तेक्वान्दो खेलाडी छनोट
काठमाडौं : आगामी मार्चमा चीनको ताइयाङ सहरमा हुने एसियाली छनोट प्रतियोगितामा सहभागी हुने नेपालका तेक्वान्दो खेलाडीको छनोट सम्पन्न भएको छ। सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीमा सम्पन्न प्रतियोगिताबाट दुई पुरुष र दुई महिला खेलाडी छनोट गरिएको हो। यस्तै पारालिम्पिकमा भने दुई पुरुष र एक महिला खेलाडी छनोट हुन सफल भए।
मार्च १५ देखि १७ तारिखसम्म चीनमा हुने प्रतियोगिता यही वर्ष फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिक तथा पारालिम्पिकको छनोट खेल रहेको नेपाल तेक्वान्दो संघले जनाएको छ। प्रतियोगितामा ग्योरोगीको महिला ४९ केजी तौल समूहमुनि अञ्जली तामाङ र ६७ केजीमुनि इन्दिरा बस्नेत छनोट भए। गत असोजमा चीनमा सम्पन्न १९औं एसियाली खेलकुदमा सहभागी अञ्जली र इन्दिरा नेपाल पुलिस क्लबका खेलाडी हुन्।
यसैगरी पुरुष ५८ केजीमुनि राहुल कुमाल र ६८ केजीमुनि नेपाल वीरबहादुर महरा छनोट भए। राहुल त्रिभुवन आर्मी र महरा नेपाल पुलिस क्लबका खेलाडी हुन्। दुवै खेलाडी १९औं एसियाली खेलकुदमा सहभागी भएका थिए। छनोट प्रतियोगितामा महिला तथा पुरुष गरी ३८ खेलाडी सहभागी रहेको संघले जनाएको छ।
यस्तै पारा तेक्वान्दोअन्तर्गत के–४४ विधाको महिला ५७ केजीमुनिको तौल समूहमा पलेशा गोवद्र्धन, पुरुष ६३ केजीमुनि भरतसिंह महता र पुरुषकै ५८ केजीमा अमिर भ्लोन छनोट भएको अन्तर्राष्ट्रिय प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिए। सन् २०२० को ओलम्पियन पलेसाले चीनमा भएको एसियन पारा गेम्समा ऐतिहासिक कांस्य पदक जितेकी थिइन्।