प्रज्ञाका रूख हचुवाका भरमा भटाभट काटिएपछि...
काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिलाई सम्बोधन गरेर दिपेश गिरीले पुस २४ गते एउटा ठाडो निवेदन लेखे। त्यसलाई १०६ नम्बरमा माघ १६ गते दर्ता गरियो। त्यसमा प्रज्ञा परिसरका रूखहरूले बाहिर सडकमा अवरोध पुर्याएकाले हाँगा काट्न पाउनुपर्ने माग थियो। कुलपति भूपाल राईले काट्ने व्यवस्था मिलाइदिन तोक लगाए।
अचम्म यो छ कि काट्न मात्र होइन, त्यहाँबाट आउने काठसमेत लैजान प्रज्ञाले तिनै व्यक्तिलाई अनुमति दियो। उनले हाँगा मात्र होइन, रूखै काट्न थाले। जब त्यसबारे वन र काठमाडौं महानगरमा उजुरी पर्यो, स्थितिले फरक रूप लियो। सम्बद्ध अधिकारीहरू आएर काठ काट्ने व्यक्तिलाई नियन्त्रणमा लिए र काट्न रोक लगाए।
कमलादीस्थित प्रतिष्ठानको परिसरका रूखको हाँगाहरू माघ २७ गतेदेखि काट्न सुरु गरिएको थियोे। प्रतिष्ठान स्रोतका अनुसार, झन्डै १० वटा रूख काटिएको छ। कटानबाट करिब चार हजार केजी काठ निस्किएको छ।
गिरीले दिएको निवेदनलाई प्रतिष्ठानको भौतिक संशाधन महाशाखा र भवन प्रमुखबाट आवश्यक प्रक्रिया मिलाउन अनुमति दिइएको पाइएको छ। निवेदन स्वीकृतपछि प्रतिष्ठानकी कर्मचारी एवं नेपाली लेखक संघकी उपाध्यक्ष सन्ध्या पहाडीले हाँगा कटान गर्न गिरीलाई फोन गरेर बोलाएकी थिइन्।
रूखको हाँगा परिसर बाहिर गएर सडक अवरोध हुने भएकाले प्रतिष्ठानको नियमानुसार हाँगा काटेर लैजानका लागि निवेदन दिएको गिरीले बताए। ‘रूखका हाँगाहरू अनुमति लिएरै काटेको हुँ’, उनले भने, ‘हाँगा त परै जाओस्। पात पनि घर लैजान पाइनँ।’ प्रज्ञाका अनुसार ९ जना व्यक्तिले रूखका हाँगा काटेका थिए। हाँगाको काँटछाँट गर्दा झन्डै १ लाख ४५ हजार खर्च भएको गिरीले बताए।
जथाभावी हाँगा काटिएपछि काठमाडौं महानगरपालिकामा उजुरी परेको थियो। काठमाडौं महानगरपालिकाको वातावरणीय विभाग प्रमुख रविनमान श्रेष्ठले बुधबार स्थलगत अध्ययन गरेका थिए। ‘रूखको हाँगाहरू धेरै नै काटेको पाएपछि रोक लगाएका हौं’, श्रेष्ठले भने, ‘थप काट्न रोक लगाउँदै यथावस्थामै राख्न निर्देशन दिएका छौं।’ जथाभावी हाँगा कटान गरिएका बारे जानकारी दिन प्रतिष्ठानलाई पत्रसमेत काटिएको उनले बताए।
प्रतिष्ठानका कुलपति भूपाल राईले परिसरका रूखका हाँगा ढलेर मानवीय दुर्घटना हुने जोखिम रहेकाले कटान गर्न अनुमति दिएको बताए। ‘हाँगा ढलेर मानवीय जोखिमको डर थियो। लत्रिएका हाँगाले धेरैलाई समस्या पारेको थियो। त्यही भएर हाँगा कटानको अनुमति दिएको हो’, कुलपति राईले भने।