एकीकृत कारोबारपछि १५ दिन किनबेच नहुने
काठमाडौं : सामुदायिक र बीपीडब्लू लघुवित्त मर्जरपछि एकीकृत कारोबार फागुन २४ गते सुरु गर्ने भएका छन्। एकआपसमा मर्ज भएर फागुन २४ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको हो।
मर्जरका लागि नेपाल राष्ट्र बैंकले माघ २४ र कम्पनी रजिस्ट्रार कार्यालयले फागुन ८ गते अन्तिम स्वीकृति दिएकामा नेपाल धितोपत्र बोर्डले पनि फागुन ९ गते स्वीकृति दिएको हो।
मजरपछि सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार हुनेछ। दुई कम्पनी १:०.८५३५ सेयर स्वाप अनुपातमा मर्ज भएका हुन्। मर्जरपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय बनेपा नगरपालिका-१४ मा रहने बताइएको छ। मर्जरको लागि कात्तिक २ गते अन्तिम सम्झौता सम्पन्न भएको थियो जसका लागि असोज ३० गते सम्पन्न दुवै लघुवित्तको विशेष साधारणसभाले एकआपसमा मर्ज हुने प्रस्ताव पारित गरेका थिए।
फागुन २४ गतेदेखि एकीकृत कारोबार हुने भएपछि डाटा माइग्रेसन गर्न दुवै कम्पनीको फागुन २३ गते सबै सेवाहरू अवरुद्ध हुनेछन्।
एकीकृत कारोबार सुरु गरेको १५ दिनसम्म दुवै कम्पनीको सेयर कारोबार रोक्का हुनेछ। दुवै कम्पनीले सेयर कारोबार रोक्का गरिदिन आग्रह गर्दै नेप्सेलाई पत्र लेखेका छन्। ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९’ मा भएको व्यवस्थाबमोजिम सेयर कारोबार रोक्का गर्न लागिएको हो। त्यसपछि बीपीडब्लू लघुवित्तको १०० कित्ता सेयरधारीले सामुदायिकको ८५.२५ कित्ता सेयर पाउनेछन्।