अरब भूमिमा भव्य हिन्दु मन्दिर
अबुधाबी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत साता संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबुधाबीमा उद्घाटन गरेको भव्य हिन्दु मन्दिर (बीएपीएस)ले यतिखेर अरब भूमिको ध्यान खिचेको छ। प्रतिष्ठित मन्दिर २७ एकड जग्गामा उभिएको छ।
अबुधाबीको मुख्य सहरबाट झन्डै ५० किलोमिटरको दूरीमा रहेको मन्दिरको निर्माण बोचासनवासी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था अर्थात् बीएपीएसले गरेको हो। मन्दिर बनाउन जग्गा भने यूएई सरकारले निःशुल्क प्रदान गरेको थियो। पिरामिड शैलीमा निर्माण गरिएको यो मन्दिरको उचाइ १ सय ८ फिट, लम्बाइ २ सय ६२ फिट र चौडाइ १ सय ८० फिट छ। यूएईका ७ राज्यको प्रतीकस्वरूप ७ शिखर र ४ सय १० स्तम्भ बनाइएको छ। मन्दिरको संरचना साढे १३ एकड क्षेत्रफलमा निर्माण गरिएको छ।
मन्दिरको बाहिरी तहमा गुलाबी राजस्थान मार्बल प्रयोग गरिएको छ भने भित्री तहमा सेतो इटालियन मार्बलको प्रयोग गरिएको छ। मन्दिर निर्माण खर्च करिब ४ सय मिलियन दिर्हाम (१४ अर्ब रुपैयाँ) रहेको बताइएको छ।
मन्दिरको भव्य पूजाआजासहित उद्घाटन गरिए पनि आगामी मार्च १ देखिमात्र सबैका लागि मन्दिर खुल्ला गरिने बताइएको छ। मन्दिर उद्घाटन समारोहमा सहभागी हुन संसारभरबाट हिन्दु धर्मगुरुहरू भेला भएका थिए।
वसन्त पञ्चमीको तिथिमा शुभसाइत हेरेर भारतीय प्रधानमन्त्री मोदीले बेलुकी ६ बजे मन्दिर उद्घाटन गरेका हुन्। तीन हप्तापहिले अयोध्यामा राम मन्दिर उद्घाटन गरेका मोदीले अरब भूमिमा अर्को मन्दिर उद्घाटन गर्नुलाई मोदीको धार्मिक राजनीति र आर्थिक रणनीतिसँग जोडेर हेर्न थालिएको छ।
भारतमै जन्मेका करिब दुई करोड प्रवासी भारतीयहरू (एनआरआई) विभिन्न देशहरूमा रहेको अनुमान छ। थप त्यत्तिकै संख्यामा भारती मूलका नागरिकहरू विभिन्न देशहरूमा छरिएर रहेका छन्। एक करोडभन्दा बढी भारतीयहरू मध्यपूर्वका इस्लामिक देशहरूमा कार्यरत रहेको अनुमान छ। जसमध्ये पनि करिब ३५ लाख भारतीयहरू यूएईमा बसोबास गर्छन्। अनुपातको हिसाबले पनि करिब ८० लाख भारतीय हिन्दुहरू अरब मुलुकहरूमा रहेको तथ्यांकले देखाएको छ।
मध्यपूर्वका अन्य मुलुकहरूभन्दा यूएई विभिन्न किसिमले अब्बल मानिन्छ। खुल्ला बजार अर्थतन्त्र अँगालेको यूएईमा सबैभन्दा बढी भारतीयहरू व्यापार व्यवसायमा जमेका छन्। स्थानीय र अन्तर्राष्ट्रिय कम्पनीका माथिल्लो पदहरूमा भारतीय नै रहेका छन्। अरबी भाषापछि सबैभन्दा बढी बोलिने भाषा पनि हिन्दी छ।
अस्पतालका नर्सदेखि डाक्टरसम्म भारतीय छन्। शिक्षकदेखि वकिलसम्म भारतीय नागरिक। श्रमिकदेखि ठूलाठूला महल ठड्याउने इन्जिनियरसम्म भारतले उपलब्ध गराएको छ। रियल स्टेटका लगानीकर्तादेखि बनेको घर किन्ने पनि भारतीय। यूएईको रियल स्टेट बजारको ठूलो हिस्सा भारतीय नागरिकले ओगटेका छन्। यूएईको आर्थिक प्रगतिको फड्कोमा भारतीयहरूको योगदान अतुलनीय छ। त्यसो त यूएईलगायतका मध्यपूर्वी देशहरूमा खुलेका किराना पसल र सैलुनदेखि रियलस्टेट, कार्यालयका सहयोगीदेखि सीईओसम्म भारतीय छन्। जनस्तरदेखिको दर्बिलो सम्बन्धको उदाहरण योभन्दा अरू के नै चाहियो र ! भारतीयहरूले सन् २०२२ मा यूएईमा ४ बिलियन डलरको घरसम्पत्ति किनेका थिए। सन् २०१५ देखि सन् २०२२ को ७ वर्षको अवधिमा दुबईको घरजग्गामा ८४ बिलियन दिर्हाम लगानी भारतीयहरूको थियो।
सन् १९७० मा १८० मिलियन डलर रहेको यूएई र भारतको व्यापार २०१९ मा आइपुग्दा ६० बिलियन डलर र आगामी २०२७ सम्म १०० बिलियन डलर पुग्ने अनुमान गरिएको छ। यूएईको लागि भारत दोस्रो ठूलो व्यापारिक साझेदार मुलुक हो भने भारतको लागि यूएई तेस्रो ठूलो व्यापारिक साझेदार मुलुक हो। यूएईले गत २० वर्षमा ११ बिलियन डलर भारतमा लगानी गरेको छ भने अहिलेसम्म भारतका विभिन्न सहरहरूमा यूएईको २० बिलियन डलर हाराहारीमा लगानी रहेको अनुमान छ।
आर्थिक रूपले यूएई मध्यपूर्वको तेस्रो बलियो मुलुक पनि हो। सन् २०२३ मा यसको कुल गार्हस्थ्य उत्पादन ५ सय १० बिलियन डलर रहेको छ। तेल उत्पादनको हिसाबले संसारको ६ प्रतिशत हिस्सा ओगटेको छ। र, सातौं ठूलो प्राकृतिक ग्याँसको भण्डारण रहेको मुलुक पनि हो। त्यसैले पनि प्रधानमन्त्री मोदी पटकपटक यूएईको भ्रमणमा आउने गर्छन्।
सन् २०१४ मा प्रधानमन्त्रीको रूपमा उदय भएपछिको मोदीको यो सातौं भ्रमण हो। त्यसकारण पनि प्रधानमन्त्री मोदीले यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायदसँगको भेटवार्तालाई रणनीतिक वार्ताको संज्ञा दिए।
मोदीको धर्म कूटनीति
भारतीय लोकसभाको निर्वाचन आगामी चार महिना अर्थात् जुनसम्ममा हुनेछ। यद्यपि निर्वाचन आयोगले अप्रिल र मे महिनामा निर्वाचन सम्पन्न गर्ने गरी मार्चको पहिलो हप्ता मिति घोषणा गर्ने अपेक्षा गरिएको छ। प्रधानमन्त्री मोदीको दोस्रो कार्यकाल यही वर्षको जुन महिनामा सकिँदैछ। निर्वाचनले मोदीलाई तेस्रो पटक निर्वाचित हुने भारतको दुर्लभ प्रधानमन्त्री बनाउने अनुमान गरिन्छ।
प्रधानमन्त्री मोदीले गत महिना भारतको पवित्र सहर अयोध्यामा राम जन्मभूमि मन्दिरको भव्य उद्घाटन गरे। ‘आज नयाँ समयचक्रको सुरुवात हो,’ मोदीले नयाँ मन्दिरमा सम्बोधन गर्दै भने, ‘शताब्दीको पर्खाइपछि हाम्रो राम आयो।’
सन् १९९२ मा बाबरी मस्जिद भत्काएको स्थानमा बनेको राम मन्दिरले उनलाई र उनको हिन्दु राष्ट्रवादी भारतीय जनता पार्टी (बीजेपी) लाई सन् २०१४ मा सत्तामा पु¥याउन मद्दत गर्ने मतदाताहरूलाई लामो समयदेखिको वाचा पूरा ग¥यो। यही वाचाले प्रधानमन्त्री मोदीलाई अब भारतीय राजनीतिमा दुर्लभ मानिने गरी तेस्रो पटकको प्रधानमन्त्री निर्वाचित हुन अर्को बाटो खुल्दैछ।