आगामी तीन दिन देशका यी भागमा वर्षा र हिमपात हुने
काठमाडौं : आगामी तीन दिन देशका पहाड र तराईका केही भागमा सामान्य वर्षा र हिमाली भागमा हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ।
हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। तराइका थोरै स्थानमा हल्का हुस्सु लागिरहेको छ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको साथै देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले बुलेटिनमा सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको उल्लेख गरेको छ।
त्यस्तै आज राती पनि देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।
बुधबार मधेश प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम ,कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
त्यस्तै बिहीबार पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।