क्यानडा–११ सँग नेपाल पराजित
काठमाडौं : नेपालको ‘ए’ टोली एकदिवसीय शृंखलाको पहिलो खेलमा क्यानडा–११ सँग चार विकेटले पराजित भएको छ। मूलपानी मैदानमा नेपालले दिएको दुई सय १७ रनको लक्ष्य क्यानडाले ४९.३ ओभरमा पूरा गरेको थियो।
क्यानडाका नवनीत धलिवालले सर्वाधिक ८० रन बनाए। यस्तै निखिल दत्तले ६७, कप्तान साद बिन जाफरले २३, श्रेयस मोम्भाले २२ र दिलप्रित बाज्वाले १० रन बनाए। नेपालका साहब आलमले दुई विकेट लिए। यस्तै रासिद खान, बसिर अहमद, प्रतिश जिसी र सागर ढकालले एक÷एक विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा विकेट आठ गुमाउँदै दुई सय १६ रनको योगफल तयार पारेको थियो। नेपालका बसिर अहमदले अर्धशतकीय पालि खेले। उनले ५५ बलमा एक छक्का र तीन चौकाको मद्दतले अविजित ५० रन बनाए। यस्तै रासिद खानले ४०, मायन यादवले ३६, किरण ठगुन्नाले २५, विवेक यादवले २३ र सन्दीप जोराले १४ रन बनाए। क्यानडाका साद बिन जाफरले तीन विकेट लिए। यस्तै ईश्वरजित सोधीले दुई तथा डिलोन हेलिगर, हर्ष ठाकर र साहिद अहमदजाईले एक÷एक विकेट हात पारे।
संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखला खेल्न जानुअघि तयारीका लागि क्यानडाले नेपालमा अभ्यास खेल खेलेको हो। आइतबारको जितसँगै क्यानडाले तीन खेलको शृंखलामा १–० को अग्रता बनाएको छ।
शृंखलाअन्तर्गत दोस्रो खेल मंगलबार र तेस्रो तथा अन्तिम खेल बिहीबार हुनेछ। यसअघि तीन एकदिवसीय खेल भने क्यानडाले ३–० ले घरेलु टोली नेपाललाई सुम्पिएको थियो।