‘विश्वविद्यालय खाली, विमानस्थल भरिएको छ’

‘विश्वविद्यालय खाली, विमानस्थल भरिएको छ’

बागलुङ : नेपालमा पछिल्लो समय युवाहरू बिदेसिने क्रम बढेपछि विमानस्थल भरिएका र विश्वविद्यालयहरू खाली रहेकोमा शिक्षाविद्हरूले चिन्ता व्यक्त गरेका छन्।  बागलुङको पञ्चकोटमा जारी अनन्तश्री ब्रह्माण्डीय महायज्ञको तेस्रो दिन आयोजित राष्ट्रिय शिक्षा प्रणालीको कार्यान्वयन सम्मेलनमा बोल्ने अधिकांश वक्ताहरूले शिक्षा प्रणालीको कारण युवाहरू बिदेसिएको भन्दै चिन्ता व्यक्त गरेका हुन्। 

सम्मेलनमा बोल्दै शिक्षाविद् डा. राजेन्द्र केसीले शिक्षामा कमीकमजोरी हुँदा युवाहरू बिदेसिएको बताए। उनले शिक्षालाई समाज, राजनीति, देशको भूमि, हिमाल, पहाड र तरार्ईसँग जोड्न नसकेको बताए। ‘हाम्रो शिक्षामा कमीकमजोरी छन्। समाज, राजनीति, देशको भूमि, हिमाल, पहाड र तरार्ईसँग हाम्रो शिक्षाले जोडेनौं,’ उनले भने, ‘शिक्षा सर्टिफिकेटमा मात्र जोडेर मात्र हुँदैन त्यसलाई हिमाल, पहाड र तरार्ईसँग जोड्न आवश्यक छ।’ 
उनले नेपालीहरूले १ सय ७१ वटा देशमा काम गरिरहेको तर आफैं देश बनाउन काम नगरेको बताए। ‘अहिले दैनिक युवाहरू बिदेसिएका छन्। १८ वटा विश्वविद्यालय खाली छन्,’ उनले भने, ‘नेपालीहरूले १ सय ७१ वटा देशमा काम गरिरहेका छन् तर आफैं देश बनाउन काम गरेनौं।’

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले शिक्षालाई सीपसँग जोड्न नसकेकोले युवाहरू बिदेसिएको बताए। ‘हामीले विद्या दिएनौं। शिक्षा दिन थाल्यौं। विद्या दिएको भए नरम, नम्र, चरित्रवान् हुने थिए,’ उनले भने, ‘शिक्षालाई सीपसँग जोड्नुपर्यो‍। विद्या र शिक्षालाई सँगसँगै लैजाने शिक्षा हुनुपर्छ।’ उनले राजनीति भनेको राम्रो नीति बनाउने भए पनि झगडा गराउने नीतिजस्तो बनाइएको बताए।

‘राजनीति भनेको राम्रो नीति हो, उच्चतम नीति हो। यहाँ राजनीति भनेको झगडा गराउने नीति भएको छ,’ प्रा.डा. अर्यालले भने। अहिले विश्वविद्यालयहरू राजनीतिक पार्टीको तालिम केन्द्र भएको भन्दै प्रा.डा. अर्यालले चिन्ता व्यक्त गरे। ‘अहिले विश्वविद्यालयहरू राजनीतिक पार्टीको तालिम केन्द्र हो। त्यहाँँ जसले कुर्ची भाँच्छ, जसले बढी घर भत्काउँछ, जसले बढी गुरुहरूलाई अपशब्द बोल्छ त्यसले पछि टिकट पाउँछ र नीति बनाउने स्थानमा पुग्छ। यो अन्त्य हुनु जरुरी छ,’ प्रा.डा. अर्यालले भने, ‘विकासका लागि राजनीति हुनुपर्छ तर तोडफोडको राजनीति हुनु हुँदैन।’

धवलागिरि बहुमुखी क्याम्पसका प्रमुख प्रा.डा. रामप्रसाद शर्माले मातृभाषा र स्थानीय पाठ्यक्रमलाई कार्यान्वयन गर्न नसक्दा विद्यार्थीलाई नेपालमा रोक्न नसकिएको बताए। ‘सनातनी शिक्षालाई निरन्तर दिनका लागि समय र सन्दर्भअनुसार पाठ्यक्रमअनुसार परिवर्तन गरेर जनशक्तिलाई यही प्रयोग गर्नुपर्ने हुन्छ। त्यसमा पनि हामी चुकेका छौं,’ उनले भने, ‘हाम्रो शिक्षालाई जति सस्तो बनाइएको छ त्यसो गर्नु आवश्यक छैन।’

प्रा.डा. विद्यानाथ कोइरालाले सोच एउटा बोक्ने काम अर्को गर्ने गरेको कारण शिक्षामा समस्या आएको बताए। उनले विश्वविद्यालयका प्रमुखहरूमा अन्तरदलीय चिन्तन बनाउन नसक्दा समस्या भइरहेको बताए। ‘अन्तरदलीय सरकार हुन्छ,’ उनले भने, ‘अन्तरदलीय चिन्तन बनाउने नेतृत्व हुँदैन समस्या त्यही हो।’

प्रा.डा. कोइरालाले अहिलेको बालबालिकाको तागत प्रविधि भएकोले त्यसमा ध्यान दिनुपर्ने बताए । ‘अहिलेको बालबालिकाको तागत भनेको प्रविधि हो। 
प्रविधिसँग अभ्यस्त भएकोलाई केटाकेटीहरूलाई अलिकति किताबसँग, अलिकति किताब र अलिकति जिन्दगीसँग, अलिकति आफ्नै अनुभूतिसँग जोडिदियो भने गतिलो अनुसन्धानकर्ता बन्छन्। अनुसन्धानकर्ताले अन्तर्राष्ट्रिय जगत्मा मज्जाले काम गर्छ,’ उनले भने, ‘अहिले ज्ञान बोकेर हिँड्ने दिन गए। अहिले ज्ञान कम्प्युटरमा हुन्छ त्यसलाई प्रयोग गर्न सके पुग्छ। शिक्षकहरू र शिक्षामा लाग्नेहरूले त्यसलाई प्रयोग गर्न सिकाइ दिनु आवश्यक छ।’
संस्कारसहितको शिक्षा अभियन्ता अञ्जु भट्टराईले अहिले संस्कारसहितको शिक्षाको आवश्यकता रहेको बताइन्। उनले नयाँ भिजन र मिसनसहित संस्कारसहितको प्रविधिसँग जोड्ने शिक्षा दिनु अहिलेको आवश्यकता रहेको बताइन्।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले अहिलेको शिक्षा नीति नै परिवर्तन गरिनुपर्ने बताए। उनले प्रत्येक दिन ३–४ हजार युवाहरू बिदेसिएको बताउँदै स्नातक अध्ययन र पास नगरेसम्म युवाहरूलाई विदेश जान रोक लगाइनुपर्ने बताए। ‘प्रत्येक दिन ३÷४ हजार युवा दैनिक बिदेसिएका छन्,’ मन्त्री थापाले भने, ‘स्नातक अध्ययन र पास नगरेसम्म विदेश जान रोक लगाइनुपर्छ। त्यसो गरेमा हाम्रा विश्वविद्यालय रित्तिने क्रम राकिनेछ।’

मन्त्री थापाले सीपयुक्त र जीवन उपयोगी शिक्षा दिने बारेमा सबै गम्भीर हुनु आवश्यक रहेको बताए। उनले एकजना स्वामीले चाहेमा विकास गर्न सकिन्छ भन्ने उदाहरण पञ्चकोट रहेको बताउँदै सबै स्वार्थी भएकोले त्यसको हालत अहिलेको अवस्थामा आएको बताए। ‘एकजना स्वामीले गरेको फल र योगदान हेरेर ग्रहण गरौं। स्वामीजस्तै निष्ठा भएर काम गरौं। देशलाई परिवर्तन गरौं,’ मन्त्री थापाले भने, ‘हामी स्वार्थी भयौं। हामीले पछि फर्केर हेरेनौं। पछाडिका जनताको अवस्था के छ ? दिनदुःखीहरूको अवस्था के छ ? के गरेमा देशलाई कस्तो नीति बनाउँदा रोजगार दिन र हरियाली बनाउन सकिन्छ भन्नेमा ध्यान दिनुपर्छ।’

प्रकृतिले हामीलाई साथ दिँदा पनि त्यसको उपयोग गर्दै देशलाई अझै सुन्दर बनाउन नसकेको मन्त्री थापाको भनाइ छ। ‘प्रकृतिले दिएको सुन्दर देशलाई अझै कसरी विकास गर्न सकिन्छ ? शालिग्राम कसरी बचाउने, पर्यटक ल्याएर यसलाई कसरी विकास गर्ने भन्नेमा हाम्रो चिन्तन भएको छैन,’ उनले भने, ‘जुन देश बनेको छ त्यही देशमा गएपछि आफ्नो भविष्य हुन्छ भन्ने मात्र हामीमा सोच भयो। तर, आफू जन्मेको देशलाई विकास गर्नुपर्छ भन्नेतिर कोही लागेनौं।’

मन्त्री थापाले सरकारले गर्नुपर्ने काम एकजना स्वामीले गरेको भन्दै पञ्चकोटमा जारी महायज्ञमा सबै भक्तजनहरूलाई उपस्थित भएर ग्रहण गर्न आह्वान गरेका छन्। देशका शिक्षाविद्, प्राध्यापक डाक्टर, स्थानीय शिक्षकहरू र विद्यार्थीहरूबीच भएको राष्ट्रिय शिक्षा प्रणालीको कार्यान्वयन सम्मेलनको बारेमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिएका थिए।

मुक्तिनाथ बाबा स्वामी कमलनयनाचार्यको अगुवाइमा पञ्चकोटमा बुधबारदेखि अनन्तश्री ब्रह्माण्डीय महायज्ञ सञ्चालन भइरहेको छ। फागुन २३ गतेसम्म सञ्चालन हुने महायज्ञमा दैनिक विविध कार्यक्रम र सम्मेलन हुँदै आएको छ। महायज्ञको चौथो दिन शनिबार फागुन १२ गते गण्डकी विकासको अवधारणा र कार्यान्वयन सम्मेलन हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.