...तब देश सफल बन्छ
दिगो आर्थिक वृद्धिका लागि उद्यमशीलता विकास हुनुपर्छ। उद्यमशीलता आर्थिक विकासका लागि गतिशील मानक हो ।
'सटर भाडामा’ देखाएर ‘सटर खाली हुँदैछ’ र विमानस्थलतिर लागेका युवाको ‘ताँती’ देखाएर ‘देश खाली हुँदैछ’ भन्ने कथन सामाजिक सञ्जालदेखि राष्ट्रियस्तरमा जताततै सुन्न तथा देख्न थालेको धेरै भइसकेको छ। यो सत्य हो वा होइन भन्ने कुरासमेत बहसको विषय बन्न छोडिसक्यो। किनभने यसमा धेरै हदसम्म सत्यता छ, जसले मुलुकको अर्थतन्त्र कतातिर गइरहेछ भन्ने गम्भीर संकेत प्रस्ट रूपमा गरिरहेको छ। मुलुक विप्रेषणले धानेको जगजाहेर छ। दैनिक करिब तीन हजार युवाहरू रोजगारी तथा पढाइका लागि विदेश पलायन भइरहेका छन्। मुलुकको अर्थतन्त्र विप्रेषणमा आधारित अर्थतन्त्र भएको छ।
डिसिल्भर (सन् २०१८) को अध्ययनका अनुसार सन् २०१६ मा कुल गार्हस्थ्य उत्पादनको अनुपातमा नेपाल विश्वमा सबैभन्दा बढी विप्रेषण (३१.३ प्रतिशत) भित्त्याउने मुलुकको रूपमा रहेको थियो भने किर्गिस्तान (३०.४ प्रतिशत) र ताजिकिस्तान (२६.९ प्रतिशत) क्रमशः दोस्रो र तेस्रो स्थानमा थिए। त्यसयता नेपाल उच्च मात्रामा विप्रेषण भित्त्याउने मुलुकको सूचीमा निरन्तर छ। हाल विदेशी मुद्रा सञ्चितिको वृद्धिमा पनि यसैको प्रमुख भूमिका रहेको प्रष्ट रूपमा देखिन्छ। यो अल्पकालीन औजार हो। यसले दिगो आर्थिक वृद्धि प्रायः असम्भव हुन्छ।
विप्रेषणमा दबाब पर्नेबित्तिकै अर्थतन्त्रमा समस्या देखिन्छ। त्यसैले आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी अर्थतन्त्रमा परिवर्तन नगरी सुखै छैन। दिगो आर्थिक वृद्धिका लागि उद्यमशीलता विकास हुनुपर्छ। उद्यमशीलता आर्थिक विकासका लागि गतिशील मानक हो। आर्थिक वृद्धि एवं समृद्धिको प्रमुख योगदानकर्ता हो। दिगो आर्थिक वृद्धि स्वदेशमै उत्पादित वस्तु तथा सेवाहरूको उद्यमबाट मात्र सम्भव हुन्छ। केही उद्यम सफल भइरहेको, केही भने बाँच्न संघर्षरत भएको र केही त बाँच्न नसकेर बन्द भइरहेको परिदृश्य नौलो होइन। अल्भारेज र बुसेनिट्ज (सन् २००१) द्वारा प्रतिपादित ‘स्रोतमा आधारित उद्यमशीलता सिद्धान्त’लाई आधार बनाई नेपालका ११८ साना तथा मझौला उद्यमहरूलाई समेटेर विद्यावारिधिका लागि गरिएको अध्ययनले केही रोचक निष्कर्ष निकालेको छ। यस अध्ययनमा नवीकरणीय ऊर्जा क्षेत्रका २ सय ६४ जना उद्यमी र उद्यमका प्रबन्धकसँग प्रश्नावलीमार्फत गरिएको सर्वेक्षणबाट प्राप्त तथ्यांकको विश्लेषणबाट सो नतिजा निकालिएको हो।
कुनै पनि उद्यम सफल हुन निःसन्देह विभिन्न तत्त्वले भूमिका खेलेका हुन्छन्। तिनीहरूमा केही आन्तरिक तत्त्वहरू हुन्छन् भने केही बाह्य तत्त्वहरू हुन्छन्। जसले उद्यमहरूलाई सफल वा विफल बनाउने गरेका हुन्छन्। बाह्य वातावरणसँग सम्बन्धित तत्त्वहरू उद्यमको नियन्त्रणभन्दा बाहिर हुन्छन्। बाह्य वातावरण बनाउने कार्यमा मुख्य रूपमा सरकारको भूमिका महत्त्वपूर्ण हुन्छ। उद्यमहरूको सफलता वा विफलतामा बाह्य वातावरणको भूमिका पनि महत्त्वपूर्ण रहने कुरामा कुनै दुई मत छैन। बाह्य वातावरण यथावत् हुँदाहुँदै पनि दरिलो आन्तरिक वातावरण वा तत्त्वहरूले गर्दा केही उद्यम सफल भइरहेका हुन्छन्। ती कारक तत्त्वहरू नै सफलताका सार्थक सूत्र हुन्।
उद्यमीय सफलताका लागि वित्तीय, सामाजिक तथा मानवीय पुँजी अर्थात् स्रोतहरूसँग सम्बन्धित केही तत्त्वको भूमिका महत्त्वपूर्ण रहेको अध्ययनले देखाएको छ। यसको अतिरिक्त व्यावसायिक योजना तर्जुमा र उद्यममा अभिनवले पनि सफलताका लागि अहम् योगदान गर्ने गरेको पाइन्छ। कुनै पनि व्यवसाय सुरु गर्न प्रारम्भिक लगानी आवश्यक हुन्छ भने व्यवसाय विस्तारका लागि वित्तमा पहुँच हुनुपर्छ। सामान्यतया व्यवसाय सुरु गर्न प्रशस्त प्रारम्भिक लगानी आवश्यक हुने आम बुझाइ छ। तर यो यथार्थ होइन। नेपालमा साना तथा मझौला व्यवसाय प्रारम्भ गर्न थोरै लगानीबाट सुरु गर्न सकिने अध्ययनले देखाएको छ। जबकि व्यवसाय विस्तार गर्न प्रशस्त वित्तीय लगानी आवश्यक हुने अध्ययनको निष्कर्ष छ। उत्साहपूर्वक सुरु गरिएका कतिपय व्यवसाय आवश्यक वित्तीय पुँजी व्यवस्था गर्न नसक्दा विस्तार हुनुको सट्टा बन्द हुने गरेको पाइन्छ।
व्यावसायिक योजना बनाई व्यवसाय गर्ने उद्यमले सफलता पाउने गरेको देखिन्छ। नेपालको सन्दर्भमा निकै कम व्यवसायले मात्र व्यावसायिक योजना तर्जुमा गर्ने गरेको पाइन्छ। बैंक वा अन्य निकायमा पेस गर्नुपर्ने भएकाले मात्र औपचारिकताका लागि व्यावसायिक योजना बनाउने गरेको देखिन्छ। व्यावसायिक योजना तर्जुमा गरी व्यवसायको सम्भाव्यता निश्चित गरेपछि मात्र सोबमोजिम सञ्चालन गर्नुपर्छ, जसले सफलता हुने निश्चितता बढ्न जान्छ। सामाजिक पुँजीअन्तर्गत व्यावसायिक सञ्जालबीचको सम्बन्ध र विश्वासले उद्यमीय सफलतामा महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ भने व्यवसायीहरूको साझा दृष्टिकोणको भूमिका कमजोर देखिन्छ। व्यावसायिक सञ्जालबीचको सुमधुर सम्बन्धले विश्वासको वातावरण सिर्जना गर्छ। एकआपसमा मिलेर व्यावसायिक समस्या समाधान गर्ने आधारशिला खडा गर्छ।
अध्ययनले मानवीय पुँजीअन्तर्गत उद्यमीको शिक्षा र अनुभवले उद्यमीय सफलतामा महत्त्वपूर्ण भूमिका खेलेको देखाएको छ। हुन त उच्च शिक्षा हासिल नगरेका र कम अनुभव भएका उद्यमी पनि सफल भएको नपाइने चाहिँ होइन, तर निकै कम उद्यमीले मात्र यस्तो सफलता पाएको देखिन्छ। उनीहरूले निश्चय पनि सफलताका लागि शिक्षित उद्यमीको तुलनामा बढी मेहनत र संघर्ष गर्नैपर्छ, सामान्य कुरामा पनि अरूको भर पर्नै पर्छ। शिक्षित एवं अनुभवी उद्यमीले व्यवसायसँग सम्बन्धित जानकारी हासिल गर्न एवं परिआएका चुनौतीसँग जुध्न सक्ने क्षमता बढी छ। सर्वेक्षणमा सामेल भएकामध्ये उच्च शिक्षा र लामो अनुभव भएका अधिकांश व्यवसायीले बढी नाफा कमाउने गरेको पाइएको छ।
नवीन सोच अवलम्बन गर्ने गरेको व्यवसायी सफल भएको देखिन्छ। अरूले गरेको देखेर सुरु गरिएका व्यवसायभन्दा अभिनव सोच प्रयोग गरी सुरु गरिएका व्यवसाय बढी सफल भएको पाइएको छ। कृषि उद्यमीहरूमा पनि यस्तै अवस्था देखिन्छ। अलिअलि सबै खाले नगदे बाली गरी निर्वाहमुखी खेतीपाती गर्नेहरू बाँच्न संघर्षरत रहेको देखिन्छ। कुनै एक वा दुई वा समयानुसार निश्चित संख्यामा मात्र नगदेबाली गरी व्यावसायिक कृषि उद्यम गर्ने कृषक सफल भएको पाइन्छ।
अन्त्यमा, अध्ययनले वित्तीय पहुँच, व्यावसायिक सञ्जालबीचको सम्बन्ध र विश्वास, व्यवसायीको शिक्षा र अनुभवले उद्यमीय सफलतामा महत्त्वपूर्ण भूमिका खेलेको देखाएको छ भने प्रारम्भिक लगानी र व्यवसायीहरूको साझा दृष्टिकोणले कमजोर भूमिका खेलेको पाइएको छ। तसर्थ, वित्तीय पहुँच र व्यावसायिक सञ्जालबीच विश्वासको माध्यमबाट राम्रो सम्बन्ध बनाउन सक्ने शिक्षित एवं अनुभवी व्यक्ति नै नेपालको जस्तो विकासशील देशको सन्दर्भमा सफल उद्यमी हुन सक्ने सम्भावना रहेको निचोडको रूपमा लिन सकिन्छ। सरकारलगायतका सरोकारवालाले बाह्य वातावरण उद्यमीमैत्री बनाउने प्रयास गर्ने हो भने बाँच्न सघर्षरत उद्यमहरू पनि सफल उद्यम हुने सम्भावना बढेर जान्छ। कालान्तरमा स्वदेशमै रोजगारी सिर्जना भएर विमानस्थलतिर लाग्ने युवाको ताँती उद्यमतिर उन्मुख भएर मुलुकले आर्थिक समृद्घि हासिल गर्न सक्छ, जुन दिगो विकासको एकमात्र विकल्प हो।