साउदीमा मनाइयो ७४ औं प्रजातन्त्र दिवस
साउदी : साउदीको रियाद सहरमा ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ। साउदीस्थित नेपाली राजदूतावास रियादको आयोजनामा प्रजातन्त्र दिवस मनाइएको हो । कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ,राजदूत नवराज सुवेदी तथा वाणिज्य दूत शत्रुधन पोखरेलको उपस्थिति रहेको थियो।
कार्यक्रममा राष्ट्रिय गानासँगै प्रजातन्त्र प्राप्तिको लागि बलिदान दिने सम्पूर्ण ज्ञात-अज्ञात सहिदप्रति सम्मान र सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो । कार्यक्रममा नियोग उपप्रमुख डम्बरू बल्लभ पौडेल नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त प्रजातन्त्रको उपलब्धीहरूलाई संस्थागत गर्ने दिशामा विसं २०७२ सालमा नयाँ संविधान जारी भएको बताए।
राजदूत नवराज सुवेदीले प्रजातन्त्रले नेपाली जीवनको स्वतन्त्रतामा समेत परिवर्तन ल्याएको जिकिर गरे। उनले साथै मुलुकमा लामो समयदेखि रहेको राजनीतिक संक्रमणको अन्त्य भइ अहिले मुलुक आर्थिक विकास र उन्नतितर्फ उन्मुख हुँदै गएको बताए।
जेद्दा वाणिज्यदूत शत्रुधन पोखरेलले वैदेशिक रोजगारीमा रहेका हरेक नेपालीको श्रमसँगै हकहितका लागि काम गरिनुको साथै विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धार गरि राहत सहयोग पुर्याउन सके प्रजातन्त्रको भएको थप महसुस हुने बताए ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा विद्युत उत्पादन उद्योगधन्दा र व्यापारमा लगानी गर्न र पर्यटन प्रवर्द्धनमा सरिक भइ नेपाल-साउदीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै नेपालको आर्थिक विकासमा सहयोग पुर्याउन आग्रह गरे ।
कार्यक्रममा साउदीमा अलपत्र परेर बसेका नेपालीहरूको उद्धार स्वरूप हवाई टिकट व्यवस्था गर्ने विभिन्न संघ संस्था,व्यक्ति,व्यवसायीलाई कदरसहित सम्मान गरिएको थियो ।