वीरेन्द्रनगर/कालीकोट : कालीकोटको सुनथराली विमानस्थल निर्माण थालिएको ३८ वर्षपछि सञ्चालनमा आएको छ। उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विमानस्थलको सोमबार उद्घाटन गरेका हुन्। सोमबार नेपाल एयरलाइन्स र तारा एयरको दुइटा जहाज सुनथराली विमानस्थल पुगेका थिए।
२०४२ सालमा निर्माण थालिएको यो विमानस्थल निर्माण पूरा हुन ३७ वर्ष लागेको थियो। निर्माण सम्पन्न भइसकेपछि पनि उद्घाटन हुन थप एक वर्ष लाग्यो। पहिलोपटक तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीको पहलमा सुनथरालीमा २०७३ साल माघ २९ गते परीक्षण उडान भएको थियो। विमानस्थल कालोपत्रे भइसकेपछि आइतबार तारा एयरको विमानले दोस्रोपटक परीक्षण उडान गरेको थियो। गत पुस मसान्तमा निर्माण पूरा भएको विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्रीको समय मिलाउँदैमा पटक–पटक पर धकेलिएको थियोे। सोमबार विमानस्थलको औपचारिक उद्घाटनपछि सुर्खेत–कालीकोट नियमित उडान हुने भएको छ।
कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका शाहीले अलपत्र अवस्थामा रहेको विमानस्थल पर्यटनमन्त्री हुँदा तीनपटक अनुगमन गरी निर्माणलाई तीव्र दिएको बताए। ‘मैले कर्णालीका सबै विमानस्थललाई नियमित सञ्चालन गरेर अकालमै ज्यान गुमाउनुपर्ने यहाँका नागरिकको बाध्यताको अन्त्य गर्ने अभियान चलाएको हुँ। यो अभियान चलाएको सात वर्षपछि कालीकोट विमानस्थल उद्घाटन भएर नियमित उडान सञ्चालन हुने भएको छ। यसले कालीकोटवासीलाई निकै सहज बनाउनेछ’, उनले भने।
अब सातामा एक उडान
सुनथराली विमानस्थलमा सातामा नियमित एक उडान हुने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विमानस्थल उद्घाटनमै सीमित नराखेर नागरिकलाई हवाई सेवा दिन सातामा एक दिन उडान गर्ने प्रतिबद्धता जनाए। ‘नेपालमा पर्याप्त जहाज छैनन्। साना जहाज नभएकै कारण सबै विमानस्थल नियमित रूपमा सञ्चालन गर्न सकिएको छैन। सुनथराली विमानस्थलबाट जहाज चढ्ने सपना बोकेका कालीकोटवासीलाई हवाई सेवा दिन सातामा एक दिन नियमित उडान हुन्छ’, मन्त्री किरातीले भने।
आफन्तको आत्माले शान्ति पाउनेमा ढुक्क विमानस्थल निर्माणका क्रममा चार जना मजदुरले ज्यान गुमाए।
विमानस्थल निर्माणका क्रममा माटोको ढिस्कोले पुरिएर उनीहरूले ज्यान गुमाएका थिए। सुनथलारीमा नियमित उडान भएसँगै विमानस्थल बनाउँदै गर्दा ज्यान गुमाएकाको आत्माले शान्ति पाउने उनीहरूका आफन्तले विश्वास व्यक्त गरे।
नरहरिनाथ गाउँपालिका–२ का मानबहादुर दमाई भन्छन्, ‘मेरो भाइ पदमले विमानस्थल निर्माणका क्रममा माटोको ढिस्कोले पुरिएर ज्यान गुमायो। उसको आत्माले अब शान्ति पाउँछ कि भन्ने आशा छ’, उनले भने। पदमको २०४९ असार १० गते विमानस्थल निर्माणका क्रममा मृत्यु भएको थियो। यस्तै बुवा आउसेलाई गुमाएका रमेशबहादुर दर्जीले आफ्नो परिवारले राहतसमेत नपाएको बताए। ‘त्यतिबेला म तीन महिनाको मात्रै थिएँ। मलाई हजुर आमाले हुर्काउनु भयो। बुवाको निधनपछि आमाले पनि अर्को विवाह गर्नुभयो। विमानस्थल निर्माणका क्रममा मेरो त सबै खुसी खोसिएको थियो’, उनले भने, ‘अहिले नियमित हवाई सेवा सञ्चालन हुने भनेपछि खुसी लागेको छ। अब घर आँगनबाट जहाज चढेर चित्त बुझाउँला।’ ढिस्को पुरिँदा पदम र आउसेसँगै नरहरिनाथ गाउँपालिका–१ पंखबहादुर विष्ट र कल विष्टले पनि ज्यान गुमाएका थिए।
यसरी सुरुवात भयो विमानस्थल
२०३२ साल अगाडि कालीकोट छुट्टै जिल्ला थिएन। जुम्लामै मिसिएको थियो। जसलाई त्रिब्रिकोटले चिनिन्थ्यो। कालीकोटका विकट बस्तीबाट सदरमुकाममा पाइने सेवासुविधा लिन जुम्ला जानुपथ्र्यो। यसले नागरिकलाई निकै असुविधा भयो। जस कारण तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य धर्मदत्त उपाध्यायले २०३२ मंसिर २६ गते जुम्लाबाट विभाजन गरी कालीकोटलाई छुट्ट्याएर मुलुकको कान्छो जिल्ला बनाएका थिए। त्यतिबेला कालीकोटका नागरिक नुन लिन भोट वा बर्दियाको राजापुर जानुपर्ने बाध्यता थियो। जुम्लाबाट छुट्टिएर कालीकोट अलग्गै जिल्ला बनेपछि यहाँ हवाई सुविधाका लागि जिल्लास्तरमा छलफल भयो।
तीन पटकसम्म राष्ट्रिय पञ्चायतका सदस्य बनेका धर्मदत्त उपाध्यायकै पहलमा विमानस्थल निर्माणको चर्चा सुरु भयो। तर, त्यसले मूर्तरूप लिन सकेन। २०४२ मा तत्कालीन जिल्ला विकास समितिका सभापति दीपबहादुर शाही, सांसद धर्मदत्त उपाध्याय, जिल्लाका अग्रज नेता तिलकप्रसाद न्यौपानेसहितको पहलमा जिल्ला विकास समितिबाट एक लाख बजेट विनियोजन गरी कोटबाडाको सुनथरालीमा विमानस्थल निर्माणको थालनी भएको थियो। तत्कालीन जिल्ला विकास समितिले नै कोटबाडामा सुनथराली विमानस्थल निर्माण गर्ने निर्णय गरेको थियो। त्यसपछि २०४८ मा कालीकोटबाट तिलकप्रसाद न्यौपाने सांसद निर्वाचित भए। उनकै पहलमा तत्कालीन गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले कालीकोट विमानस्थललाई रातो किताबमा समावेश गरी राष्ट्रिय बजेट विनियोजन गरेको थियो।
२०५२ मा माओवादीको सशस्त्रद्वन्द्व सुरु भयो। द्वन्द्वकै बेला विमानस्थल निर्माणमा खटिएका धादिङ जोगिमाराका १७ जनासहित ३७ जना मजदुर मारिएका थिए। त्यसपछि विमानस्थल निर्माणको काम रोकिएको थियो। विमानस्थलका नाममा विनियोजन भएको बजेट पनि हरेक वर्ष काम नभई फ्रिज भएको थियो। २०६२÷६३ को जनआन्दोलनपछि विमानस्थल निर्माणको कामले गति लिएको थियो।