‘समाजवादी क्रान्तिले मात्रै मधेसको समस्या समाधान हुन्छ’

‘समाजवादी क्रान्तिले मात्रै मधेसको समस्या समाधान हुन्छ’

प्रत्यक्ष निर्वाचन प्रणाली माओवादीको आवश्यकता कि बाध्यता ?

आठौं महाधिवेशनका केही स्वीकारोक्तिहरू छन्। त्यो बेला हामीले समाजवादी दिशामा जाने भन्यौं। पार्टी विधि–पद्धतिअनुसार चल्न नसकेकोे निष्कर्ष थियो। सहमतिका आधारमा पार्टी चलाउँदा ठूला कमिटीहरू बने। पार्टीलाई चुस्तदुरुस्त ढंगले चलाउने, सकेसम्म साना कमिटीहरू बनाउने पक्षमा त्यही बेलामा पुगेका थियौैं। प्रत्यक्ष निर्वाचन प्रणालीबाट सबै कमिटीहरू चयन गर्ने विधान अधिवेशनबाट निर्णय गरेका छौं। जुन हाम्रो व्यावहारिक आवश्यकता थियो। 

अनि पदाधिकारी कसरी छनौट हुन्छ नि ?

जनवादी केन्द्रीयता भनेको लोकतान्त्रिक पद्धतिमै आधारित हुन्। चुन्ने, चुनिने प्रक्रियाबाट माथिदेखि तलसम्म जानु उपयुक्त हुन्छ। त्यसको अर्थ सहमतीय पद्धति नै हुँदैन भन्ने होइन। सहमति जुट्न नसकेको अवस्थामा प्रत्यक्ष निर्वाचनले समस्याको हल गर्छ। अब कमिटीहरू सबै प्रत्यक्ष निर्वाचनबाट छनौट हुन्छन्। कमिटीभित्र चुनिएका सदस्यको मतदान प्रक्रियाबाट पदाधिकारी छनौट गर्ने दिशामा गएका हौं। यो अहिलेको हाम्रो आवश्यकता पनि हो।

तल्लो कमिटीदेखि पदाधिकारीसम्म चुनावबाटै छान्नु पर्ने प्रतिनिधिहरूले माग उठाएका थिए। तर, प्रचण्डजीले त्यो मागलाई पाखा लगाउनु भयो नि ?
त्यसरी यस विषयलाई बुझ्नुहुँदैन। पार्टीको नेतृत्व लामो संघर्षबाट आएको हुन्छ। माओवादी उत्पीडित वर्ग र समुदायको पार्टी हो। प्रत्यक्ष निर्वाचन प्रणालीबाट त्यही वर्ग र समुदायको दृष्टिकोण र स्वार्थलाई प्रतिनिधित्व गर्ने सुनिश्चितता हुनु पर्छ। अरू पुँजीवादी पार्टीमा सहजतापूर्वक वर्गको सुनिश्चितता हुन्छ। तर, कम्युनिस्ट पार्टीमा सहजै त्यही ढंगको हुँदैन। रूपान्तरणको निश्चित प्रक्रियाबाट जानुपर्छ।

क्रान्तिकारी आन्दोलनमा नेतृत्वको प्रश्नले सर्वाधिक महत्व राख्छ। एउटा प्रणालीबाट अर्को प्रणालीमा जाँदाका संक्रमणकालीन असर, कार्यशैली र पद्धतिहरू पनि प्रमुख हुन्छन्। प्रत्यक्षबाट कमिटी छान्ने अभ्यास पनि गरौं। अनि पदाधिकारी छनौटको प्रक्रियामा जानका लागि परिपक्व परिस्थिति पनि माग हुन्छ।  त्यसका लागि पनि यो सोच आएको हो। 
 

जब प्रचण्डजी आफू खतरामा पर्ने देख्नुहुन्छ अनि नयाँ–नयाँ कार्डको प्रयोग गर्नुहुन्छ। जस्तै पदाधिकारी छनौटका लागि प्रत्यक्ष निर्वाचन प्रणालीमै नजानु ?
कमरेड प्रचण्डले नेपालको आन्दोलनमा खेलेको भूमिकालाई ठीक ढंगले बुझ्नुपर्छ। पार्टीको नेतृत्वमा उहाँलाई बसिराख्नलाई कुनै संकट आएको छैन। उहाँ जीवनको उत्तरार्धमा पनि समाजवादी आन्दोलनलाई अगाडि बढाउन र पार्टी पुनर्गठन गर्न तयार हुनुहुन्छ। स्थापित नेतृत्वले योग्दान गरिरहेको बेला त्यसको वरिपरी अरू नेताले मुलरूपमा मुख्य नेतृत्वअन्तर्गत अरूले पूरक भूमिका खेलेर जानुपर्छ। 

अहिलेको विधानले नयाँ नेतृत्व जन्माउने क्षमता राख्छ ?

कम्युनिस्ट आन्दोलनले नेपालमा लोकतान्त्रिक पद्दतिलाई पनि पक्रिनु पर्ने छ। र, सही खालका कम्युनिस्ट पार्टी पनि बनाउनु पर्छ। यी दुवै पक्षलाई हेरेर माओवादीले आफ्नो खालको विधान बनाउन सुरुवात गरेको हो। आउने दिनमा यसले नयाँ नेतृत्वलाई विकास गर्नका लागि पनि एउटा प्रणाली खोजी गरेको हो। अहिलेको नेतृत्व त टेस्टेड नेतृत्व भइसक्यो। अहिलेसम्म गरेको कामलाई निरन्तरता दिन एउटा सक्षम र समाजवादी क्रान्ति हाँक्ने टिम बनाउन हामी नयाँ निर्वाचन पद्दतिमा गएका हौं।

युवा र पछाडि परेका वर्गको बारे विधानमा कस्तो व्यवस्था छ ?

समय कोणबाट युवाहरूको नेतृत्व विकासका लागि आठौं महाधिवेशनबाट २० प्रतिशत सिट छुट्याउने प्रवधान लिएर आयौं। अहिले पनि विधानमा त्यो कुरा छ। महिलाको ३५, दलितको १५, मुस्लिमको ५ प्रतिशत जस्ता विशेष व्यवस्था गरेका छौं। 

साँच्चिकै विधान लागू हुन्छ ?
विधान कार्यान्वयन गर्ने दिशामा हामी गइसक्यौं। विशेष महाधिवेशन गर्दा तलदेखि माथिसम्म प्रतिनिधित्वको व्यवस्था हुन्छ। जब कमिटी गठन हुन्छ, त्यहाँँबाट लागू हुन्छ। नेतृत्वले विधानअधिवेशनमै लागू गरेर जाने प्रतिबद्धता गरिसकेको छ। हरहालतमा विधान लागू गर्नुपर्ने अवस्था छ। 

आगामी २०८४ को निर्वाचनमा माओवादीलाई देशको १ नम्बर पार्टी बनाउने भनिँदै छ, के यो सम्भव छ ?
एक नम्बरको पार्टी बन्ने कुरामा ठीक कार्यदिशा पक्रिन्छौं, पक्रिदैनौं ? ठीक कार्यदिशाको कार्यान्वन हुन्छ कि हुँदैन ? त्यसमा भर पर्छ। पार्टीलाई प्रणालीमा हिम्डाउँछौं, हिँडाउँदैनौं ? त्यसमा निर्भर हुन्छ। जनताको दिन दिनको आवश्यकता र समस्यालाई सम्बोधन गरेर काम गर्छौं ? गर्दैनौं ? यो कुराले निर्धारण गर्छ। अहिले हामी जनतातिर फर्किएका छौं। 

के योजना लिएर ?

अब हामी तराईं–मधेस केन्द्रित जनजागरण अभियान, पूर्व–पश्चिम अभियान, उत्तर—दक्षिण अभियानमार्फत् जनतामा जाने प्रक्रियामा छौं। हिजो जसरी हामीले संघर्ष गरेका थियौं त्यसैलाई हेरेर जनताले माओवादीलाई एक नम्बरको पार्टी बनाएका हुन्। जनताको मुद्दामा आधारित भएर काम गर्नु पर्छ। सडक, सदन र सरकार तीनवटै मोर्चालाई समायोजन गर्नुपर्छ। त्यसरी गइयो भने प्रतिस्पर्धाको राजनीतिमा माओवादीलाई कुन स्तरमा राख्छ त्यो जनताले फैसला गर्ने कुरा हो।

तराईं–मधेसमा माओवादी किन केन्द्रित हुँदैछ ?

मधेसमा ठूलो राजनीतिक परिवर्तन भयो। तर, तराईं—मधेसका जनताको जीवनमा परिवर्तन आउन सकेन। मधेसकेन्द्रित राजनीतिक शक्तिहरू शक्तिको रूपमा देखापरे। तर, ती पार्टीहरूले पनि जनताको समस्या हल गर्न सकेन। मधेसमा वर्गीय, जातीय उत्पीडन छ। समाजिक, सांस्कृतिक पहिचानका सवालहरू छन्। त्यो सबै पक्षलाई हेरेर समाजवादी क्रान्तिको दिशाभित्र मधेसका समस्यालाई जोडर मात्रै हल हुन सक्छ। त्यसैले हामी एकपटक मधेस—तराईतिर फर्किनुपर्छ भनेर हामी जागरण अभियान चलाउने निष्कर्षमा पुगेका हौं। राष्ट्रिय एकतालाई प्रतिनिधित्व गर्न उत्तरदक्षिण अभियान पनि चलाउँदैछौं।

माओवादीले फेरि जातीय मोर्चाहरू किन ब्युँउताउने निर्णय गर्‍यो ?
२०७८ सालको केन्द्रीय कमिटीले वर्ग र उत्पीडित समुदायलाई छोड्यौ। त्यसकारण पार्टी कमजोर भयो। सांस्कृतिक रूपान्तरणलाई ठीक ढंगले नपक्रिएकाले कमजोरी भएको बैठकको निष्कर्ष थियो। त्यसैले उत्पीडित वर्गसँगै उत्पीडित समुदायको सवालललाई पनि ठीक ढंगले पक्रिन हामीले यो निर्णय गरेका हौं। 

यो निर्णयको दुरगामी प्रभाव ?

समाजवादी क्रान्तिको मुख्य शक्ति उत्पीडित वर्ग र समुदाय हुन्। त्यो उज्यालोमा हामीले हाम्रो जनवर्गीय संगठनलाई पुनर्गठन गर्दै छौं। ती सबैलाई व्यवस्थित गर्दै जातीय, क्षेत्रीय मोर्चालाई पनि गठन गर्न लागेका हौं। ती मोर्चाहरूका आफ्ना निश्चित पेसागत, जातीय, क्षेत्रीय मुद्दाहरू हुन्छन्। त्यसैले जातीय तथा क्षेत्रीय मोर्चालाई जोडसँग अगाडि बढाउन खोजेका हौं।

२०६४ मा पहिलो शक्ति रहेको माओवादी किन कमजोर भए ?

समयक्रमसँगै हाम्रा चारवटा गल्ती भए। पहिलो— बदलिएको विश्व, बदलिएको नेपालको राजनीति र बदलिएका राजनीतिक पार्टीहरूलाई दृष्टिगत गरेर विचारको पर्याप्त विकास गर्न सकिएन। दोस्रो— पार्टी विधि र पद्धतिमा चलेन। जनवादी केन्द्रीयतालाई कार्यान्वयन गर्न सकिएन। तेस्रो— कम्युनिस्ट सर्वहारा वर्ग(मजदुर, किसान, उत्पीडितको पार्टी हो। तर, हामीले आफ्नो वर्ग छोड्यौं। एक प्रकारले हामी घरको न घाटको भयौं।

चौथौ— पूँजीवादी जनवादी क्रान्ति आफ्नै ढंगले सम्पन्न भइसकेकोपछि समाजवाद यात्रातिर लागि हाल्नुपर्ने थियो। पूँजीवादले अन्त्य गर्न नसकेको विभेद, असमान्ता, उत्पीडन, अन्याय, अत्याचारलाई समाजवादले हल गर्छ भन्ने स्पष्टा नीति र रणनीत बनाएर जान सकेनौं। मुख्य यी चार पक्षमा ध्यान नदिँदा कमजोर भयौं।

सत्तामा पुग्दा वर्ग किन छुट्न गयो ?
सर्वहार वर्गको विश्वास लिएर पार्टीले उचाइ लियो। तर, जब संविधानसभाको चुनावबाट हामी प्रतिस्पर्धाको राजनीतिमा गयौं। अरूको जनमत लिनुपर्‍यो। अरूलाई पनि विश्वास दिनु पर्‍यो। त्यसले गर्दा वर्ग छुट्यो। पार्टी रूपान्तरण अभियानपछि अहिले प्रगशील निर्णयहरू गरेर अघि बढेका छौं।

किन कमजोरी भयो ?
जनवादको अभ्यास गर्दै जनयुद्ध, शान्ति सम्झौता, संविधान निर्माणदेखि अहिलेसम्म आयौं। शान्ति प्रक्रियापछि पार्टी प्रतिस्पर्धाको राजनीतिमा गयो। धेरै मान्छे माओवादीमा आए। सबैलाई समेटन सहमतिबाट गयो। ठूला भद्दा कमिटी बन्यो। पार्टी निर्देशनात्मक कमिटीहरूमा बदलिए। हिजो धेरै अधिकार अध्यक्षमा केन्द्रित गर्‍यौं। यो नै गम्भीर त्रुटि भयो।

हेटौंडादेखि नै नेतृत्व हस्तान्तरणको कुरो उठ्दै छ। प्रचण्डले पनि नेतृत्व लिन आउन भन्दै हुनुहुन्छ। उहाँ मानसिक रूपमै नेतृत्व हस्तान्तरण तयार हुनुहुन्छ ?

नेतृत्व सशस्त्र संघर्ष, जनआन्दोलन, चुनाव, सामाजिक तथा आर्थिक अभियानबाट विकास हुन्छ। अध्यक्षले बदलिएको प्रतिस्पर्धाको राजनीतिमा नेतृत्व लिन अगाडि बढ्नुस् भन्नुभएको छ। माथिबाट कसैलाई नेता बनाइदिएर हुने कुरा होइन। काम, अभियान र आन्दोलनको वरिपर िनेता र नेतृत्वको विकास त्यस जोड हुन्छ। त्यो आन्दोलनलाई पार्टी नेतृत्वले रक्षा र विकास गर्नुपर्छ। अध्यक्ष सक्रिय भइरहेसम्म आन्दोलन टिक्ने हो कि पछिसम्म जाने हो भन्ने कोणबाट अरू नेताहरूले सोच्नुपर्छ। अध्यक्षले पार्टी पुनर्गठन गर्ने पक्षमा हुनुहुन्छ। 

नेतृत्व हस्तारण गर्ने अधारहरू के–के हुन् ?
अरू पार्टीमा प्रतिस्पर्धा गर्दा पनि आफ्नै वर्गको आउँछ। त्यसले भित्र पट्टी खासै फरक पर्दैन। तर, सर्वहारा वर्गको उत्पीडितलाई लिएर हिँड्दा त्यहाँँ चिन्तनकै कुरा आउँछ कि आउँदैन भन्ने विचारको पार्टीभित्रै विकास गर्नुपर्छ। जीवनशैली, आचारण, संघर्षशीलतालाई व्यापक विकास गरिसकेपछि मात्रै नेतृत्व हस्तान्तरण गर्न निश्चित रूपमा सिर्जना हुन्छ।

यसबारे प्रचण्डले कसरी सोचिरहनुभएको छ ?
मेरो बुझाइमा अध्यक्ष कमरेडले आफू सक्रिय हुँदाहुँदै पार्टीलाई पनि संस्थागत गर्ने अनि नेतृत्व पनि विकास गर्ने मुडमा हुनुहुन्छ।

पार्टीको नाम फेर्नु पर्छ भनेर कुरो उठेको छ। ‘माओवादी’ नाम तपाइँहरूको ब्रान्ड होइन र ?

अध्यक्षले पार्टी बैठकमा भन्नुभयो, ‘माओवादीको धेरै कुरा गुमेको छ। एउटा माओवादी भन्ने पहिचान बचेको छ। त्यो पनि बदल्न त मन छैन।’ बाबुराम भट्टराईको पार्टीसँग एकताका लागि छलफल हुँदा उहाँहरू माओवादी पार्टी नाम नराख्ने अनि हामी छोड्न नसक्ने भयौं। त्यसैले अब पार्टीको नाम पर्ने ठाउँमा पुगेका छौं। नेकपा रहन्छ। तर, पछाडिको माओवादीका ठाउँमा के राख्ने बारे नयाँ समझदारी गरेर बढ्छौं। दुई परिस्थितमा मात्रै पार्टीको नाम बदल्छौं।

कुन—कुन परिस्थितिमा ?

कम्युनिष्टहरूको बृहत् एकता भयो भने। जस्तो एमाले र माओवादी बनाउँदा हामीले माओवादी छोडेका थियौं। दोस्रो, विशेष महाधिवेशनपछि पार्टीको नाम फेर्ने कुरा उठेको छ। नामका लागि नाम बदल्न खोजेको होइन। बृहत् एकता गर्ने र मुलुकलाई फेरि नयाँ ढंगले लैजाने कोणबाट उठेको छ। माओवादीलाई हटाएर समाजवादी राखौं भन्ने छ। अबको २१औं शताब्दीमा नेपाली विशेषताको समाजवाद भनेका छौं। उपयुक्त समयमा नाम बदलेर जाने बारे हामीबीच करिब करिब सहमति जस्तो नै छ। हामी पार्टीलाई नयाँ ब्रान्ड बनाउने तिर छौं।

  •  इमान्दार माओवादी र खाओवादी सँगसँगै भए। यसलाई प्रयोग गरेर वर्ग स्वार्थ पूरा गर्ने प्रवृत्तिा देखियो। यसले पनि माओवादी कमजोर भयो।
  • हामी पार्टीलाई नयाँ ब्रान्ड बनाउनेतिर छौं।
  • वास्तवमा हामीले निरन्तर सांस्कृतिक अभियान चलाइरहनु पर्ने थियो, तर त्यहाँ त्रुटि भयो।
  •  अरू पुँजीवादी पार्टीमा सहजतापूर्वक वर्गको सुनिश्चितता हुन्छ। तर, कम्युनिस्ट पार्टीमा सहजै त्यही ढंगको हुँदैन।
  • प्रत्यक्षबाट कमिटी छान्ने अभ्यास पनि गरौं, पदाधिकारी छनोटको प्रक्रियामा जानका लागि परिपक्व परिस्थितिको पनि माग हुन्छ भनेरै यो सोच आएको हो।
  • अहिलेको नेतृत्व त टेस्टेड नेतृत्व भइसक्यो। अहिलेसम्म गरेको कामलाई निरन्तरता दिन एउटा सक्षम र समाजवादी क्रान्ति हाँक्ने टिम बनाउन हामी नयाँ निर्वाचन पद्दतिमा गएका हौं।

के अब पार्टीको नीति, विचार र सिद्धान्त पनि फेरिन्छ ? 
गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता, समाजवाद उन्मुखताका सन्दर्भमा आक्रमक भएर माओवादी आउनु पथ्र्यो। तर, त्यसो भएन। विधान बनाउँदा विश्व परिवेश, विज्ञान र प्रविधिको परिवर्तनलाई मात्रै हेरियो। यो परिवेशमा समाजवादी क्रान्तिको मोडेललाई पनि हेर्नु पथ्र्यो। अब यि सबैलाई हेरेर विधान बनायौं। 

आजको विचारचाहिँ के ?

हामीले २१औं शताब्दीमा नेपाली विशेषतासहितको समाजवाद भनेका छौं। आठौं महाधिवेशनबाट यो विचारमा अघि जाने तय भयो। तर, अझै छलफल पुगेको छैन। चार महिने रूपान्तरण अभियान चलायौं। हालै फागुन १, २, ३ गतेसम्म विधान अधिवेशन गर्‍यौं। यसपछि विशेष महाधिवेशन गरेर अबको रणनीति तयार गर्छौं। समाजवादी क्रान्तिलाई ठोस र मूर्तरूप दिने विचार, नीति र रणनीति बनाउँछौं।
वाम एकतामा माओवादीको धारणा के छ ?

एमाले र माओवादीबीचको एकता टुटे पनि हाम्रो निष्कर्षः सामाजिक, आर्थिक, सांस्कृतिक रूपान्तरणका लागि कम्युनिस्टहरू एक हुनैपर्छ। 

त्यसको चरित्र कस्तो हुन्छ ?

संविधानको रक्षा र कार्यान्वयन गर्ने, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक, मौलिक हकको रक्षा, राष्ट्रियता, स्वाभिमान, भगौलिक अखण्डताको रक्षा गर्नु मुख्य चरित्र हुन्छ। समाजवाद यात्राको बाटो हुन्छ। त्यसका लागि साझा नेतृत्व, कार्यक्रम र आचारसंहिता चाहिन्छ। 

झन्डै माओवादी सकिन लागेको थियो। के यो कुरा सत्य हो ?

नेपाली राजनीतिक कोणबाट विश्लेषण गर्नेहरूको मनमा माओवादी सकिए हुन्थ्यो भन्ने छ। तर, माओवादी सकिँदैन। माओवादीले जे भूमिका निर्वाह गर्‍यो त्यो भूमिका अरू शक्तिले खेलेकै छैन। त्यसैले अहिले त्यो ठाउँ खाली छ। माओवादीको विशाल नेता कार्यकर्ता टिम छ। आठौं महाधिवेशनमा झन्डै ८ लाख मान्छेहरूले सदस्यता लिए। अहिले चारमहिने अभियानमा ६० प्रतिशतले नवीकरण गरे।

अहिले चार लाख सदस्य छन्। यो सानो शक्ति होइन। नसच्चिए ओरालो लाग्छौं भन्ने हाम्रै विश्लेषण छ। शक्ति थाहा पाउनका लागि अभियान चलायौं। अब हामी मधेस–तराईं अभियान, पूर्व–पश्चिम अभियान, उत्तरदक्षिण अभियान चलाउँछौं। 

माओवादी संसदीय राजनीतिमा फेल खाइरहेको छ किन ?

राष्ट्रिय राजनीतिले गठबन्धन गर्ने अवस्था सिर्जना भयो। तर गठबन्धनको समीक्षा पनि भइरहको छ। कांग्रेससँग मिलेर चुनावमा गयौं। उ एक नम्बरको पार्टी भयो। हामी ५४ सिटबाट झेर ३२ सिटमा आएर पनि तीन नम्बरको पार्टी भयौं। भर्खरैको राष्ट्रियसभाको चुनावमा प्रदेश १ मा हामी हार्‍यौं। कांग्रेसले जित्यो। विगतमा पनि त्यस्ता घटनाहरू छन्। गठबन्धनमा इमान्दारीताको कमी देखियो। अर्को हामीसँग संसदीय राजनीतिको अनुभव थिएन। यस कुरामा एमाले अनुभवी देखियो। अब त समृद्धि, समाजिक न्याय र सुशासन दिइएन भने कोही पनि टिक्नेवाला छैनन्। 

माओवादीले अब आफ्नै बलमा चुनाव लड्छ त ?

अब आफ्नै खुट्टामा उभिएर चुनाव लड्ने गरी किन तयारी नगर्ने ? भन्ने ठाउँमा पुगेका छौं। चुनावपछि मात्रै गठबन्धन गर्छौं। २०७४ सालको चुनावमा नेकपा बन्दा पनि सबै ठाउँमा उम्मेदवार उठाए नौ। २०७९ मा गठबन्धन गर्दा जित्ने ठाउँहरू पनि छोड्नुपर्‍यो। त्यसैले हामी कमजोर भयौं भन्ने परेको छ। अब माओवादीले एक्लै चुनावमा प्रतिस्पर्धा गर्छ। चुनावपछि एजेन्डाका आधार मिल्नेहरूसँग मात्रै माओवादीले गठबन्धन गर्छ।

पार्टी भ्रष्टीकरणतर्फ गयो। अनि बिचौलिया हावी भयो भन्ने छ नि ? 

त्याग, बलिदानको कीर्तिमानी कायम गरेर हामी आएका थियौं। वास्तवमा हामीले निरन्तर सांस्कृति अभियान चलाइरहनु पर्ने थियो। हाम्रो यहाँनिर त्रुटि भयो। अरू सुधार गर्छौं। 

यसले के असर पर्‍यो ?
पार्टीभित्रै वर्ग देखियो। इमान्दार माओवादी र खाओवादी सँगसँगै भयो। यसलाई प्रयोग गरेर वर्ग स्वार्थ पुरा गर्ने प्रवृत्ति देखियो। यसले पनि माओवादी यति कमजोर भयो। जवाफदेहिता, उत्तरदायित्व, परदर्शिता पार्टीलाई चाहिन्छ। यो भने पार्टी निर्माणको मुख्य आधार हो। गल्ती गरेको छ भने जनतामा गएर स्वीकार गर्ने, फेरि जनसेवकको रूपमा काम गर्ने बहस चलेको छ।

अब नेताहरू सच्चिन्छन् त ?

अब माओवादी सच्चिने या सक्किने बहसकोबीचबाट अगाडि बढेको छ। पार्टीभित्र पनि आचारसंहितादेखि लिएर सबै पक्षलाई व्यवस्थित गर्नु छ। पार्टी बाहिर राज्यको कोणबाट भ्रष्टाचारविरुद्धका नयाँ बिलहरू चाहिएको छ। त्यसलाई सफल बनाउन अब स्वच्छ पार्टी, जवाफदेही पार्टी नबनाइन हुँदैन। त्यो नेतृत्वबाटै सुरु हुन्छ। 

प्रस्तुति : राजकरण महतो


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.