सम्पन्न योजनाका भएन भुक्तानी
अर्घाखाँची : अर्थ मन्त्रालयबाट बजेट निकासी नहुँदा सम्पन्न भएका योजनाको रकम भुक्तानी हुन सकेको छैन। सन्धिखर्क नगरपालिकामा भएका विकास निर्माणका ठेक्का सम्झौताभन्दा अघि नै सम्पन्न हुँदा पनि भुक्तानी नभएको हो।
सन्धिखर्क नगरपालिका वडा नम्बर ७ फज्र्यांग, ८ किमडाँडा र ११ डिभर्नाको स्वास्थ्यचौकी भवन निर्माणको काम सम्झौता मितिभन्दा पाँच महिनाअघि नै सम्पन्न भएका छन्। १५ महिनामा सम्पन्न गर्ने भनी सम्झौता भएकोमा १० महिनामै सम्पन्न भएका छन्। प्रतिभा-खनाल ब्रदर्स-सम्झना जेभीले तीन वडामा स्वास्थ्यचौकी भवन निर्माण २०८१ साल जेठ ७ गतेसम्ममा सम्पन्न गर्ने गरी गर्न सन्धिखर्क नगरपालिकामा सम्झौता गरेको थियो। स्वास्थ्यचौकी भवन निर्माण पाँच महिनाअघि नै सम्पन्न भइसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए।
तीन स्वास्थ्यचौकी भवन निर्माणका लागि ५ करोड ७६ लाख ३९ हजार रुपैयाँमा निर्माण व्यवसायीले सम्झौता गरेको र सम्झौताअनुसारको काम सम्पन्न गरेर भुक्तानीका लागि निवेदन पेस भइसकेको नगरपालिकाका योजना शाखा प्रमुख डिलकुमार केसीले जानकारी दिए। संघीय सरकारबाट चालु आर्थिक वर्षका लागि विशेष अनुदान शीर्षकमा विनियोजित बजेट अपर्याप्त रहेकाले निर्माण सम्पन्न गरेर राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा थप बजेट माग्दा पनि बजेट निकासा नभएकाले निर्माण व्यवसायीलाई रकम भुक्तानी गर्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत भुसालको भनाइ छ।
सन्धिखर्क नगरपालिकाकै चुत्राबेसी, भक्तिटोला, धरमपानी, अर्घामैदान सडक स्तरोन्नति २०८० साल माघ २६ गते सम्पन्न गर्ने गरी सम्झौता भएकोमा यो काम पनि झन्डै एक महिनाअघि पूरा भएको छ। यो सडक निर्माणका लागि रायमाझी-जयमाता-खनाल ब्रदर्स जेभीले २०८० माघ २६ सम्म काम सम्पन्न गर्ने गरी २०७८ फागुन ९ गते कार्य आदेश पाएको थियो। यो सडक निर्माणका लागि जेभीले ६ करोड, १९ लाख १७ हजार रुपैयाँमा सम्झौता गरेको थियो।
यस्तै, सन्धिखर्क—९ मा रहेको अर्घा भगवती आधारभूत विद्यालय भवन निर्माण पनि सम्झौताभन्दा दुई महिनाअघि सम्पन्न भएको छ। विद्यालय भवन निर्माण २०८० साल चैत ६ गतेसम्ममा सम्पन्न गर्ने गरी केसी, प्रतीक्षा सिर्जना जेभीले ३ करोड ९ लाख १४ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।
विकास निर्माणका कार्यलाई गुणस्तरीय बनाउन समयसमयमा अनुगमन, मूल्यांकन, ल्याब टेस्टलगायतका काम पनि नगरपालिकाका प्राविधिकको टोलीले गरेको थियो।