‘ट्याक्सी वे’ विस्तारमा त्रिभुवन विमानस्थल बन्द होला ?

‘ट्याक्सी वे’ विस्तारमा त्रिभुवन विमानस्थल बन्द होला ?
सांकेतिक तस्बिर।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ५ दिनसम्म बन्द गर्नुपर्ने भनिएको छ।

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे (धावनमार्ग) को दुवै बिन्दुलाई छुने प्यारालल् ट्याक्सी वे विस्तारको काम भइरहेको छ। ट्याक्सी वे विस्तारको क्रममा आगामी कात्तिक–मंसिरमा (सन् २०२४ को नोभेम्बरतिर) विमानस्थल बन्द गर्नुपर्ने बताइएको छ। लगातार नभई पटक–पटक गरेर ५ दिनसम्म विमानस्थल बन्द गर्नुपर्ने भनिएको छ। 

रनवेमा ट्याक्सी वे लगेर जोड्नुपर्ने भएकाले विमानस्थल बन्द पनि गर्नुपर्ने विमानस्थल विस्तार आयोजनाका प्रमुख दीपेन्द्र श्रेष्ठ बताउँछन्। ‘ट्याक्सी वे जोड्ने ठाउँमा ३–४ मिटर गहिरो खन्नुपर्ने हुन्छ। खनेर लेयर बाइ लियर नयाँ फिलिङ गर्नुपर्छ। यसका लागि विमानस्थल बन्द गर्नुपर्ने हुन्छ,’ श्रेष्ठ बताउँछन्। त्रिभुवन विमानस्थल अहिले २१ घण्टा  सञ्चालनमा छ। ८ देखि १० घण्टासम्म लाग्ने कामलाई ३ घण्टामा सम्पन्न गर्न असम्भव भएकाले विमानस्थल नै बन्द गर्ने कि भन्ने कुरा भएको प्रमुख श्रेष्ठको भनाइ छ। अहिले यसबारेमा अध्ययन भइरहेको उनले बताए।

खन्ने क्रममा अन्य भौगोलिक जटिलता आउन सक्ने हुँदा विमानस्थल बन्द गर्नुपर्ने आवश्यकता हुन सक्ने उनको भनाइ हो। यस्तो अवस्थामा त्यसलाई व्यवस्थापन गर्नका लागि ८ देखि १० घण्टाको समयले पनि पुग्दैन भन्दै श्रेष्ठले विषम परिस्थिति देखिए बन्द गर्नुपर्न सक्ने भनिएको बताए। सन् २०२४ को नोभेम्बरदेखि वा सन् २०२५ को जनवरीदेखि बन्द हुन सक्ने बताइएको छ। २ देखि ३ महिनाको अवधिमा ५ दिन जति बन्द हुन सक्ने विमानस्थलले जनाएको छ। विमानस्थल बन्द गर्नुपर्ने अवस्था आए गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुचारु गराउने प्रारम्भिक योजना बनाइएको छ। आन्तरिक उडान काठमाडौंबाट गराएर बाह्य उडान पोखरा र भैरहवाबाट गर्न सक्ने योजना छ।

यसै सम्बन्धमा आयोजनाले आन्तरिक तथा बाह्य वायुसेवा प्रदायक कम्पनीहरूसँग छलफल पनि गरेको छ। अन्तर्राष्ट्रिय उडानका सम्बन्धमा करिब ६ महिनाअघि नै विमानस्थल बन्द गर्ने सूचना दिए व्यवस्थापन गर्ने कम्पनीले भनेको श्रेष्ठले जानकारी दिए। 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मापदण्डअनुसार ट्याक्सी वे विस्तारको काम भइरहेको छ। २०२६ सम्म सक्ने गरी तीन वर्षका लागि गान्सु मेकानाइज्ड चिनियाँ कम्पनीलाई ट्याक्सी वे विस्तारको ठेक्का दिइएको हो।  एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा ट्याक्सी वे विस्तारको काम भइरहेको छ। प्यारालल् ट्याक्सी वे नहुनाले सबै जहाज रनवेबाट टेक अफ गर्दै आइरहेका छन्। यो समयमा अरू जहाज उडान अवतरण गर्न पाउँदैनन्। प्यारालल् ट्याक्सी वे हुनेबित्तिकै जहाजहरू यसबाट नै उडानका लागि क्यूमा जान सक्छन्। यो हुनेबित्तिकै रनवेको क्षमता करिब २५ प्रतिशतले बढ्ने प्रमुख श्रेष्ठले भनाइ छ। बढ्दो हवाई यात्रु धान्नका लागि नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवनको पनि आवश्यकता छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र बाह्य गरी सरदर साढे ३ सय उडान हुने गरेको छ। विमानस्थलले करिब २३ हजार यात्रुलाई दैनिक सेवा दिइरहेको छ। वार्षिक यात्रुको चहलपहल करिब ७५ लाख छ। 

नेपालमा आगामी २० वर्षमा हवाई यातायातको वार्षिक स्थिर वृद्धि (३–५ प्रतिशतसम्मको) हुने अनुमान छ। तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवस्थिति काठमाडौं सहरको ज्यादै नजिक रहेकाले यसको सीमा क्षेत्रभन्दा थप विस्तार गर्ने अवस्था छैन। बढ्दो मागलाई विमानस्थलको हालको सीमा क्षेत्रभित्रै उपलब्ध क्षेत्रफलको प्रभावकारी उपयोग गरेर सम्बोधन गर्नुपर्ने देखिन्छ। यसैका लागि प्राधिकरणले एडीबीको सहयोगमा सन् २०१०–२०२८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार सुधारका लागि गुरुयोजना तयार गरेको छ। विमानस्थल विस्तारका लागि १ सय ४० रोपनी जग्गा अधिग्रहण गरिएको बताइएको छ। 

आयोजना क्षेत्रमा ट्याक्सी वेको उत्तरी भागलाई विस्तार गर्ने, विमानस्थलमा बढी विमानहरू राख्न यात्रु चढाउन÷ओराल्न र सामान राख्न÷झिक्नका लागि विमान रोक्ने क्षेत्र (अप्रोन एरिया) विस्तार गर्ने, ह्यांगर थप गर्ने र धावन मार्गको दक्षिणी भागमा तीन सय मिटर धावन मार्ग विस्तार गर्ने रहेका छन्। धावन मार्ग (रनवे) विस्तारको काम भइसकेको छ। 

धावन मार्गको दक्षिणतिरको अन्तिममा ट्याक्सी वे विस्तार गर्ने, जहाज पार्किङस्थल (ह्यांगर) लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वी भागमा स्थानान्तरण गर्ने र आन्तरिक विमानस्थलमा यात्रु चढाउन÷ओराल्न र सामान राख्न÷झिक्नका लागि विमान रोक्ने क्षेत्र (अप्रोन एरिया) निर्माण गर्ने लगायत गुरुयोजनाअन्तर्गत सन् २०२८ को अनुमानित माग धान्ने गरी हवाई उड्डयन सुविधाको थप विकासको योजना गरिएको छ। ट्याक्सी वे र ह्यांगर एरियाको लगानी भने एडीबीको ऋणमा भइरहेको छ। करिब ६५ मिलियन अमेरिकी डलरमा आयोजना निर्माण भइरहेको जानकारी दिइएको छ। 

धावनमार्गको उत्तरपश्चिमपट्टि अन्तर्राष्ट्रिय एप्रोन (पार्किङ) विस्तारको काम भइरहेको छ। पार्किङ बनिसकेपछि थप १८ अन्तर्राष्ट्रिय विमान पार्किङ गर्न सकिनेछ। अहिले ११ विमान पार्किङ हुँदै आइरहेको छ। चाइना नेसनल एरो टेक्नोलोजी इन्जिनियरिङले सन् २०२० मा यो आयोजनाको ठेक्का पाएको थियो। कोभिडका कारण काम सुरु नभएको एप्रोन विस्तारको काम आगामी दुई वर्षभित्र सकिनेछ। यो आयोजना नेपाल सरकार र प्राधिकरणको आन्तरिक स्रोतबाट परिचालन भइरहेको छ। आयोजनाको लागत करिब ७ अर्ब रुपैयाँ छ। 

ह्यांगर एरिया (जहाजको मर्मत गर्ने ठाउँ) विकासको काम पनि भइरहेको छ। धावनमार्गदेखि पूर्वतिर यसको काम भइरहेको छ। केडिएन र सीसीईसीसी जेभी (सहकार्य) चाइनिज कम्पनीले ठेक्का पाएको छ। यो आयोजना पनि सन् २०२६ सम्म सक्नु पर्नेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.