माझी समुदायको परम्परा जोगाउन 'मझेसाबा'
रामेछाप : जिल्लाको तामाकोसी र सुनकोसी नदि किनारामा बस्दै आएका अति सीमान्तकृत माझी समुदायले आफ्नो पुरानो परम्परा जोगाउन'मझेसाबा' गर्ने भएका छन्। माझी भाषामा मझेको अर्थ अध्यक्ष वा नाइके भन्ने हुन्छ र साबा भनेको सभा भन्ने लाग्दछ।
माझी समुदायको उत्पत्ति कालदेखि एउटालाई अध्यक्ष वा नाइके मानेर उसैको निर्णयमा आफ्ना गतिविधि संचालन गर्ने गर्दथे। मझेसाबा गर्नुको मुख्य उद्देश्य रामेछाप जिल्लामा माझी जातिको प्रचलित परम्परागत सभ्यता र संस्कृतिलाई जगेर्ना गर्न र निरन्तरता दिने रहेको आदिवासी जनजाती महासंघ रामेछापका संयोजक श्रीबहादुर माझीले जानकारी दिए।
अन्य जातजातिको भन्दा भिन्न र पृथक संस्कृति भएका माझी समुदायको नेतृत्व नै मझे रहेको र हरेक निर्णय उसैको सभाले पास गरेपछि लागू हुने भएकाले मझेसाबा भनिएको पनि संयोजक माझीले बताए। श्रीबहादुर माझीको अध्यक्षतामा सदरमुकाम मन्थलीको तीनलाल पर्कमा बसेको बैठकले यही फाल्गुन १ गते मझेसाबा गर्ने निर्णय गरेको माझी समुदायका अगुवा बालकृष्ण माझीले जानकारी दिए।
पछिल्लो समय भौतिक पूर्वाधारको विकास भएसंगै आफ्नो पुर्ख्यौली पेसा संकटमा परेपछि भने माझी समुदाय चिन्तित भएका छन्। नदि किनारमा बसेर माछा मार्ने र डुङ्गा चलाएर आफ्नो जिविकोपार्जन गर्दै आएका माझी समुदायको पेशा डेढ दशकदेखि लोप नै भएको छ। आफ्नो संस्कार, संस्कृति र परम्परालाई जोगाउन माझी समुदायका युवा एक जुट हुने गरेका छन्।
मझेसाबा भनेको माझी जातीको परम्परागत जातीय संस्थाको नाम हो। प्रत्येक माझी गाउँमा मझेसाबा गठन गर्ने गरिएको पनि बालकृष्ण माझीले बताए।