१०८ कन्याले उद्घाटन गरे अनन्त श्री ब्रह्माण्डीय महायज्ञ

१०८ कन्याले उद्घाटन गरे अनन्त श्री ब्रह्माण्डीय महायज्ञ
सुन्नुहोस्

बागलुङ : बागलुङमा बृहत् ब्रह्माण्डीय महायज्ञको सुरुवात गरिएको छ। धार्मिक तथा पर्यटकीय स्थल पञ्चकोटमा सुरु भएको महायज्ञको ९ वर्ष उमेरका १ सय ८ जना कन्याले सामूहिक रूपमा उद्घाटन गरेका हुन्। कन्याहरूले कलशमा कालीगण्डकीको जल भरेर महायज्ञको शुभारम्भ गरेका थिए।

बुधबारबाट सुरु भएको महायज्ञ फागुन २३ गतेसम्म सञ्चालन हुनेछ। महायज्ञको पहिलो दिन जल, ऊर्जा, विकास तथा वातावरण सम्मेलनसमेत गरिएको महायज्ञका मूल संयोजक मुक्तिनाथ बाबा स्वामी कमलनयनाचार्यले बताए। उनले १५ दिनसम्म विभिन्न कार्यक्रम र सम्मेलन गरिने जनाए। 

जल, ऊर्जा, विकास तथा वातावरण सम्मेलनमा अवधारणा पत्र प्रस्तुत गर्दै नेपाल सरकारका पूर्वसचिव पूर्ण केडियाले महायज्ञको प्रभावले समाज, सरकार र जनस्तरमा सकारात्मक प्रभाव पर्न गई देशमा शान्ति, सुरक्षा र समृद्धि छाउनुको साथै देश विकासमा सहयोग पुग्ने बताए। जल सम्पदाको संरक्षण, कालीगण्डकी तथा यसका सहायक नदीहरूको मुहान, जलाधर र बहाव क्षेत्रलाई सफा गरी संरक्षण गर्ने, विश्व शान्ति गण्डकी कलशको महत्वका बारेमा प्रचार–प्रसार गर्ने, यस क्षेत्रको भू–संरक्षण, पोखरी संरक्षण, हिम तथा हिमनदीहरूको संरक्षण, हिमशृंखलाहरूको संरक्षण, वृक्षरोपण तथा वनजंगल संरक्षण गर्ने, बाढी तथा पहिरोबाट हुन सक्ने क्षति न्यूनीकरण तथा नियन्त्रण गर्ने, फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन तथा सचेताको विकास गर्ने, वैज्ञानिक बसोबास प्रणालीको विकास गर्ने, वैज्ञानिक जल उपयोग तथा ढल व्यवस्थापन र प्रशोधनको विकास गर्ने, वातावरण संरक्षण, जल, संरक्षणलगायत ऊर्जा विकास गर्ने विषयमा पूर्वसचिव केडियाले अवधारणा प्रस्तुत गरेका थिए। उनले समुन्नतिका लक्षण प्राप्त गर्ने होडबाजीका कारण विश्वमा वातावरण विनाश भई समस्त जीवनको अस्तित्व नै जोखिममा परेको बताए। उनले आणविक अस्त्रहरू उत्पादन गर्नेलगायतका कार्यले पृथ्वीको अस्तित्वमाथि खतरा बढिरहेको बताउँदै नेपालले जल र जंगलको संरक्षण गरेर पृथ्वीको रक्षा गरिरहेको धारणा राखे। 

गण्डकी प्रदेशका सचिव शंकरप्रसाद पण्डितले देशमा वातावरणलाई कम क्षति हुने गरी विकास निर्माणमा जोड दिइएको बताए। सम्मेलनमा गैरआवासीय नेपाली संघका सोम सापकोटाले कालीगण्डकीको जललाई प्रशोधन गरी विश्वका सबै नागरिकले प्रयोग गर्ने सक्ने बनाएर विश्वभर पुर्‍याउन सकेमा अझै यसको महत्व बढ्ने बताए। उनले विकास सँगसँगै विनाश पनि आइरहेको बताउँदै वायु प्रदूषणका कारण हिमशृंखलाबाट हिउँ पग्लिँदै गएको बताए। नेपालको हरियाली जंगलले संसारलाई बचाइरहेको सापकोटाको भनाइ छ। नेपाल निर्माण व्यवसायी संघ गण्डकी प्रदेशका उपाध्यक्ष खिमप्रसाद मल्लले विकास सँगसँगै विनाश आउन नहुने बताउँदै त्यसतर्फ सम्पूर्ण नागरिक सचेत हुनुपर्ने बताए।

महायज्ञमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय राजनीतिज्ञ एवं कर्मचारीसहितको उपस्थितिमा पञ्चकोटको महत्वबारे प्रकाश पारिने स्वामी कमलनयनाचार्यले बताए। राष्ट्रपति पौडेलले ५ हजार ५ सय ५५ केजीको महाघण्टको अनावरण गर्ने स्वामी कमलनयनाचार्यले जानकारी दिए। ‘राष्ट्रपति रामचन्द्र पौडेलले पञ्चकोटमा पूजाअर्चना गर्नुहुनेछ,’ उनले भने, ‘भोलि नै पञ्चकोटमा स्थापना गरिएको महाघण्टको अनावरणसमेत राष्ट्रपति पौडेलले गर्नु हुनेछ।’

ब्रह्माण्डीय महायज्ञको मुख्य उद्देश्य केवल धार्मिक कार्यक्रम मात्र नभई जल जोगाउन राष्ट्रिय आह्वान भएको कमलनयनाचार्यको भनाइ छ। ‘जल र गौ जोगाउन सक्यौं भने नेपाल समृद्ध हुन्छ,’ उनले भने, ‘यो महायज्ञ मात्र होइन ब्रह्माण्डीय महायज्ञ हो। यहाँ जल, ऊर्जा, विकास तथा वातावरण, देश विकासको अवधारणा र कार्यान्वयनका साथै राजनीति र सुशासनका बारेमा सम्मेलन हुनेछन्।’ १५ दिनसम्म चल्ने महायज्ञमा २५ फिट अग्लो मौलो २१ हजार कर्ताबाट धान अर्पण गरेर पुरिनेछ। 

पञ्चकोटमा विश्वशान्ति कलश निर्माणका लागि २०७१ सालमा शिलान्यास भए पनि काम पूरा हुन सकेको छैन। १५१ फिट अग्लो कलशमा करिब एक हजार पाँच सय व्यक्तिहरू अटाउने गरी कलश निर्माण भइरहेको छ। कसल निर्माणका लागि ४० फिट जमिनमुनिबाट फाउन्डेसन तयार पार्ने काम भइसकेको उनले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.