नवलपरासीमा १० करोडका योजना प्रभावित

नवलपरासीमा १० करोडका योजना प्रभावित
सुन्नुहोस्

परासी : नवलपरासीको रामग्राम नगरपालिकामा १० करोड बराबरका कार्यक्रम र योजनाहरू प्रभावित भएका छन्। अनुदानमा आउने बजेट कटौतीसँगै लक्ष्यअनुरुप आन्तरिक राजश्व संकलन हुन नसक्ने भएपछि कार्यक्रम र योजनाहरू प्रभावित भएका हुन्। 

नगरपालिकाको १३ औं नगर सभाले यसअघिको नगर सभाले पास गरेका केही कार्यक्रम र योजनाहरू कटौती गरेको नगर प्रमुख धनपत यादवले बताए। ‘नगरपालिकाले चालु आव मा सञ्चालन गर्नका लागि तय गरेका केही कार्यक्रम र योजनाहरूमा आउन पर्ने रकम आउन नसक्ने भएपछि कुल बजेटमा ९ करोड ८० लाख संकुचन गरिएको छ। यसले केही कार्यक्रम र योजनाहरू प्रभावित भएका छन्’, नगर प्रमुख यादवले भने। 

चालु आवका लागि गत नगर सभाले १ अर्ब २७ करोड ९३ लाख बजेट विनियोजन गरेको थियो। उक्त बजेटलाई संकुचन गर्दै अहिलेको नगर सभाले कुल १ अर्ब १८ करोड १३ लाख कायम गरेको हो। गत नगर सभाले चालु आवमा ४३४ योजना छनौट गरेको थियो। अहिलेसम्म १३४ को हाराहारीमा योजना सम्झौता भएका छन्। सम्झौता हुन बाँकी योजना र कार्यक्रमको प्रकृति हेरेर केही योजना खारेजी र केही योजनामा रकम घटाइएको हो। 

आन्तरिक आम्दानीसँगै संघीय र प्रदेश सरकारबाट आउने अनुदान रकममा कटौती हुने भएपछि चालु आवका लागि बजेट घटाइएको हो। चालु आवका लागि संघीय सरकारबाट १६ करोड र प्रदेश सरकारबाट १ करोड अनुदान रकम पठाउने भनिएको थियो। 

अहिलेसम्म दुवै सरकारबाट ५० प्रतिशत मात्र रकम आएको प्रमुख प्रशासकीय अधिकृत मोहन अर्यालले बताए। ‘संघीय सरकारबाट अब ७ प्रतिशत मात्र रकम आउने निश्चित भएको छ। अरु रकम आउन सक्ने देखिएको छैन। प्रदेश सरकारले अहिलेसम्म रकम कटौती बारे केही नबताए पनि आर्थिक मन्दीका कारण त्यहाँबाट पनि आउने सम्भावना कम छ। त्यसैले रकम संकुचन गरेर बजेट बनाउनु परेको हो,’ प्रमुख प्रशासकीय अधिकृत अर्यालले भने। नगरपालिकाले चालु आवमा ६ करोड ३० लाख रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको थियो। आन्तरिक राजश्व पनि उठ्न नसक्ने देखिएको अर्यालले बताए। 

कटौती गरेका कार्यक्रम र योजनामा यसवर्ष सञ्चालन नगरे पनि असर नपुग्ने प्रकृतिका छन्। त्यस्तै केही योजना चालु वर्षमा आधा र अर्को वर्षमा आधा काम सक्ने गरी रकम विनियोजन गरेका योजनाहरूलाई हटाएर बजेट संकुचन गरिएको नगरपालिकाले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.