साथी जस्ता थिए आङछिरिङ
दुःख–आपत् पर्दा अरूलाई सम्झाउने म आज आफैं संयमित हुन नसक्ने भएको थिएँ भाइ आङछिरिङलाई बिदा गरेपछि। जतासुकै भाइ नै भाइ देख्थें। कतिखेर रात–बिहान हुन्छ, अनुभवै गर्न सकिनँ।
सन् २००० मा यती एयर कम्पनीमा साइँला भाइ आङछिरिङलाई ल्याएँ। मेरो सुझबुझअनुसार कम्पनीले गति लियो। कुनै योजना अघि सार्थें, भाइले सहमति दिन्थे। प्रस्तावहरूमा भाइले नाइँनास्ती गरेनन्। भाइले ल्याएका व्यापारिक प्रस्तावमा मैले पनि विरोध गरिनँ। हामी दुई दाजुभाइ साथी–साथीजस्तै थियौं। व्यापारका कुरामा दुवैले एकअर्कालाई बुझ्दै, बुझाउँदै गरेका थियांै। व्यापार व्यवसायमा भाइ र मैले कहिल्यै घरपरिवारका कुरा जोडेनौं।
संस्थाको भावना र धारणा अघि आउनुपर्छ भन्ने सोच मेरो थियो। यही सिद्धान्तलाई सधैं आत्मसात् गरें, भाइलाई पनि गर्न लगाएँ। भाइ अत्यन्तै खरो मिजासको थियो। कुनै कुरा आए, त्यसबाट भाग्ने होइन, जुध्ने बानी थियो। आफ्ना कुरा प्रस्टसँग राख्न सक्ने खुबी थियो। समस्या लिएर अनेक मानिस आउँथे। ती सबैलाई बुझाएर, सम्झाएर पठाउँथे। काममा कसैसँग सम्झौता नगर्ने उनको बानी थियो। रिस भने निकै कडा अनि असाध्यै आँटिलो पनि। नहुने र गर्न नमिल्ने काम उनीबाट हुँदैनथ्यो। मिल्ने भए उनी त्यसलाई जसरी पनि गराएरै छाड्थे। जोखिम लिन सक्ने उनको आँट देखेर बेलाबेलामा छक्क पर्थें। जस्तै चुनौती स्विकार्ने आनीबानीकै कारण २० वर्षका बीचमा भाइले १४ ओटा जहाज पुर्याए। भाइ बित्नुभन्दा आठ/दस वर्षअघिदेखि उनैलाई अगाडि सारेर आफू पछाडि नै बसी व्यापार गर्ने निर्णय गरें। यस निर्णयमा भाइको आनाकानी भएन।
आङछिरिङलाई अगाडि उभ्याएर म पर्दापछाडि नै बसें। दृश्यमा भाइ भए पनि अदृश्यमा म थिएँ। यसो गर्दा काम गर्न र सबै कम्पनीलाई गति दिन असाध्यै सहज हुन्थ्यो। साइँला भाइ र म भाषण नगर्ने, पत्रपत्रिकामा अन्तर्वार्ता नदिने र फोटो छापियोस् भन्ने चाहना नगर्ने खालका थियौं। कतिपटक राष्ट्रप्रमुख तथा प्रधानमन्त्रीसँग सँगै उभिएर फोटो खिच्नुपर्दा हामी लुक्ने गथ्र्यांै। कतिपय कार्यक्रममा मन्त्री, प्रधानमन्त्रीसँग फोटो खिच्नुपर्दा छेलिन पाए हुन्थ्यो अथवा हाम्रो चिनिने गरी फोटो नआइदिए हुन्थ्यो जस्तो लाग्थ्यो।
कतिपय कार्यक्रममा सामूहिक रूपमा राष्ट्रप्रमुख तथा प्रधानमन्त्रीसँग फोटो खिच्दा भाइ र म ओल्टोकोल्टो भएर क्यामेराले नदेख्ने गरी छेलिएका थियौं। हामीलाई सामान्य मानिस भएर आफ्नो व्यवसाय गर्न मन पर्छ। साइँला भाइ र मेरो स्वभाव उस्तै–उस्तै थियो। हामीले कहिल्यै पनि आसेपासे बोकेर हिँडेनौं। अहिलेसम्म पनि मैले एक जनासम्म सहयोगी लिएर हिँड्ने गरेको छैन। अनावश्यक फुर्तीफार्ती र तामझाम आङछिरिङलाई पनि मन पर्दैनथ्यो। म पनि त्यस्तै आनीबानीको छु।
हामी मौलिक खाना खान रुचाउँथ्यौं। हामीलाई आफ्नै परम्परागत र नेपाली शैलीका खानेकुरा मन पर्थे। साधारण जीवनशैली भाइले पनि मन पराए। मैले पनि त्यस्तै खालको जीवनपद्धति मन पराएँ। भाइलाई अल्याङटल्याङ र ढिलासुस्ती मन पर्दैनथ्यो। उनी हुन्छ, हुँदैन जवाफ तुरुन्तै खोज्ने खालका थिए। भेट्न आएका मानिसको बोलीबाट त्यो मानिस कस्तो हो, के हो आदि अन्दाजैले थाहा पाउँथे। मनोविज्ञान बुझ्ने चेतना निकै बलियो लाग्थ्यो उनको। आङछिरिङको जनसम्पर्क पनि राष्ट्रका धेरै ठुल्ठूला नेतासँग थियो। सन् २०१९ मा हेलिकप्टर दुर्घटनामा साइँला भाइको दुःखद् निधन भयो। कान्छो र साइँला दुवै भाइको हेलिकप्टरमै निधन हुँदा अत्यन्त दुःखी भएँ। आफैं पनि श्रीमतीसँग मुस्किलले बाँचें लुक्लामा।
सन् २०१३ सेप्टेम्बर २६ का दिन श्रीमतीसँग लुक्ला गएको थिएँ। त्यस दुर्घटनामा जेठा दाइका छोरीज्वाइँ दावाग्याल्जेन शेर्पा बिते। म पनि ठूलै भाग्यले बाँच्न पुगें। सम्झिन्छु– के लेखेको रहेछ मेरो भाग्यमा ! हेलिकप्टरमै दुवै भाइ बिते। त्यसैले हेलिकप्टर चढ्न निकै डर लाग्छ। किनभने अब त एक्लो छु। मेरो परिवारको मात्र होइन, मेरा दाइ र दुइ भाइको परिवारका लागि म नै अभिभावक हुँ। एक्लो छु– त्यही भएर हेलिकप्टर चढ्न मन लागिहाल्दैन। म, साइँला र कान्छा भाइ मिलेर व्यापार अगाडि बढायौं। सुरु मैले गरें। पछि साइँला र कान्छा भाइको साथ लिएको हुँ व्यापारमा। मेरो नेतृत्व अहिले भाइहरू नहुँदा पनि निरन्तर छ। अहिले ३५ वर्ष भयो। सन् १९९१ बाट भाइहरूसँग मिलेर व्यापारलाई गति दिएको हुँ। आजसम्म व्यापारमा अनेक स्थिति आए। अनेकौं असजिला र कठिन अवस्था नआएका होइनन्। तर पनि निरन्तर समर्पित छु।
भाइ आङछिरिङको अभाव हरेक दिन खट्किन्छ। व्यापारका सबै कुरामा सक्षम छु। तर समस्या खडा हुँदा साइँला भाइको अभाव खट्किन्छ। भाइ र मेरो एक वर्षको उमेर अन्तर थियो। धेरै मिल्थ्यौं। धेरै कुरा उस्तै–उस्तै हुन्थे। खानपान, आनीबानी, लुगा, जुत्ता धेरै कुरा मिल्थे। अनुभव र भावना पनि
दुवैका उस्तै थिए। भाइलाई केही भए म प्रभावित हुने, मलाई केही भए भाइलाई दुख्ने गथ्र्याे। भाइभन्दा पनि हामी हितचित्त मिल्ने साथी थियौं। उनी भित्र–बाहिर एकै थिए। उनको व्यवहार पनि एकै खालको थियो। हरेक दुःखसुखका कुरा भन्थे। भाइलाई मेरा जम्मै कुरा सुनाएको थिएँ। अहिले भाइ नहुँदा मैले सबथोक गुमाए झैं लाग्छ। मनका कुरा सुनाउने मानिसै छैनन् छेउछाउमा यतिबेला।
आङछिरिङ भएको भए समस्याको समाधान खोज्नमा सघाउँथे कि भन्ने परिरहन्छ। म शान्त छु, भाइ अत्यन्तै आक्रामक खालका थिए। म अलिक अन्तर्मुखी छु। तर उनी बहिर्मुखी स्वभावका थिए। उनलाई हरेक पाइलामा सम्झिरहेको हुन्छु। उनीसँग कुरा गरेका, देश–विदेश घुमेका, सरसामान किनेका, मान्छेसँग छलफल गरेका, कुनै पार्टीतिर गएका, आफन्तसँग भेटघाट गरेका प्रसंग सम्झिरहेको हुन्छु। नेपालीपन उनलाई अति मन पथ्र्यो। नेपाली खाना, संस्कृति, रहनसहनका उनी अत्यन्तै लोभी थिए। आफ्नो मौलिकताको ज्यादै प्रशंसा गर्थे। विदेश पनि भाइ आङछिरिङसँग धेरै गएँ। कहिलेकाहीँ त ६ महिना जस्तो हामी बाहिर–बाहिरै हुन्थ्यांै। मार्केटिङको काम हुनाले लामै समय विदेश बस्नु पथ्र्यो। मार्केटिङको योजना म बनाउँथें, अन्य व्यवस्थापन साइँला भाइको हुन्थ्यो।
विदेशका फाइभ स्टार होटलमा बस्दा पनि उनलाई नेपाली स्वादको मासुभातै चाहिन्थ्यो। होटलमा एउटा भान्सा भए हुन्थ्यो। त्यहीँ खसीको मासु र भात पकाएर खान पाए हुन्थ्यो। सागसब्जी, आलु र पीरो खुबै मन पथ्र्यो। मैले कुनै रातो कोट लगाएर कार्यक्रमतिर जाँदा उनले पनि कुनै न कुनै रातो कपडा लगाएकै हुन्थे। मैले कालो पाइन्ट लगाएर गएको हुन्थें, भाइले पनि कालो कोट लगाएर गएका हुन्थे। टोपी, जुत्ता, सर्ट, स्विटर, ज्याकेटका रङ कुनै न कुनै मिलेका हुन्थे। अनि हामी दाजुभाइ एकअर्कालाई आँखा सन्काएर मेरो जस्तै लगाएको भन्ने संकेत गथ्र्यौं। अनि एकअर्कालाई हेर्दै मुस्कुराउँथ्यांै। मानौं, भाषामा संवाद गथ्र्यौं– ‘तिमीले पनि आज मेरो जस्तै पो लगाएछौ त।’
भाइ आङछिरिङ मेरा लागि मेरुदण्डजस्तै थिए। हरेक कुरामा उनी जोडिएका थिए। धेरै मान्छे भाइका सामु बोल्नै सक्दैनथे। ज्यादै मनकारी स्वभाव पनि थियो उनको। असाध्यै ठूलो दिल थियो। कसैलाई कुनै मद्दत गर्नुपर्यो भने उनी मुठीले होइन, अँगालोभरिको मद्दत गर्थे। समाजमा उनलाई सबैले उदार मनकै रूपमा हेर्थे। हृदय खन्याएर व्यवहार गर्न मन गर्थे। हामी आफूले गरेका कामको कहिल्यै पत्रिकामा प्रचारबाजी गरेनौं। कामले जितौं, क्षणिक प्रभावका पछाडि नकुँदौं भन्थ्यौं।
माओवादी द्वन्द्वका समयमा पर्यटन व्यवसाय ज्यादै नराम्रोसँग प्रभावित भयो। जे जस्तो परिस्थिति भए पनि सकेसम्म सेवामा कमी ल्याइनँ। गुणस्तरीय सुविधामा सम्झौता गरिनँ। त्यही भएर द्वन्द्वको चरम र भयावह स्थितिमा पर्यटक आउँदा सकेसम्म सुरक्षित सेवा प्रदान गरिरहें। अलिक पछि ज्यादै गाह्रो भयो। धान्नै नसक्ने अवस्था देखा पर्यो। हरेक क्षेत्रमा नोक्सानै–नोक्सान भयो। जताततै भयावहसँगै सन्त्रास फैलिएपछि साहै्र दिक्दारमा परें। यत्रो लगानी भएको व्यापार व्यवसाय थियो। कतैबाट सहयोग र मद्दत थिएन। जताततैबाट अप्ठ्यारो र असहयोग मात्रै थियो। मन साह्रै खिन्न भयो। पर्यटकले जुन सेवासुविधा र सुरक्षाको ग्यारेन्टी खोज्थे, त्यो दिन सक्ने स्थिति थिएन। निकै छटपटिएँ।
सन् २००१ तिर हुनुपर्छ। भाइ आङछिरिङलाई देशको यो उकुसमुकुसिँदो वातावरणबारे सुनाएँ। ‘छिरिङ, देशको अवस्था नाजुक भयो। व्यापार–व्यवसाय जताततै बन्दैबन्द हुन थाले। कम्पनी घाटामा जान थाले।’ अरू कुरा पनि भाइलाई भनें, ‘मेरो अस्ट्रेलियाको एक साथीले अस्ट्रेलिया आऊ, सात लाख डलरमा भेडा पाल्न, किन्ने जग्गा उपलब्ध गराउँछु भनेको छ। छ–सात दिनमा पनि घुमेर नसकिने जग्गा बिक्रीमा रहेछ। साथीले मलाई त्यो जग्गा किन भनिरहेको छ। अस्ट्रेलियाको भेडा संसारमै प्रसिद्ध छ। चाँडो किन भनेर साथीले सुझाव दिइरहेको छ, भाइ।’ मेरो कुरा भाइले ध्यान दिएर सुनिरहेका थिए। अरू कुरा पनि थपें,‘बाहिर जाने कि ? यहाँ निकै गाह्रो हुँदै गयो। २०–३० जना कर्मचारी लिएर भेडा पाल्ने हो कि ? त्यहाँको ऊन निकै प्रसिद्ध छ।’
अघिदेखि कुरा निकै गहिरिएर सुनिरहेका भाइले भने, ‘आप्पा, हामी यहीँ जन्मियौं, हुर्कियौं। यो समस्या ढिलो चाँडो समाधान होला। अहिले समस्या छ भनेर कसरी भाग्ने ? सकेसम्म यहीँ बसेर काम गरौं। सकिएन, काम गर्ने परिस्थिति नै भएन भने गाउँ गएर खेतीपाती गरुँला। आफ्ना बाउबाजेले जोडिदिएको जग्गाजमिन छँदै छ। यै देशले हामीलाई यति धेरै दियो। हिजोका सुखका दिनमा यही समाजबाट हामीले धेरै पायौं। आज यो देशमा अप्ठ्यारो पर्दा किन बाहिर जाने, दाइ ?’ भाइका कुराले ठूलो आत्मबल पाएँ। अत्यन्तै आडभरोसा पाएको लाग्यो। साइँला भाइका कुराले ढुक्क भएँ। भाइको निष्कर्ष मानें। उनका कुरा सहर्ष स्विकारें। बेला–बेला सम्झन्छु– भाइले मानेको भए त्यो लगानी अस्ट्रेलियामा कहाँ पुग्थ्यो होला आज ? गाउँले, आफन्त, दिदीबहिनी, विदेशी साथीहरूसँग भाइले दिएको सल्लाहलाई सुनाउने गर्छु। भाइको सुझाव निकै उपयोगी, व्यावहारिक र कामलाग्दो लाग्छ।
देशप्रति भाइको कति ठूलो माया र प्रेम रहेछ भन्ने लाग्छ। उनले कति गहिरो ज्ञान दिएका रहेछन्। उनको विचार र सल्लाह सम्झिँदा साह्रै खुसी लाग्छ। प्रायः विदेश जाँदा कान्छा, साइँला भाइ र मेरो गरी तीन परिवारका लागि सामान किन्थें। ती सबै सामान बराबर हुन्थे। कान्छा, साइँला र मैले एउटा सल्लाह गरेका थियौं। त्यो सल्लाह पनि अपूरै र अधुरै रह्यो। हामी तीन भाइको एकै ठाउँमा घर बनाउने रहर थियो। एउटै कम्पाउन्डमा पोलदोर्जे कोलोनी बनाउने इच्छा थियो। पोलदोर्जे हाम्रो गोत्र हो। यही गोत्रको परिचयबाट कोलोनी बनाउन खोजेका थियौं। तर हाम्रो सपना पूरा भएन। हामी छिन्नभिन्न भएर बस्नुपर्ने भयो। यो सम्झिँदा असाध्यै खिन्न हुन्छु।
मेरो र आङछिरिङको अनुहार उस्तै–उस्तै थियो। कति त पूरै झुक्किन्थे। भाइलाई कतिले झुक्किएर सो नाम दाइ भन्थे, कतिले मेरो सामुन्ने आएर छिरिङ दाइ भन्थे। झुक्किनेहरू मेरा सामु आएर छिरिङ भाइका कुरा र छिरिङका सामुन्ने मेरा कुरा पनि गर्दा रहेछन्। भाइसँग लिने दिने व्यवहार पनि मसँग गर्थे। मसँग लेनदेन गर्नुपर्नेे कारोबार भाइसँग गर्दा रहेछन्। सन् २०१९ मेरा लागि अत्यन्तै दुःखदायी वर्ष भयो। यही वर्षको फेब्रुअरी २८ का दिन साइँला भाइलाई सधैंका लागि गुमाएँ। मेरो जीवनमा यो वर्ष, महिना र तारिख कहिल्यै नभुल्ने भयो। जुन जीवनकै अत्यन्तै कालो वर्ष रहेछ।
कम्पनीको आफ्नै र व्यापारको कामले आङछिरिङ फ्रान्स जाँदै थिए। केही दिनअघि यसबारेमा थोरै कुरा भएका थिए। आइतबार बेलुकीको उनको फ्लाइट थियो। तर बिहानै भाइको दुःखद् निधन भयो। भाइ फ्रान्स गएको भए उनको मृत्यु टथ्र्याे कि ? मनमनै यही कुरा खेलिरहन्छ। आइतबारको दिन अफिसमै थिएँ। बसुन्धरामा अफिस सरेपछि एकै ठाउँबाट सबै काम भइरहेथे। अफिसमा आएर आफ्नै काममा व्यस्त थिएँ। यस्तै १२ बजेतिर मेरो कानमा खबर आयो– हेलिकप्टर मिसिङ भयो। यो कुरा सुन्नेबित्तिकै लाग्यो– घटना घट्यो। अब भाइलाई सशरीर भेट्न पाउँदिनँ। भाइ गुमाएँ–गुमाएँ भन्ने मनमा लाग्यो।
सूचना सुन्दा मलाई आकाश फाटेजस्तो लाग्यो। धर्ती चिरिएर फुटेजस्तो भयो। केही होसै भएन। आफैंलाई नियन्त्रण गर्न सकिनँ। फोन बजेका बज्यै थिए। हजारौं त्रास मनभरि यत्रतत्र कुदिरहे। ‘साइँला भाइलाई भेट्न पाइनँ, सबैथोक गुमाएँ’ मनमा यहीमात्र आइरह्यो। पहिला जेठा दाइ, त्यसपछि बुवा अनि आमा र कान्छा भाइको निधन भयो। हुँदाहुँदा साइँला पनि। सबैको चोट र दुःख मैले नै बोक्नुपर्ने रहेछ। किन यस्तो आपत् आएको होला मैमाथि ? किन पटक–पटक मृत्युको वाण प्रहार भएको होला ? मन चिच्याइचिच्याई रोइरहेथ्यो। बाहिर मौन रहे पनि भित्र आगो जस्तो बलिरहेथे। जे भए’नि यथार्थ त यथार्थै हो।
- भाइ आङछिरिङले भने, ‘आप्पा, हामी यहीँ जन्मियौं, हुर्कियौं। यो समस्या ढिलो चाँडो समाधान होला। अहिले समस्या छ भनेर कसरी भाग्ने ? सकेसम्म यहीँ बसेर काम गरौं। यै देशले यति धेरै दियो। आज यो देशमा अप्ठ्यारो पर्दा किन बाहिर जाने, दाइ ?’
- १२ बजेतिर मेरो कानमा खबर आयो– हेलिकप्टर मिसिङ भयो। यो कुरा सुन्नेबित्तिाकै लाग्यो– घटना घट्यो। अब भाइलाई सशरीर भेट्न पाउँदिनँ। भाइ गुमाएँ भन्ने लाग्यो। सूचना सुन्दा आकाश फाटेजस्तो लाग्यो। धर्ती चिरिएर फुटेजस्तो भयो। केही होसै भएन।
- आङछिरिङ अत्यन्तै खरो मिजासको थियो। कुनै कुरा आए, त्यसबाट भाग्ने होइन, जुध्ने बानी थियो। आफ्ना कुरा प्रस्टसँग राख्न सक्ने खुबी थियो। समस्या लिएर अनेक मानिस आउँथे। ती सबैलाई बुझाएर, सम्झाएर पठाउँथे। काममा कसैसँग सम्झाौता नगर्ने उनको बानी थियो।
सत्य नस्विकारी धरै थिएन। छोरा नुर्बु र भतिजो पासाङलाई विमानस्थल पठाएँ। पर्यटनमन्त्री रवीन्द्र अधिकारीसँग आङछिरिङको अत्यन्तै राम्रो मित्रता थियो। घनिष्ठ सम्बन्ध भएका कारण साथीजस्तै थिए उनीहरू। मन्त्रीले फोन गरेर तेह्रथुम जाऊँ भनेछन्। भाइले म बेलुकी बाहिर जाँदैछु भनेर नजाने मन गरेछन्। तर मन्त्रीले अलिक ढिपी गरेर भरेसम्ममा आइहालिन्छ। तेह्रथुमको आठराई, चुहानडाँडामा विमानस्थलको शिलान्यास छ। त्यहाँ पुगेर फर्किहालुँला भनेछन्। मन्त्री साथीको अनुरोध टार्न नसकी भाइ गएका रहेछन्। चुहानडाँडाको कार्यक्रम सकेर उनीहरू ताप्लेजुङको पाथीभरा पुगेछन्।
पूजा गर्र्दा अबेरै भएछ। हावा बेस्सरी चलेपछि मन्दिरका पुजारीले नजानू पनि भनेछन्। तर उडेछन्। लगत्तै हेलिकप्टर दुर्घटनामा परेछ। मौसम अत्यन्त बिग्रिएकाले दुर्घटना भयो। भाइ आङछिरिङ, पर्यटनमन्त्री रवीन्द्र अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्रीका सुरक्षा गार्ड अर्जुन घिमिरे, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुवदास र पाइलट प्रभाकर केसीको निधन भएको खबर आउन थाल्यो। त्यही दिन खोजतलाससाथ रेस्क्यु भयो।
उद्धार गरेपछि भाइको शव चिनियो। बेलुकै शव काठमाडौं ल्याउन सक्यौं। भाइको अन्तिम संस्कार टेकु दोभान पचलीघाटमा गराएँ। दुःख–आपत् पर्दा अरूलाई सम्झाउने म आज आफैं संयमित हुन नसक्ने भएको थिएँ। जतासुकै भाइ नै भाइ देख्थें। कतिखेर रात पर्छ, कतिखेर बिहान हुन्छ, कतिखेर घाम लाग्छ, कतिखेर साँझ हुन्छ, केही समयसम्म अनुभवै गर्न सकिनँ। यति धेरै स्तब्ध भएँ। भाइको अन्तिम संस्कारमा कुनै कमी गरिनँ। घर र काठमाडौंमा पनि लामा राखेर निरन्तर ४५ दिन पूजापाठ गराएँ। उनको मोक्षको कामना गर्दै जिम्बा पूजा लगाएँ।
२५ फेब्रुअरी शुक्रबार। अर्थात् यो घटना हुनुभन्दा दुई दिनअघिको कुरा। दिउँसो २ बजेतिर फोन आयो साइँला भाइको। ‘आज बेलुकी सँगै खाने है, आप्पा !’ भाइले भने। अफिसमै कामको व्यस्तता थियो। भाइले फोनमा अरू कुरा पनि थपे। उनको साथी आङकामी शेर्पासहित साँझ दरबारमार्गको गजल रेस्टुराँमा केही घण्टा खाँदै बस्यौं। सबैजना दोहोरी पनि गयौं, रमायौं पनि। भाइकै रहरअनुसार हामी क्लबमा गयौं। त्यहाँ पनि नाचगान, खानपिन, हाँसो, गफगाफ सबै भयो। बिहानको ५ बजेतिर घरतिर लागें उनीहरूलाई क्लबमै छोडेर। म घर आएर सुतें। शनिबारको दिन सबैको छुट्टी थियो। भाइहरू पनि छुट्टी मनाएर बसे होलान् भन्ने सोचेर कसैसँग सम्पर्क गरिनँ। आइतबार भाइको दुर्घटना भइहाल्यो। यो सबै अन्तिम हुनैका लागि दाजुभाइ मस्तले रमाइलो गर भन्ने पूर्वसंकेत थियो कि ? अहिले पनि स्तब्ध हुन्छु।
विमानस्थल निर्माणमा भाइको निकै रुचि थियो। उनी नेपाललाई चाँडै विकास गर्न हिमाली र पहाडी विमानस्थल चाँडै विकास र विस्तार गर्नुपर्छ भन्ने धारणा राख्थे। हामी दुवैले राम्रोसँग पढ्न पाएनौं। घरव्यवहारमा फस्यौं। त्यसैले स्वर्गवासी भाइ आङछिरिङबारे केही न केही कीर्ति राखिदिने इच्छा छ। उनका नाममा फाउन्डेसन खोलिदिने इच्छा बनाएका थियौं। फाउन्डेसनलाई बुहारी चन्दा, भतिजा राखेर पूर्णता दिने लक्ष्य छ। जसबाट शिक्षा, संस्कृति र धर्मसँग सम्बन्धित कार्य गरिनेछ। असहायको उत्थान र विपत्तिमा परेका एकल महिलालाई सीपमूलक तालिम दिएर आत्मनिर्भर र आत्मबल दिने लक्ष्य छ। मेरो यो विशेष इच्छामा भाइका परिवारको समर्थन हुनेछ। अस्पताल, औषधि, डाक्टर इत्यादि क्षेत्रमा फाउन्डेसनले काम गर्ने लक्ष्य बनाउनुपर्छ।
एउटा ठोस कार्यको प्रारम्भ गरिसकेको छु– भाइ आङछिरिङको स्मृतिमा। लुम्बिनी गुरुयोजनाभित्र भाइलाई स्मरण गर्ने पक्ष बनोस् भन्ने इच्छा राखेर काम अगाडि बढाइसकें। लुम्बिनी विकास कोषलाई विशेष अनुरोध गरें। कोषले विभिन्न देश, समुदाय र विशिष्ट क्षेत्रलाई गुम्बा, चैत्य, विहार र धर्मशाला निर्माण गर्न पाइने अनुमति दिँदो रहेछ। सरकारी नीतिअनुसार केही जग्गा माग गर्यौं। उपलब्ध पनि भयो। अब एउटा हिमाली जिल्लाको प्रतिनिधित्व गर्दै त्यहाँ एक भव्य धर्मशाला बनाउने सपना छ। सोही ठाउँमा सोलुखुम्बुका शेर्पाहरूका लागि ध्यान, विश्राम, अध्ययन कक्ष बनाइदिने विशेष चाहना छ।
सोलुखुम्बुमा हिउँदमा माइनस १५–२० डिग्रीसम्म चिसो हुन्छ। त्यतिबेला लुम्बिनीमा आएर बस्न, पाठपूजा गर्न, अध्ययन चिन्तन गर्न, ध्यान गर्न र आरामदायी जीवन बिताउन मिल्नेगरी धर्मशाला निर्माण गराउने पनि लक्ष्य छ। तीन वर्षअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट त्यसको शिलान्यास भइसकेको छ। जसको नाम छ– आङछिरिङ गोम्बा सेन्टर। सोलुखुम्बुमा ९० हजार जनसंख्या छ। जिल्लावासीलाई कुनै न कुनै रोजगार दिने हाम्रो लक्ष्य थियो। १० हजारलाई त रोजगारी दिने योजना र हिम्मत थियो। देशको परिस्थितिले केही गर्न सकेनौं। भाइ र मेरो लक्ष्य अधुरै भयो। भाइ आङछिरिङ र मेरो सम्बन्ध मान्छेले पत्याउनै नसक्ने खालको थियो। हामी ठुल्ठूला कारोबारबारे कुराकानी फोनमै गथ्र्यौं। ज्यादै गहकिला र गम्भीर निर्णय फोनमै हुन्थ्यो। साइँला भाइको आनीबानी बुवाको जस्तै थियो।
शेर्पा समुदायकी छोरी प्रतिमा अमेरिकामा छन्। तिनलाई नागरिकता बनाउन साह्रै मुस्किल परेको थियो। थाहा पाएर साइँला भाइले सहयोग गरे। बाबु शेर्पा र आमा बाहुनी रहेछन्। प्रतिमालाई बाबुकै दाजुभाइ शेर्पाहरूले नागरिकता दिन अस्वीकार गरेछन्। प्रतिमाले बताएपछि साइँला भाइले प्रतिमा र उनका बाबुलाई लिएर सोलु गएछन् हेलिकप्टर चार्टर गरेर। गन्यमान्यलाई साक्षी राखेर नागरिकता दिलाएछन्। अहिले उनले अमेरिकामा गल्फ खेलमा नाम कमाइरहेकी छन्।
उच्च शिक्षामा प्रगति गरिरहेकी छन्। उनले अहिले ग्य्राजुएसन पूरा गरिन्। भाइकै प्रयासले नेपालकी एउटी छोरीको भविष्य राम्रो भयो। यस्ता धेरैलाई भाइ आङछिरिङले उद्धार गरेका छन्। संकटमा परेका निजामती कर्मचारी, प्रहरी, सेना, न्यायालयका कर्मचारीलाई उनले मनैदेखि सहयोग गरे। पढ्न नपाएका कैयौं विद्यार्थीलाई आर्थिक मद्दत पनि गरे। त्यसैले सायद भाइका शुभेच्छुक पनि थुपै्र छन्। उनी राजनीतिमा पनि निकै चासो राख्थे। एमाले र माओवादीलाई एकीकृत गराउन भाइको पनि ठूलो योगदान थियो। त्यो फराकिलो र उदार राजनीतिक चेतना र गुण भाइमा थियो। पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, पूर्वप्रधानमन्त्री सुशील कोइराला, नोना कोइराला, सशांक कोइरालाहरूसँग पनि उनको ज्यादै राम्रो सम्बन्ध थियो।
‘भाइ बाघ वर्षमा जन्मेकाले बाघजस्तै रिसाहा र कडा छ। तिमीले सम्झाउनू, अत्यन्तै ख्याल गर्नू। यो त छिनभरमै आगो हुन्छ, तिमीले पानीको शीतलताले भिजाउनू’, भाइको खरो स्वभावबारे आमाले चिन्ता जनाउँदै भन्नुभएको थियो। भाइको भन्दा म ठीक उल्टो वर्ष अर्थात् मुसा वर्षमा जन्मिएको थिएँ। मेरो स्वभाव, आनीबानी उनकोभन्दा पूरै विपरीत छ– शान्त, नरम, मौन खालको। भाइ कडामात्र होइन, मानवीय रूपमा पग्लन्थे। अन्याय, अत्याचार भने सहन सक्दैनथे।
पुस्तकको सम्पादित अंश