मेरो भोजपुर
ट्याम्केलाई आफ्नो शिर बनाएर
खोटाङ, धनकुटा, उदयपुर र संखुवासभा राखी
आफ्नो पाउ अरुण नदीको किनारमाथि टेकेर
एकनासमा उभिइरहने,
त्यही हो मेरो भोजपुर।
रामप्रसाद राईजस्ता योद्धा
जन्माएको माझकिराँत बस्तीभित्र
बहुल जातिहरूको पहिचानसहित
शाल्पा पोखरीको पानीले स्नान गरी
दिङ्लाको रुद्राक्षको माला गलाभरि लगाई
इर्खुवा चिर्खुवा र पिखुवाको
मधुर संगीतमा सिद्धकाली मन्दिरभित्र
साँझ बत्ती झल्मलाउँदै जहाँ
सु–शान्तिको भजन कीर्तन गुजिरहन्छ,
त्यही हो मेरो भोजपुर।
टक काटिने टक्सारलाई
इतिहासमा बोकी
दुई नगर र सात गाउँपालिकालाई
आफ्नो काखमा न्यानो बनाएर
अनेकौं झाँकी मारुनी र लाखेको साथमा
भोजपुरे पहिचान खुकुरी चम्काउँदै
सधैं खुसीको उत्सव मनाइरहने,
त्यही हो मेरो भोजपुर।
आफ्नो गर्वबाट कठोरताका साथ
महान विद्वान् विदुषी कलाकार साहित्यकार
र नेता नेतृहरूको जन्म दिएर
योग्य सक्षम र स्वावलम्बीको
दिगदर्शन सिकाउँदै
देशकै उँचो ओहोदामा पुग्न सक्ने
कुशल सन्तानको जन्म दिइरहने,
त्यही हो मेरो भोजपुर।
षडानन्दलाई छातीमा बोकेर
शेर्पा, गुरुङ, राई, मगर, श्रेष्ठ, बिक, मोते
बोगटी, रम्तेल, ब्राह्मण, क्षेत्री आदि
सबैलाई वरिपरि साक्षी राखी
जहाँ सदैव बोलिरहन्छ सतीघाट
नेपालमा सतीप्रथाको अन्त्य गर्ने
पहिलो जुझारु नारी योगमाया हुन् भनेर,
त्यही हो मेरो भोजपुर।
आँप, चाँप, गुराँस, सुनाखरी र बुकीमा उभिएर
आफ्नो सुन्दरता एकरूपताले देखाएर
सल्ला कटुस घँगारु सतिबयार र ऐंसेलुको
वस्त्रभित्र सजिएर जहाँ नतमस्तक भएर
सजिएको देखिन्छ, त्यही हो मेरो भोजपुर !