर्छ।’

राजनीति विश्लेषक वाग्ले गठबन्धनबारे कांग्रेसको दृष्टिकोण स्पष्ट हुनुपर्ने बताउँछन्। ‘सम्पूर्ण पार्टीका कार्यकर्ताले बिगतमा गठबन्धन गरेका कारणले पार्टी संगठन कमजोर भयो भनिराखेका छन्,’ वाग्ले भन्छन्, ‘महामन्त्रीले  निर्वाचन पूर्वगठबन्धन नगर्ने प्रस्ताव पेस गर्नुभएको छ। त्योनै उपयुक्त देखिन्छ।’ आफ्नै एजेन्डा र कार्यसूचीमा निर्वाचन लडेर कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन सक्षम हुनुपर्ने वाग्लेको भनाइ छ।  

सहमहामन्त्री महालक्ष्मी डिना उपाध्याय भने परिस्थितिले गठबन्धनको संस्कार जन्माएको बताउँछिन्। ‘गठबन्धनलाई उपलब्धिका रूपमा प्रयोग गर्न सक्नुपर्छ,’ उनी भन्छिन्, ‘हामीले संगठन सुधार गर्नुपर्ने धेरै क्षेत्र छन्। गठबन्धन नगर्ने वातावरण सिर्जना गर्नका लागि हामीले के कस्ता उपायहरू अवलम्बन गर्ने छौं ? त्यतातिर छलफल गरौं। एक्लै निर्वाचनमा गएर जितेर आउने सम्मको माहोल पार्टीमा सिर्जना गरौं।’

देउवाको नीति के हो ? 

गठबन्धन प्रतिपार्टी सभापति शेरबहादुर देउवाको नीति भने अहिले खुलेको छैन। उनी आपैmंले कुनै प्रतिक्रिया दिएका छैनन्।

शेखरको नीति के हो ? 

कांग्रेसका नेता शेखर कोइरालाले महासमिति बैठकमा पेस हुने प्रतिवेदन विरोधाभास जस्तो देखिएको बताएका छन्। महासमिति पेस हुने प्रतिवेदन थप परिमार्जन हुनुपर्ने माग गरेका हुन्।  ‘केन्द्रीय समिति बैठकमा कताकता प्रतिवेदनहरूमा विरोधाभास आएका छन्। युनिफाइड दस्तावेज जाओस् भन्ने चाहन्छु। प्रतिवेदन परिमार्जन हुँदै होला, होस् भन्ने मेरो चाहना हो।’

उनले गठबन्धन गर्दा कांग्रेसको भोट घट्दै गएको दाबी गरे। उनले भने, ‘जिल्ला–जिल्ला घुम्दा हामीले एक्लै चुनाव कहिले लड्ने हो ? हाम्रो चिह्नमा भोट कहिले हाल्न पाउँछौं भनेर प्रश्न गर्नुहुन्छ। सरकारमा चारैतिर बहुमतमा छौं तर भोट घट्दै गइरहेको छ। गठबन्धन गरेर निर्वाचनमा जाँदा कांग्रेसको भोट घट्दै गएको छ। यसतर्फ नेतृत्वको ध्यान गएको छैन। उनले भोट किन घटिरहेको छ विश्लेषण गरिरहेका छैनौं।’ कोइरालाले भने, ‘यो प्रणालीबाट बहुमतको सरकार आउन सक्दैन। निर्वाचन प्रणालीमा होमवर्क गर्नुपर्छ। परिमार्जन गर्नुपर्छ। नेपाली कांग्रेसले पहल गर्नुपर्‍यो अन्य दलसँग बसेर।’

नीति र नेतृत्व दुवै दृष्टिकोणले कांग्रेस संक्रमणकालबाट गुज्रिरहेको छ। स्थापनाकालदेखि अंगिकार गर्दै आएका मार्गनिर्देशक सिद्धान्तहरूलाई समयानुकूल पुनव्र्याख्या र पुनःपरिभाषित गर्न जरुरी छ। १४औं महाधिवेशनबाट नेतृत्वमात्र चयन भयो। नीति निर्माणको काम भएन। त्यसैले यसपटकको महासमिति बैठकले राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशमा भएका परिवर्तनलाई मध्यनजर गरेर सैद्धान्दिक र वैचारिक दृष्टिकोणले रूपान्तरण गर्नुपर्ने खाँचो छ।  
गेजा शर्मा वाग्ले, राजनीति विश्लेषक


कांग्रेसप्रति किन आशा जागेन ? 

कांग्रेसका युवा नेताहरू पार्टीप्रति युवा पंक्ति आकर्षण नभएकोमा चिन्ता व्यक्त गर्छन्। पार्टीले सही नीति र नेतृत्व लिनसके मात्रै युवामा आकर्षण देखिने उनिहरूको तर्क छ। ‘राजनीतिप्रति नै युवाको आकर्षण होइन, असन्तुष्टि बढ्दो छ,’ युवा नेता भुपेन्द्रजंग शाही भन्छन्, ‘कांग्रेसले रूखमा मत हाल्न दिन्न। अरूमा भोट हाल्न लगाएपछि ती युवा कसरी कांग्रेसमा रहन्छन् ? एकपटक अरू चिन्हमा भोट हालिसकेपछि कांग्रेसप्रतिको मोह नै भंग हुन जान्छ।’ युवा नेता गुरु घिमिरे पनि पार्टीले गम्भीर रूपमा समीक्षा गर्नुपर्ने बेला आएको बताउँछन्। सरकारको कार्यसम्पादन मूल्यांकन, पार्टीको १४औं महाधिवेशनदेखि हालसम्मको समयको विश्लेषण गर्नुपर्ने उनको भनाइ छ। 

कांग्रेसका अर्का युवा नेता नैनसिंह महर महासमिति बैठकमा कांग्रेसको आन्तरिक जीवन,  अर्थतन्त्रको अवस्था, संविधान कार्यान्वयनदेखि चुनावमा एक्लै लड्ने लगायतका विषयमा छलफल गर्नुपर्ने बताउँछन्। ‘बलियो जनताको पार्टी बनाउनका लागि भ्रष्टाचार, सुशासनको कुरा, पार्टीभित्रका आन्तरिक विषय, शिक्षा स्वास्थ्यका मुद्दा, इन्धन, पर्यटनलगायतका कुरा पार्टीले के गर्न सक्छ ? छलफल गर्नुपर्छ,’ महर भन्छन्, ‘राम्रो काम गरेर जनतालाई खुसी बनाउने जिम्मेवारी कांग्रेसको हो। कांग्रेसप्रति जनताको अपेक्षा एकदमै बढी छ।’

नेता श्याम घिमिरे कांग्रेस अहिले मिसनविहीन जस्तो अवस्थामा पुगेको बताउँछन्। ‘जनताका मुद्दा सुन्नभन्दा पनी राजनीतिको वरिपरि नै कांग्रेस घुमेको देखिन्छ, घिमिरे भन्छन्,’ संघीयता, समानुपातिक प्रणालीका विषयमा पुनर्विचारको विषय र हिन्दूधर्मको कुरा उठेको छ। जनताले कांग्रेसबाट अपेक्षा गरेका छन्। यी मुद्दामा कांग्रेसले मौनता सांधिरहे, भोलि अरू कसैले यसको नेतृत्व लिन सक्छ।’

सहमहामन्त्री महालक्ष्मी डिना उपाध्याय पार्टीका हरेक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता हुनुपर्ने विषय उठाउनुपर्ने बताउँछिन्। ‘आर्थिक, सामाजिक लगायतका क्षेत्रमा असमानता छन्,’ उपाध्यायले भनिन्, ‘भोलिको बाटोमा कांग्रेसले हिजो गरेको परिवर्तनका उपलब्धिलाई अर्थपूर्ण प्रयोग गर्न सक्यो, सकेन। त्यसलाई सुधारात्मक बाटोमा लैजाने प्रयास गर्नुपर्छ।’

 कांग्रेसले आफनै विधिविधान मान्ने हो भने २०८२ सालमा महाधिवेशन गर्नुपर्ने डा. पोख्रेल बताउँछन्। ‘अहिलेको अवस्थाले अनावश्यक रूपमा धेरै नेता उत्पादन गरेको छ,’ उनी भन्छन्, ‘केन्द्रदेखि वडासम्मका समिति चुस्त, चलायमान बनाउनुपर्छ। त्यसका लागि साना र छरिता संरचना बनाउनुपर्छ। मिटिङ गर्नै नसकिने वा मिटिङ बस्नै नसक्ने समिति बनाएर के गर्ने ?’  
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.