'पश्चिमले युक्रेनमा सेना पठाएमा रुस-नेटो भीडन्त हुन्छ'
पश्चिमी राष्ट्रहरूले युक्रेनमा सेना पठाउने निर्णय गरेमा रुस र उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नाटो) बीच प्रत्यक्ष टकराव हुने क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले मङ्गलबार बताएका छन्।
पेस्कोभको उक्त टिप्पणी फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार पेरिसमा आयोजित सम्मेलनका क्रममा दिएको अभिव्यक्ति पछि आएको हो । सो सम्मेलनमा युरोपेली नेताहरूको समूहले पश्चिमी समर्थनलाई बलियो बनाउने तरिकाहरूबारे छलफल गरेको थियो।
म्याक्रोनले युरोपेली नेताहरू बीच कुनै आधिकारिक सहमति नभए पनि युक्रेनमा सेना पठाउने सम्भावनालाई 'नकार्नु हुँदैन,' र रुसले चलिरहेको द्वन्द्वमा नजितोस् भन्ने सुनिश्चित गर्न पश्चिमले सबै काम गर्ने बताएका थिए।
'यस अवस्थामा हामीले सम्भावनाको बारेमा होइन तर अपरिहार्यता (नेटोसँगको झडपको) बारेमा कुरा गर्न आवश्यक छ ।,' पेस्कोभले युक्रेनमा नेटो सेनाको सम्भावित तैनाथीको प्रश्नको जवाफ दिँदै भनेका छन्।