प्रेमको ढाइ अक्षर

प्रेमको ढाइ अक्षर

मानवीय जीवनमा भावनाको ठूलो भूमिका रहन्छ। प्रेम, भय, डर, खुसी, आनन्द तथा उदासी आदि मानवीय जीवनका प्रमुख भावनाहरू हुन्। यी भावना ब्रेनका मूल संवेग हुन्। मूल संवेग अनार्जित र सार्वत्रिक हुन्छन्। अर्को शब्दमा भन्ने हो भने यस्ता प्रमुख भावना सबै संस्कृतिहरूमा पाइन्छन्। जस्तो कि आफन्त तथा प्रियजनको बिछोडमा हरेक मानिस कुनै न कुनै रूपमा दुःखी तथा उदास हुन्छन् भने प्रेममा, मिलनमा तथा सफलतामा मानिस खुसी, सुखी र आनन्नदित हुन्छन्। त्यसैले हरेक सामान्य मानिसले जीवनमा प्रेम चाहन्छ, मिलन चाहन्छ, सफलता चाहन्छ।

प्रेम एक धनात्मक भावना हो। यो भावना मानिसमा बाल्यकालदेखि नै विकसित हुन्छ। जब मानिसको ब्रेन कुनै मानिस, पशुपन्छी, स्थान तथा पदार्थप्रति आकर्षण विकसित हुन्छ, तब यस्तो संवेगात्मक स्थितिलाई प्रेमको संज्ञा दिइन्छ। यस्तो संवेगमा व्यक्तिले मित्रता, सहानुभूति तथा सहयोगको प्रवृत्ति देखाउँछ। प्रेमले मानिसको तनमनमा ठूलो प्रभाव पार्छ। प्रेमले शरीरमा इन्डोर्फिन, सेरोटोनीन तथा इम्युनोग्लोबुलिनजस्ता मस्तिष्क रसायनहरू, जसले मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा ठूलो भूमिका निभाउँछन्, निस्कासन गर्छ।

सकारात्मक प्रेमको विचारले खुसीका अणुहरू निष्कासन गर्छ जबकि नकारात्मक विचारले हाम्रो इम्युनिटीलाई नै कमजोर पार्छ, जसले गर्दा रोगहरूले आक्रमण गर्छन्। त्यसैले ठोकुवा नै गर्न सकिन्छ, मानिसको रोगका लागि प्रेमभन्दा ठूलो चिकित्सा यो जगत्मा अर्को कुनै छैन । वास्तवमा प्रेम हरेक रोगको औषधि हो। प्रत्येक रोगको उपचार हो। यो कुरा हरेक चिकित्सकहरूले बुझ्नुपर्छ। बिरामीहरूलाई प्रेम र विश्वासको क्याप्सुलमा औषधि हालेर दिनुपर्छ। तब जस्तोसुकै घातक रोग पनि निको हुन सक्छ।

प्रेमबिना मानिसको जीवन असम्भव छ । प्रेमबिना मानिस बाँच्नै सक्दैन । अरू कुरो छोडौं, तपाईंको शरीरका अंगप्रत्यंगले पनि बेला–बेलामा तपाईंको ध्यान आकर्षण गर्न खोज्छन् । तपाईंको प्रेम खोज्छन् । त्यसैले शरीरका कुनै अंग दुखेको छ भने यो यसकारणले गर्दा हो कि त्यहाँका जीव कोषहरूले तपाईंको प्रेम खोजिरहेका छन् । त्यसैले त्यो अंगमा ध्यान दिनुहोस् । प्रेमपूर्वक त्यो अंगलाई स्पर्श गर्नुहोस् त, तपाईंले तुरुन्तै राहत महसुस गर्नु हुनेछ । त्यसैले त प्रसिद्ध लेखक एम्मेट फाक्सले भनेका छन्, ‘यदि तिमीले पर्याप्त प्रेम गर्न मात्र सक्यौ भने तिमी संसारको सबैभन्दा शक्तिशाली व्यक्ति बन्ने छौं।’

हुन पनि हो, यो प्रेम शब्द नै यति मीठो र श्रुतिमधुर छ कि यो शब्दध्वनि कानमा पर्नासाथ मनस्थिति तुरुन्तै परिवर्तन हुन्छ । र, मन प्रेम रसमा आल्हादित हुन्छ । प्रेममा आनन्द छ । प्रेममा शीतलता र शान्ति छ । प्रेममा शक्ति पनि छ । प्रेम नै यस्तो मनोभाव हो, जसले मानिसलाई शान्ति पनि दिन्छ, शक्ति पनि दिन्छ । वास्तवमा प्रेम जीवनको प्रेरक शक्ति हो, मस्तिष्कको अपार ऊर्जा हो, असिम सुखको पवित्र गंगा हो, परम शान्तिको अनन्त स्रोत हो । जब मानिस प्रेममय हुन्छ, तब ऊ वास्तविक स्थितिमा रूपान्तरित हुनपुग्छ । प्रेमको धारा व्यापक छ, समग्र छ, सर्वत्र र सार्वभौमिक छ । त्यसैले नै बेन्जामिन डिजरायलीले भनेका छन्ः ‘हामी सबै प्रेम गर्न उत्पत्ति भएका हौं । यो नै अस्तित्वको सिद्धान्त हो । र, एकमात्र अन्त ।’
हो, प्रेम सकारात्मक भावना हो। तर, प्रेममा बिघ्न–बाधा तथा अड्चन आइप¥यो भने प्रेम स्वयं एक समस्या बन्छ। यसले मानिसमा क्रोध, व्यथा तथा उदासी जस्ता नकारात्मक भावना निम्ताउँछ। उदासी यस्तो सांवेगिक प्रतिक्रिया हो, जो प्रिय मानिस बिछोड हँुदा तथा प्रिय वस्तु हराउँदा उत्पन्न हुन्छ। जब यस्तो उदासीको संवेग ज्यादै तीव्र हुन्छ, त्यसलाई शोक वा विषाद भनिन्छ। यदि शोक अवधि धेरै लम्बियो भने जीवनको चारैतिर अँध्यारो छाउँछ। मानिस जिउँदो लासजस्तो भएर बाँचेको हुन्छ। यसलाई कडाखालको अवसाद भनिन्छ। र, आधुनिक समाजमा डिप्रेसन आत्महत्याको 
एक प्रमुख कारणको रूपमा गनिन्छ।

डिप्रेसन कुनै नयाँ समस्या होइन, युगौंदेखि, अझ भन्ने हो भने मानिसको उत्पत्तिसँगै समाजमा देखा परेको मनोवैज्ञानिक समस्या हो। यस समस्याको पुरानो नाम उदासीनता हो। हजारौं वर्ष पहिला, रामायणमा, रामको बिछोडमा दशरथ तथा सीताको बिछोडमा रामसमेत डिप्रेसनको शिकार भएको देखिन्छ भन्ने महाभारतमा श्रेष्ठ धनुर्धरको उपाधि पाएका अर्जुन पनि उदासीनताका चुंगुलमा परेको भेटिन्छ। रामले हनुमानको सहयोग पाए। अर्जुनले कृष्णको सहयोग पाए र दुवै लक्ष्य पूरा गर्न सफल भए। तर, दशरथले यस्तो मौका पाएनन्। उदासीनताकै कारणले उनको ज्यान गयो। कृष्णले अर्जुनलाई दिएको त्यो उपदेशलाई गीता भनिन्छ। सम्भवतः यो सबैभन्दा पुरानो मनोचिकित्सा हो र कृष्ण पहिलो मनोचिकित्सक ?

नेपाली समाजमा प्रेमीप्रेमिकाको प्रेमको बाधक भनेको नै जातपात र धन हो। त्यसो त शिक्षा पनि कहिलेकाहीँ प्रेममा बाधक बन्ने गर्छ। अल्लारे प्रेमले पनि धेरै युवाको जीवनमा समस्या पैदा गर्छ। किनकि अल्लारे बैंसमा धेरै युवाले प्रेमलाई केवल यौन तृष्णाको प्यास बुझाउने माध्यम ठान्छन् र यस्तै प्रेममा रमाउन चाहन्छन्। तर, ढिलो–चाँडो यस्तो उन्मत्त कामुक प्रेमले मानिसको जीवनमा धेरै समस्या निम्ताउँछ।

युवाको कुरामात्र पनि होइन, किशोरकिशोरीदेखि वृद्धवृद्धामा पनि हिजोदेखि नै यौन प्रमुख आकर्षणको केन्द्र भएको छ। हो, यौन प्राकृतिक कुरा हो। हरेक सामान्य मानिसमा यौन चाहाना हुन्छ नै। अधिकांश मनोवैज्ञानिक तथा यौन विशेषज्ञहरू यस कुरामा सहमत छन् कि मानिसमा यौन भावना जन्मदेखि नै एक ऊर्जाको रुपमा मौजुत हुन्छ। जसले स्त्री–पुरुष दुवैलाई स्वर्गीय सुख दिलाउँछ। वास्तवमा उध्र्वगामी अर्थात् धनात्मक दिशाको यौन एक ऊर्जा हो, असीमित शक्ति हो। त्यसैले भन्न सकिन्छ, उध्र्वगामी प्रेम र यौन भावानाले नै मानिस शक्ति दिन्छ, मनमस्तिष्कलाई अपार ऊर्जा दिन्छ । र, नै मानिस महान् बन्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.