लुम्बिनी प्रादेशिक अस्पताल उत्कृष्ठ
बुटवल : लुम्बिनी प्रादेशिक अस्पताल बुटवल न्यूनतम सेवा मापदण्डमा नेपालकै पहिलो भएको छ । ८८ प्रतिशत अंक लिएर नेपालका सेकेण्डरी ‘बि’ तहका अस्पतालहरुबीचको मूल्यांकनमा अस्पताल नेपालकै पहिलो भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेश र निक साइमन्स इन्सिच्यूटले संयूक्त रुपमा गरेको मूल्यांकनमा पहिलो सहित सर्वोत्कृष्ट घोषणा भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.सुदर्शन थापाले जानकारी दिए । सर्वोत्कृष्ट घोषणाले अस्पताल परिवारलाई उत्साहित बनाएको थापाले प्रतिक्रिया दिए ।
अस्पतालको शुसासन तथा व्यवस्थापन, क्लिनिकल व्यवस्थापन र अस्पताल सर्पोट सर्भिस मापदण्डका आधारमा नेपालकै पहिलो घोषणा गरिएको हो । प्रदेश स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको समिक्षा गोष्ठीमा प्रथम भएको घोषणा गरिएको हो ।
सरकारी क्षेत्रमा लुम्बिनी प्रादेशिक अस्पताल यस क्षेत्रकै सवैभन्दा ठूलो अस्पताल हो । लुम्बिनी प्रदेशका १२ वटा जिल्ला सहित स्याङ्जा, बाग्लुङ, पूर्वी नवलपरासी लगायत जिल्लाका नागरिकहरु यहाँ उपचारका लागि आउने गर्छन् ।