विनाश नहोस् भन्दै माझी समुदायले गरे नदि पूजा
सीमान्तकृत वर्गको सुचिमा पर्ने माझी जातिको महान पर्व नदि 'लदि' पूजा रामेछापका माझी समुदायले धुमधामसँग मनाएका छन्। नदिलाई माझी भाषामा नदि भन्ने गरिन्छ। सदियौँदेखि नदि किनारामा बस्दै आएका माझी समुदायले कोशीलाई नै आफ्नो जीविकोपार्जनको माध्यम बनाउँदै आएका छन्।
माझी समुदायले वर्षेनी फागुन महिनामा नदि पूजा गर्ने गर्दछन्। भगवान रामले माझीसंग मीत लगाएको किम्वदन्ती रहेको र भगवान रामकै पालादेखि नदि पूजा गर्ने गरेको माझी अगुवा शंकर माझी बताउँछन्। प्राचीन सभ्यता र संस्कृतिसँग माझी समुदायको नाता कोशीसँग नै जोडिएर आएको उनको भनाइ छ।
कोशी र माझीको अन्योन्याश्रित सम्बन्ध रहेको र माझी समुदायको संस्कृति परम्परा र इतिहास जोगाउन पनि युवा पुस्ता लागिपरेको माझी युवाहरु बताउँछन्। आफ्नो संस्कार संस्कृति पछिल्लो पुस्ताले पनि कायम राखुन् भन्दै युवाहरू संस्कृति संरक्षणमा जुटेको कलाकार एवं माझी अगुवा बाबुराम माझीले बताए।
पछिल्लो पुस्ताले पनि आफ्नो संस्कार, संस्कृति र इतिहास कहिले पनि नभुलुन् भनेर सम्पूर्ण माझी समुदाय एक भएर नदि पूजा गर्ने गरेको बाबुराम बताउँछन्।
आफूहरू कोशी किनारमा बस्ने र कोशीलाई नै आफ्नो कर्म थलो बनाएको हुनाले कुनै पनि दैबिक प्रकोप नहोस् भनेर माझी समुदायका पुर्खाले नदि पूजा गर्दै आएका थिए। कोशी किनारामा बस्दा देवी देवता नाग नागिनीले पनि केही नगरून् भनेर नदिलाई खुशी राख्न पनि पूजा गरिएको माझीका पुजारी किर्ते माझीले जानकारी दिए।
आफूहरू सधैं कोशीमा काम गर्ने कोशी वारपार गर्ने र दैनिकी नै कोशीमा बिताउने हुनाले कोशीले केही क्षति नपुर्याओस् भनेर नदि पूजा गरिएको पुजारी किर्तेको भनाइ छ। किर्ते नदि र आफूहरुको मामा भान्जाको सम्बन्ध रहेको जनविश्वास भएको बताउँछन्।
सदियौँदेखि नदि किनारमा बस्दै आएका माझी समुदायको अन्य समुदायको भन्दा छुट्टै संस्कार र संस्कृति रहेको छ। अन्य समयमा जति मनमुटाव भएपनि नदि पूजामा भने सबै एकैसाथ भेला भएर गर्ने गरेको माझी बुद्धिजीवी बालकृष्ण माझी बताउँछन्। सुनकोसी नदि दिदी र तामाकोसी नदि बहिनी भएको किम्वदन्ती रहेको उनको भनाइ छ।
सुनकोसी नदिले सुँगुरको भोग खाने र तामाकोसी नदिले पाठीको भोग खाने प्रचलन अनुसार सुनकोसी नदि किनारका माझी समुदायले सुँगुरको र तामाकोसी नदि किनारका माझी समुदायले पाठीको भोग दिएर नदि पूजा गर्ने गरेको बालकृष्ण बताउँछन्। सुनकोसी र तामाकोसी नदि किनारमा उल्लेख्य मात्रामा माझी समुदायको बसोबास रहेको छ। कोशी किनारमा बस्ने माछा मार्ने र डुङ्गा चलाउने माझी समुदायको पुर्खेउली पेशा नै रहिआएको छ।