२०४२ सालमा सुनथराली विमानस्थल निर्माणको थालनी हुँदा ४६ वर्षको थिएँ। त्यतिबेला कालीकोटमा हवाई सेवाका नाममा खाद्यान्न बोक्ने हेलिकप्टर मात्र चलथ्यो। त्यसमा सुर्खेत–नेपालगञ्ज जान ठूलो पावर चाहिन्थ्यो। गाउँका जो कोहीले हेलिकप्टर चढ्न पाउँदैनन् थिए। जिल्ला सदरमुकामबाट हेलिकप्टरमा सुर्खेत जान आफ्नो मान्छे नेता वा सीडीओसँग चिनजानको हुनुपथ्र्यो। सर्वसाधारणले त आकाशमा उडेको मात्र देख्न पाउँथे। नजिकबाट हेलिकप्टर देख्ने पनि सदरमुकाम आएका केही निश्चित मान्छेहरू मात्र थिए। उनीहरूकै कुरा सुनेर हामी रोमाञ्चित हुन्थ्यौं।
२०४२ सालमा कोटबाडामा चिलगाडी आउने हल्ला गाउँमा फैलियो। जतिबेला विमानस्थल निर्माणका लागि शिलान्यास भएको मात्र थियो, त्यसपछि केही वर्ष भन्दाभन्दा कामै भएन। बहुदलपछि २०४८ सालमा कालीकोटबाट तिलागुफा धनाडाका तिलक न्यौपाने सांसद भए। उनले नै पहिलोपटक सरकारी बजेट छुट्ट्याउन पहल गरेर विमानस्थल निर्माणको काम अगाडि बढ्यो। विमानस्थल बन्ला र आफ्नै गाउँबाट जहाज चढौंला भनेर मैले पनि आफू ४६ वर्षको हुँदा नै सपना देखेको थिएँ। तर, मेरो सपना अधुरै रह्यो।
मनबहादुर विष्ट
२०७३ सालमा पहिलोपटक सुनथरालीमा जहाज आयो। अब त जहाज चढ्ने सपना पूरा होला भन्ने थियो। तर, भएन। बल्ल–बल्ल २०७९ पुसमा विमानस्थल निर्माणको काम सम्पन्न भयो। त्यसपछि उद्घाटन हुन फेरि एक वर्ष लाग्यो। अर्थात निर्माण थालिएको ३८ वर्षपछि विमानस्थल सञ्चालनमा आएको हो। तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीको पहलमा सुनथरालीमा २०७३ साल माघ २९ गते पहिलो पटक परीक्षण उडान भएको थियो। विमानस्थल कालोपत्रे भइसकेपछि सोमबार तारा एयरको विमानले दोस्रोपटक परीक्षण उडान गरेको हो।
सोमबार कोटबाडामा विमानस्थल उद्घाटन कार्यक्रममा आएको थिएँ। कालीकोटका प्रदेशसभा सांसद हिक्मतबहादुर विष्ट सुर्खेतबाट जहाजमा सुनथराली आएका थिए। उनी गाउँमै केही दिन बस्ने भनेपछि सांसद विष्टको बोर्डिङ पासमा मेरो नाम लेखेर पहिलोपटक सुनथरालीबाट सुर्खेत जहाजमा आउने अवसर पाएँ। मैले ४६ वर्षको उमेरमा देखेको सपना ८४ वर्षको उमेरमा आएर बल्ल पूरा भयो। मेरो त यो उमेरमा जहाज चढ्ने सपना पूरा भयो।
सुनथरालीबाट चिलगाडी चढ्ने सपना देखेका मजस्ता कैयौं अहिले जीवित छैनन्। तीमध्ये कतिपय मेरा साथीहरू पनि थिए। ती अहिले बाँचेको भए मैलेजस्तै जहाज चढ्न पाउँथे कि ? भन्ने लाग्छ। उद्घाटनका क्रममा सुनथराली विमानस्थलमा सातामा नियमित एक उडान हुने भनेकाले मजस्ता धेरै कालीकोटवासीले आफ्नो रहर पूरा गर्न पाउने छन्।
(मनबहादुर विष्ट, नरहरीनाथ गाउँपालिका–८ कालीकोटका ज्येष्ठ नागरिक हुन्।)