जलवायु परिवर्तनले विद्युत् उत्पादनमा उच्च ह्रास
काठमाडौं : जलवायु परिवर्तनको असर जलविद्युत्मा देखिएको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार विद्युत् उत्पादन क्षमता करिब १० प्रतिशतमा झरेको छ।
गत वर्ष एकदम नै सुक्खा भनिएको थियो, तर यस वर्षको सुक्खायाम गत वर्षको भन्दा पनि बढ्दै गएको उनको भनाइ छ। ‘काबेली करिडोरको क्षमता करिब दुई सय मेगावाट छ। अहिले जम्मा २० मेगावाट मात्र उत्पादन भइरहेको छ। क्यू ४० मा विद्युत् उत्पादन गर्दा ३० देखि ४० प्रतिशतसम्म हिउँदमा उत्पादन हुन्छ भन्ने मान्यता हो,’ भन्दै घिसिङले यस पटक अहिलेसम्म पानी र हिउँ नपर्दा सुक्खापन बढेको सुनाए। नदी प्रवाहमा आधारित विद्युत् आयोजनाको हिस्सा बढी भएकाले हिउँदमा उत्पादनमा उच्च ह्रास आउने गरेको हो।
अहिले विद्युत्को कुल जडित क्षमता करिब ३ हजार मेगावाट छ। तर, जडित क्षमताबाट करिब साढे ७ सय मेगावाट मात्र उत्पादन भइरहेको छ। दैनिक सरदर ५ सय मेगावाट बिजुली भारतबाट आयात हुन थालिसकेको उनले जनाए।
अर्धजलाशयुक्त प्रकृत्तिको माथिल्लो तामाकोशी (४ सय ५६ मेगावाट) अहिले २४सैं घण्टा चलाउँदा सरदर ६० देखि ६५ मेगावाट क्षमतामा झरेको छ। जबकि यस आयोजनाको हिउँदयाममा ९० मेगावाटसम्म झर्छ भन्ने मात्रै आंकलन गरिएको थियो। तर प्राधिकरणले अहिले माथिल्लो तामाकोशीको पानीलाई जम्मा गरेर उच्च माग भएको बेलामा ४ सय ५६ मेगावाट क्षमतामा नै चलाइरहेको घिसिङले जानकारी दिए। माथिल्लो तामाकोशीको पानी ४ घण्टाको रिजर्भमा राख्न सकिन्छ।
यसपालि सुक्खायाममा माग बढ्दै गएकोे प्राधिकरण बताउँछ। गत वर्षको यही समयको दैनिक माग २८ हजार मेगावाट आवर अर्थात् सरदर १ हजार १ सय ६६ मेगावाट (२ करोड ८० लाख युनिट ) थियो। यो वर्षको अहिलेको दैनिक माग ३५ हजार मेगावाट आवर अर्थात् सरदर १ हजार ४ सय ५८ मेगावाट (३ करोड ५० लाख युनिट) पुगेको छ। करिब ३ सय मेगावाटले सरदर विद्युत्को माग बढेको घिसिङ बताउँछन्। नेपालको अहिलेको उच्च माग करिब १ हजार ८ आठ २१ मेगावाट छ।
हिउँद लागेसँगै खोलामा पानीको सतह घट्दै गएपछि प्राधिकरणले मंसिरको अन्तिमबाट भारतबाट बिजुली आयात गर्न सुरु गरेको हो। माघ महिनासम्म करिब २ अर्ब ५० करोड रुपैयाँको बिजुली आयात भइसकेको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए। फागुन, चैत्र र वैशाखमा आयात बढाउनुपर्ने भन्दै उनले अबको तीन महिनामा प्रत्येक महिना करिब ३ देखि ४ अर्ब रुपैयाँको विद्युत् आयात गर्नुपर्ने बताए।
अहिले भारतको सरदर बिजुलीको दर करिब ६ भारु (भारतीय रुपैयाँ) छ। बिहान र साँझको उच्च मागको समयमा प्रतियुनिट बिजुलीको मूल्य १० रुपैयाँ भारुसम्म पुग्ने गरेको छ। भारतीय बजारको प्रतियुनिट बिजुलीको सबैभन्दा बढी मूल्य १२ भारुमा सीमित गरिएको छ। निजी प्रवद्र्धकसँगको पीपीए दर भने सुक्खायाम (१६ मंसिर–१५ जेठ) र वर्षायाम (१६ जेठ–१५ मंसिर)का क्रमशः ८.४० रुपैयाँ र ४.८० रुपैयाँ प्रतियुनिट निर्धारण गरिएको छ।
प्राधिकरणले दिनमा र रातिको समयको कम मूल्यको बिजुली किनेर उच्च मागको समयमा कम बिजुली आयातको नीति लिएको जनाएको छ। गत वर्षको सुक्खायाममा करिब १९ अर्ब रुपैयाँबराबरको विद्युत् आयात गरिएको थियो। यस वर्ष खुद निर्यातकर्ता बन्ने भनिरहेको प्राधिकरणले यसै वर्षको वर्षायाममा करिब १४ अर्ब रुपैयाँको बिजुली भारत निर्यात गरेको छ।
अबको डेढ महिना अर्थात् चैत्रसम्ममा करिब ४ सय मेगावाट थपिँदा करिब ३४ सय मेगावाट जडित क्षमता पुग्दैछ। करिब ३ हजार मेगावाट निर्माणको विभिन्न चरणमा छन्। करिब १० हजार मेगावाटको थप विद्युत् व्यापार सम्झौता (पीपीए) भएको प्राधिकरणको तथ्यांक छ।