फास्टट्रयाकमा पुल र सुरुङको काम फटाफट
फास्टट्रयाकको एकतिहाइ काम सकियो, ३ वर्षपछि निजगढबाट १ घण्टामै काठमाडौं
मकवानपुर :
काठमाडौं तराई फास्टट्रयाकको काम १३ प्याकेजमा भइरहेको छ। प्याकेज नं. १, २, ३, ४, ५, ६, ७ र १० मा निर्माण कार्य द्रुतगतिमा भइरहेको छ। यी प्याकेजमा मकवानपुरको महादेवटारदेखि निजगढसम्मको ५० किलोमिटर खण्ड पर्छ। जसमा सडक, पुल र सुरुङमार्ग निर्माण भइरहेका छन्। बाँकी करिब २१ किमि खण्डको काम भने सुरु हुन सकेको छैन।
यो प्याकेजमा ८क र ८ख तथा ९क र ९ख हुन। जुन ललितपुरको डुकुछापदेखि महादेवटारसम्मको क्षेत्र हो। यो खण्डको काम भने अघि बढेको छैन। प्रतिस्पर्धामा रहेका निर्माण व्यवसायीले पाटन उच्च अदालतमा मुद्दा हाले। अदालतले तत्काल काम अघि नबढाउन आदेश दिएको छ। पुनः प्राविधि मूल्यांकन गर्नुपर्ने मागसहित निर्माण व्यवसायीले गत पुस ६ गते पाटन उच्च अदालतमा रिट हालेका थिए। पाटनले २४ गते स्टे अर्डर दियो। ८(ख) मा भने पहिलो प्रक्रिया रद्द गरी दोस्रोपल्ट प्राप्त आवेदनको मूल्यांकन भइरहेको छ।
प्याकेज नं. ११ को काम सुरु नै भएको छैन। ललितपुरको खोकनादेखि डुकुछापसम्म पर्ने यो खण्डको काम अघि बढ्न नसक्नुको कारण हुन, स्थानीय अवरोध, मुआब्जा विवाद र डिजाइन परिवर्तन। तराईबाट राजधानी आउने सबै सवारीका लागि खोकना अन्तिम बिन्दु रहे पनि यहाँबाट राजधानीको अन्यत्र जाने सवारी व्यवस्थापन गर्न वर्तमान अवस्थामा मुस्किल छ।
खोकनामा बाहिरी चक्रपथ बन्ने र फास्टट्रयाकबाट आएका सवारी सोही चक्रपथमा प्रवेश गर्ने भनिए पनि चक्रपथको काम सुरु भएको छैन। यो समस्याको विकल्प खोज्ने सम्बन्धमा अध्ययन भइरहेको छ। विस्तृत सम्भाव्यता अध्ययन कार्यको जिम्मा पुल्चोक इन्जिनियरिङ क्याम्पसको रिचर्ज एन्ड ट्रेनिङ एकाइले पाएको छ। सुरु बिन्दु निर्धारण, आवागमन व्यवस्थापन र जग्गा अधिग्रहणको काम सकेर यो खण्डको काम सुरु गर्ने तयारी नेपाली सेनाको छ।
नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन फास्टट्रयाकको करिब ३१ प्रतिशत काम सकिएको छ। चालु आर्थिक वर्ष २०८०÷८१ को माघ मसान्तसम्म आयोजनाको भौतिक प्रगति ३० दशमलव ९६ प्रतिशत र वित्तीय प्रगति ३१ दशमलव ५७ प्रतिशत छ। यसको अर्थ करिब ३१ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ भने ३१ प्रतिशत रकम खर्च भइसकेको छ।
चालु आर्थिक वर्षका लागि राखिएको लक्ष्यअनुसार काम भइरहेको छ। माघ मसान्तसम्म ५८ प्रतिशत काम भएको छ भने २८ प्रतिशतमात्र खर्च भएको छ।
धमाधम बन्दै छन् सुरुङ
फास्टट्रयाकका ६ स्थानमा सुरुङ बन्दै छन्। एक स्थानमा २ वटा अर्थात् कुल १२ वटा सुरुङ बन्ने छन्। निजगढबाट काठमाडौंतर्फ जाने र काठमाडौंबाट निजगढतर्फ जाने सवारीका लागि छुट्टाछुट्टै सुरुङ हुनेछन्। कुल ६ स्थानका सुरुङमध्ये महादेवटार, धेद्रे र लेनडाँडामा बन्ने ३ वटा सुरुङ दुईतिहाइ खनेर सकिएको छ।
३ स्थानमा ६ किलोमिटर ४ सय १५ मिटर सुरुङ बन्नुपर्नेमा हालसम्म ४ किलोमिटर ३ सय २५ मिटर सुरुङ खनिएको छ। नेपाली सेनाका अनुसार महादेवटार सुरुङ १ किलोमिटर ९ सय ४८ मिटर, धेद्रे सुरुङ १ किलोमिटर १ सय ७३ मिटर खनिएका छ भने लेनडाँडा सुरुङ खन्न २ सय २६ मिटरमात्र बाँकी छ।
पुलको काम कुन रफ्तारमा ?
काठमाडौं तराई फास्टट्रयाकमा बन्ने कुल ८९ पुलमध्ये ६७ वटा निर्माणको चरणमा छन्। प्याकेज १ देखि ७ सम्म अर्थात् महादेवटारदेखि निजगढसम्म बन्ने यी ६७ पुलमा कुल २ हजार ८ सय २ फाउन्डेसन पाइल रहनेछन्। पाइलहरू पुलको पिलरलाई जमिनमा अडाउन जमिनमुनि गाडिने खुट्टा हुन्। यीमध्ये १ हजार ६ सय ६५ पाइल निर्माण भइसकेका छन्। पुल निर्माण कार्यले तीव्रता पाएको राजदमार क्षेत्रमा देखिन्छ। यो इलाकामा ५ वटा पुल बनिसकेका छन्। ८९ मध्ये २२ पुल निर्माण कार्य सुरु हुनै बाँकी छन। यी खोकना–महादेवटार खण्डमा पर्नेछन्।
जग्गा अधिग्रहण र वृक्षारोपण
आयोजना निर्माणका लागि अधिग्रहण गर्नुपर्ने कुल १५ हजार ४ सय १६ रोपनी जग्गामध्ये सरकारी जग्गा १० हजार २ सय ४४ र व्यक्तिगत जग्गा ५ हजार १ सय ७२ रोपनी रहेको छ। अधिग्रहणको सूचनामा प्रकाशित व्यक्तिगत जग्गा ५ हजार १ सय ७२ रोपनीमध्ये हालसम्म ४ हजार ७ सय ७७ रोपनी जग्गा अधिग्रहण भइसकेको छ भने ३ सय ९५ रोपनी जग्गा अधिग्रहण हुन बाँकी रहेको नेपाली सेनाले जनाएको छ।
खोकना–बुङ्गमती क्षेत्रमा २ सय १४ रोपनी जग्गाको मूल्य निर्धारण भई मुआब्जा वितरण हुन बाँकी छ। १ सय ६५ रोपनी जग्गाको मूल्य निर्धारण हुन सकेको छैन। यो क्षेत्रमा कुल ३ सय ७९ रोपनी जग्गा अधिग्रहण हुन बाँकी छ।
आयोजनाका लागि हालसम्म कटान गरिएका रूखको बदलामा १ अनुपात २५ का दरले वृक्षरोपण गरिएको सेनाले जनाएको छ। आयोजनाका लागि कुल ७ लाख ४ हजार ४ सय ४० बिरुवा रोप्नुपर्नेमा हालसम्म आवश्यकताभन्दा बढी अर्थात् ७ लाख ५ हजार ५ सय ५२ बिरुवा रोप्ने कार्य सकिएको छ। यी बिरुवा बारा र रौतहटका विभिन्न १९ स्थानमा वनले उपलब्ध गराएको जग्गामा रोपिएका छन्। कानुनअनुसार सबै बिरुवा आयोजनाले ५ वर्षसम्म रेखदेख गर्नुपर्ने हुन्छ। नेपाली सेनाका प्राविधिक सहायक रथी तथा काठमाडौं तराई फास्टट्रयाक आयोजना प्रमुख विकास पोखरेल मुआब्जा वितरण तथा जग्गा अधिग्रहण हुन बाँकी खोकना क्षेत्र र अदालतमा मुद्दा परेका ठेक्का प्रक्रियामा बाहेक कामको प्रगति सन्तोषजनक रहेको दाबी गर्छन्।
‘ठेक्का लागिसकेका काममा प्रगति राम्रो छ। केही खरिद प्रक्रिया टुंगिन बाँकी छन्। मुद्दा मामिलामा पनि गएका छन्,’ पोखरेल भन्छन्, ‘तर हामीले तोकिएको समय ०८३ चैतसम्ममा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य राखेका छौं।’ उनले राष्ट्रिय गौरवको आयोजनामा आइपर्ने कानुनी, प्रशासनिक तथा अरू कठिनाइलाई प्राथमिकताका साथ चाँडो टुंग्याउन सक्नुपर्नेमा जोड दिए। आयोजनाको अप्रेसन तथा कार्यान्वयन महाशाखा प्रमुख इन्दिवर गुरुङका अनुसार अहिले आयोजनाको करिब ९५ प्रतिशत प्याकेज कार्यान्वयन तथा खरिद प्रक्रियामा गइसकेको छ।
मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णयअनुसार राष्ट्रिय गौरव एवं रणनीतिक महत्व बोकेको यो आयोजनाको निर्माण व्यवस्थापनको जिम्मेवारी सेनाले पाएको थियो। आयोजनाको ०७४ जेठ १४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको निजगढमा शिलान्यास गरेका थिए। साउन २७ गते सडक विभागबाट नेपाली सेनालाई आयोजना हस्तान्तरण भएको थियो। सोही वर्ष मंसिरदेखि नेपाली सेनाको जनशक्ति तथा राष्ट्रियस्तरका निर्माण व्यवसायीमार्फत द्रुतमार्गको ट्रयाक निर्माणको काम थालिएको हो।
गत वैशाखमा आयोजना सम्पन्न हुने समयावधि बढाएर २०८३ चैत मसान्तसम्म पुर्याइएको थियो। त्यस्तै, गत साउनमा आयोजनाको परिमार्जित विस्तृत आयोजना प्रतिवेदन स्वीकृत भएको थियो।
नेपाल सरकार मन्त्रिपरिषद्बाट २०८० साउन ३० गते स्वीकृत भएको आयोजनाको परिमार्जित विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बमोजिम आयोजनाको कुल लम्बाइ ७० दशमलव ९७७ किलोमिटर छ। यो आयोजनाको प्रस्थान विन्दु खोकना हो भने अन्तिम विन्दु निजगढ हो। विसं २०७८ वैशाख ३१ गते प्याकेज नम्बर १ र २ को निर्माण व्यवसायीसँग पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट सम्झौता भई जेठ ३१ गतेदेखि निर्माण सुरु भएको हो।
घट्यो लागत
विस्तृत अध्ययन प्रतिवेदनअनुसार काठमाडौं तराई फास्टट्रयाकको लागत घटेको छ। नयाँ अनुमानित लागत २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ छ। जबकि २०७६ को डीपीआरले फास्टट्रयाक बनाउन २ खर्ब १३ अर्ब ९५ करोड रुपैयाँ लाग्ने अनुमान गरेको थियो।
हरेक पुल र सुरुङ एकतर्फी
फास्टट्रयाककाो ६ स्थानमा कुल १२ सुरुङ बन्नेछन्। यी सुरुङमा एकतर्फी सवारी सञ्चालन हुनेछन्। अर्थात् काठमाडौंदेखि निजगढ जाने र निजगढबाट काठमाडौं जान सुरुङ फरक रहनेछ। यसो हुँदा दुर्घटनाको सम्भावना अन्त्य हुनेछ। विशेष प्रकृतिका पुलहरू पनि एकतर्फी सवारी गुड्ने गरी डिजाइन गरिएको छ।
स्लोप प्रोटेक्सन र बायोइन्जिनियरिङ
फास्टट्रयाक बनाउन डाँडा काट्न सकिने स्थानमा डाँडै काटिएको छ। डाँडा काटेपछि नांगो नराख्न वा पहिरोे रोकथाम गर्न सुरुमा बीपी राजमार्गमा झैं पहिरो रोकथाम गर्ने उपाय अबलम्बन गरिनेछ। पछि हरियाली कायम गर्ने र माटोलाई बग्न नदिन भेटिबरलगायत बनस्पति रोप्ने तयारी गरिएको छ।
सिग्नेचर पुल
बकैया नदीको एउटा स्थानमा एउटा फरक डिजाइनको पुल बन्नेछ। मात्र दुइटा पिलरमा उभिने पुलको स्पानलाई पिलरमा बाँधिएको केबलले तानेर अड्याउनेछन्। मकवानपुरमा पर्ने यो पुल चिसापानीस्थित कर्णाली नदीको पुल जस्तै तर दुइटा पिलरसहितको हुनेछ। यो पुलको लम्बाइ ४ सय २५ मिटर हुनेछ।
धरहराभन्दा अग्ला पुल
देशकै सबैभन्दा अग्लो पक्की पुल फास्टट्रयाकमै बन्ने भएको छ। धेद्रे र लेनडाँडा सुरुङको बीचमा पर्ने जितपुर खोला पुलमा ७२ मिटर अग्लो पिलरमाथि पल बन्नेछ। ७२ मिटर पिलरभन्दा मुनि जमिनमा ९ मिटर रहने भएकाले यो पुललाई धरहराभन्दा अग्लो मानिएको छ।
एनिमल पास, सर्भिस रोड र आवतजावत गर्न अन्डरपास
निजगढ नजिकै जंगलमा वन्यजन्तुको आवागमनमा बाधा नपुगोस् भन्ने उद्देश्यले एनिमल पास बन्नेछन्। १ सय ३० मिटर लामो यो अन्डरपासबाट हात्तीलगायत वन्यजन्तु बिना अवरोध वारपार गर्न सक्नेछन्।
फास्टट्रयाक निर्माण हुँदै गर्दा काठमाडौं तराई जोड्नेमात्र प्राथमिक लक्ष्य पूरा गर्ने सोच बनेको देखिँदैन। गाउँ तथा आवासीय क्षेत्रमा सडकको दुवैपट्टि सर्भिस रोड बनाइँदै छ। यो सडकमार्फत स्थानीयले एकस्थानबाट अर्को स्थान यात्रा गर्न सक्छन्। यसबाहेक स्थानीयलाई बाधा नपरोस् भनेर ठाउँ–ठाउँमा भेइकल पास र पेडेस्ट्रियन पास बनाइएको छ। यी सबै पास प्रयोग गर्दा फास्टट्रयाकको सवारी मुभमेन्टमाथि असर पर्नेछैन।
बुदुनेमा इन्टरचेन्ज, हेटौंडाबाट काठमाडौं जान निजगढ पुग्नुनपर्ने
काठमाडौं तराई फास्टट्रयाक भनिए पनि यो सडकबाट हेटौंडा र पश्चिमबाट काठमाडौं जाने÷फर्कने पनि लाभ लिन सक्नेछन्। यो सुविधाका लागि मकवानपुरको बुदुनेमा एउटा फ्लाइओभर सहितको इन्टरचेन्ज निर्माण हुनेछ। जसमार्फत हेटौंडाबाट काठमाडौं जान÷फर्कन तथा निजगढबाट हेटौंडा जान÷फर्कन सकिनेछ। इन्टरचेन्जबाट डेढ किलोमिटर दूरीमा मदन–भण्डारी राजमार्ग भेट्न सकिन्छ।
निजगढ र खोकनामा बन्ने इन्टरचेन्जमा पनि राजमार्गबाट द्रुतमार्गको यात्रा तय गर्न फ्लाइओभर वा र्याम्प निर्माण गरिनेछ। यी स्थानमा लेन बदलेर आफ्नो अघिल्लो मार्ग पहिल्याउनु पर्नेछ।
दुइटा रेस्ट सेन्टर, पेट्रोल पम्प, चार्जिङ स्टेसन क्याफे रहने
मकवानपुरको बुदुनेमा २ वटा रेस्ट सेन्टर रहने छन्। काठमाडौंबाट निजगढ÷हेटौंडा जानेका लागि र निजगढ÷हेटौंडाबाट काठमाडौं जानेका लागि ३ सय मिटरको अन्तरमा रेस्ट सेन्टर निर्माण हुनेछ। यस स्थानमा पेट्रोल पम्प, चार्जिङ स्टेसन, शौचालय क्याफेटेरिया रहनेछ भने स्थानीय उत्पादन पनि खरिद गर्न सकिनेछ।
५ घण्टाको बाटो १ घन्टामै
फास्टट्रयाक अघिकतम प्रतिघण्टा १२० किमिको गतिमा सवारी दौडाउन सकिने गरी डिजाइन गरिएको छ। रेस्ट सेन्टरमा केहीबेर रोकिएर अघि बढ्दा पनि ७० किमि दूरी अधिकतम १ घण्टामा तय गर्न सकिनेछ। अहिले निजगढबाट काठमाडौं पुग्न ५ घन्टाभन्दा बढी समय लाग्ने गरेको छ।
दसैंअघि ३ स्थानकै सुरुङ छिचोलिने
काठमाडौं–तराई फास्टट्रयाकको निर्माणाधीन ३ स्थानका सुरूङ आगामी दसैंसम्म छिचोलिने भएका छन्। हालसम्म दुईतिहाइभन्दा बढी खनिएका यी सुरुङ अबको ८ महिनाभित्र ‘ब्रेक थ्रु’ भइसक्नेछन्।
सबैभन्दा बढी काम भएको लेनडाँडाको सुरुङ आगामी चैतमा ब्रेकथ्रु हुनेछ भने धेद्रेको जेठमा र महादेवटारको दसैंअघि ब्रेक थ्रु गरिसक्ने तयारी छ।
फास्ट ट्रयाकमा गाडी दौडाउन कति तिर्नुपर्छ ?
हाल कुनै पनि सडकमा यात्रा गर्ने सवारीले सडक दस्तुर वा टोल बुझाउनु पर्दैन। काठमाडौं तराई फास्टट्रयाकमा चल्ने गाडीले भने न्यूनतम ३ सयदेखि २६ सय रुपैयाँसम्म तिर्नुपर्ने छ। यसरी रकम खोकना, बुदुने वा निजगढमा तिनुपर्ने वा तिरेको विवरण देखाउनुपर्नेछ।
प्रस्तावित टोलदरअनुसार निजगढ–काठमाडौं यात्रा गर्ने कार, सानो बस वा सानो ट्रकले ९ सय रुपैयाँ टोल बुझाउनुपर्नेछ। यसैगरी यो रुटमा यात्रा गर्ने मध्यम आकारका बस वा ट्रकले १९ सय र ठूला बस÷ट्रकले २९ सय रुपैयाँ तिनुपर्नेछ।
यसैगरी हेटौंडा–काठमाडौं यात्रा गर्ने सवारीले क्रमशः ६ सय, १३ सय र १८ सय तिर्नुपर्ने छ। निजगढबाट हेटौंडा जानका निम्ति फास्टट्रयाक प्रयोग गर्ने सवारीले आकारअनुसार क्रमशः २ सय, ६ सय र ८ सय तिर्नुपर्नेछ। यो मार्गमा दुई वा तीनपांग्रे सवारीलाई भने प्रवेश दिइने छैन।
काठमाडौं–तराई फास्टट्रयाक
- कुल लम्बाइः ७०.९७७ किमि
- प्रस्थान बिन्दुः खोकना, ललितपुर
- अन्तिम बिन्दुः निजगढ, बारा
- सडकको चौडाइः
- पहाडी भूभागः २५ मिटर
- तराई भूभागः २७ मिटर
- आयोजनाको खण्डः
- ललितपुरः ९ किमि
- काठमाडौंः ४.६ किमि
- मकवानपुरः ४८.७७ किमि
- बाराः ७.६ किमि
- सुरुङः ६ स्थान
- सुरुङको लम्बाइः १०.०५५ किमि
- लेनडाँडा सुरुङः १४३० मिटर
- धेद्रे सुरुङः १६५० मिटर
- महादेवटार सुरुङः ३३५५ मिटर
- चन्द्रामभिर सुरुङः २२५० मिटर
- सिसौटार सुरुङः ३९० मिटर
- देवीचौर सुरुङः १००० मिटर
- पुलको संख्याः ८९ वटा
- पुलको कुल लम्बाइः १२.८८५ किमि
- इन्टर नचेन्जको संख्याः
- ३ (खोकना, निजगढ र बुदुने)
- विश्रामस्थलको संख्याः २ (बुदुने)
- टोल संकलनस्थलः ३
- यात्रा समयः १ घन्टा
- डिजाइन स्पिडः प्रतिकिमि १२० किमि
- लागतः २ खर्ब १३ अर्ब ९३ करोड रुपैयाँ