हत्याका दुई जना अभियुक्त २१ वर्षपछि पक्राउ
विराटनगर : भोजपुरमा भएको हत्याको घटनामा संलग्न २ जना अभियुक्त २१ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा टेम्केमैयुङ गाउँपालिका-४ (साविकको नागी गाविस-१०) का ५४ वर्षीय प्रश्नजंग राई र ५८ वर्षीय सौरज भनिने सौराज राई रहेका छन्। भोजपुर प्रहरी प्रमुख डीएसपी सुदीपराज पाठकका अनुसार विशेष सूचनाका आधारमा दुवै जनालाई सोमबार राति पक्राउ गरिएको हो।
प्रश्नजंगलाई भोजपुर नगरपालिका-७ र सौराजलाई टेम्केमैयुङ-४ बाट पक्राउ गरिएको जानकारी उनले दिए। भोजपुरको टेम्केमैयुङ-४ का भीमबहादुर राईको घरमा बस्दै आएका ४० वर्षीय भक्तबहादुर राईको २०५९ माघ २४ गते राति हत्या भएको थियो।
प्रश्नजंगसमेतको समूहले काठको चिर्पट र घरेलु हतियार प्रहार गरेर भक्तबहादुरको हत्या गरेको प्रहरीको भनाइ छ। घटनामा संलग्नहरू हालसम्म पक्राउ परेका थिएनन्। डीएसपी पाठकले अपराधका पुराना फायल खोलेर अनुसन्धान गर्दै जाँदा घटना भएको २१ वर्षपछि हत्यामा संलग्नहरू पक्राउ परेको जानकारी दिए।
उनका अनुसार भक्तबहादुरको हत्यापछि घटनामा संलग्नहरू वारदातस्थलबाट तत्कालै फरार भएको पाइएको छ। पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन मंगलबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको पाठकले बताए। घटनामा संलग्न अन्य प्रतिवादीहरूको खोजी जारी राखिएको उनको भनाइ छ।