४० लाख लगानीमा जडान गरिएका सीसीटीभी प्रयोगविहीन
कालीकोट : सदरमुकाम मान्म र आसपास बजार क्षेत्रमा जडान गरिएका सीसी क्यामरा प्रयोगविहीन अवस्थामा छन्। जडान गरिएका २८ वटा सीसी क्यामरामध्ये हाल ६ वटा मात्र सञ्चालनमा छन्।
अपराध नियन्त्रणमा सघाउ पुर्याउने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा जडान गरिएका सीसी क्यामरा चल्न छाडेको २१ महिनाभन्दा बढी भइसकेको छ। बिग्रेका क्यामरा कसले मर्मत गर्ने भन्ने स्पष्ट नहुँदा ४० लाखभन्दा बढीको लगानी बालुवामा पानी हाले सरह भएको उद्योग वाणिज्य संघ कालीकोटका अध्यक्ष रतनबहादुर शाहीले बताए।
हालसम्म कर्णाली प्रदेश सरकारको २० लाख, खाँडाचक्र नगरपालिकाको १० लाख, वित्तीय संघ संस्थाको १० लाख गरी जम्मा ४० लाख बढी खर्च भइसकेको छ। जडान गरिएका सडक बत्ती पनि बिग्रिएका छन्।
शान्ति, सुरक्षालाई मध्यनजर गरी चोरी तथा आपराधिक घटना हुन नदिने उद्देश्यले जडान गरिएका सीसी क्यामरा मर्मत सम्भार नहुँदा प्रयोगविहीन भएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी पोषण थापाले बताए। आर्थिक वर्ष २०७६/२०७७ मा खाँडाचक्र नगरपालिकाले सीसी क्यामेरा जडान गरेको हो।
बजारमा जडान गरिएका सीसी क्यामराबाट केही घटनाको अनुसन्धान गर्न सजिलो भएपनि हाल प्रयोगमा नआउँदा समस्या सिर्जना भएको छ। खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाहीले पहिलो पटक बिग्रेमा साही कम्पनीले बनाउने सम्झौता नगरमा भएकाले आफूहरूले निरन्तर ताकेता गरिरहेको बताए।