आयु बढाउन आयुर्वेद
आयुर्वेद प्राचीन चिकित्सा पद्धति हो । वैदिक भाषामा आयुर्वेद भनेको आयु विज्ञान हो । सृष्टि एवं मानव जातिको उत्पत्तिसँगै विभिन्न रोगको पनि सुरुवात भएको पाइन्छ । यससँगै आयुर्विज्ञानको पनि विकास हुँदै गएको हो । आयुर्वेदलाई वैज्ञानिकीकरण र व्यवस्थित बनाउँदै लैजानुपर्ने आजको आवश्यकता हो ।
व्यासले चारवटा वेद लिपिबद्ध गरेको पाइन्छ । ती वेदहरू ऋग्वेद, आयुर्वेद, सामवेद, अथर्ववेद हुन् । अथर्ववेदमा ७० प्रतिशतभन्दा बढी आयुर्वेदसम्बन्धी विषय उल्लेख छ । रोग लाग्नुअघि नै स्वास्थ्यको रक्षा गर्ने र रोग लागिसकेपछि निको पार्ने काम आयुर्वेद चिकित्सा पद्धतिबाट हुन्छ । स्वास्थ्य बिग्रन नदिन र रोग लागिसकेको अवस्थामा उचित उपचार गर्ने नै आयुर्वेद चिकित्साको मूल उद्देश्य हो ।
आयुर्वेदको अन्तिम लक्ष्य भनेको नै मानवजातिलाई निरोगी र दीर्घायु बनाउने हो । त्यसैले मानिसको आयु बढाउन आयुर्वेद महत्वपूर्ण मानिन्छ । दिनचर्या, ऋतुचर्या, आहार, विहार, निद्रा, ब्रह्मचर्य र सदवृत्त आदिको वर्णन आयुर्वेदमा गरिएको छ । यिनीहरूको सही तरिकाले पालना गर्न सकेमा शरीरलाई स्वस्थ राख्न सकिन्छ । व्यक्तिगत मात्र होइन, सामाजिक स्वास्थ्यलाई सबल बनाउन पनि आयुर्वेदको ठूलो महत्व छ ।
आयुर्वेद नेपालको राष्ट्रिय चिकित्सा प्रणालीमा पनि समावेश गरिएको छ । प्राचीनकालदेखि नै उपचारमा जडिबुटीको प्रयोग हाम्रो मौलिक उपचार पद्धति हो । हाम्रो मौलिक उपचार पद्धतिलाई आधुनिकीकरण गर्नुपर्ने अहिले टड्कारो आवश्यकता छ । त्यसका लागि नेपालमै उत्पादित जडिबुटीको पहिचान गरी सही सदुपयोग गर्न सक्नुपर्छ । आयुर्वेदको माध्यमबाट चिकित्सा पर्यटन पनि वृद्धि गर्न सकिन्छ । त्यसैले आयुर्वेदको विकास, विस्तार र सम्बद्र्धनका लागि सरकारका साथै सरोकारवाला निकायहरूले पनि ध्यान दिनुपर्ने जरुरी छ ।
(डा.रोका वरिष्ठ आयुर्वेद चिकित्सक हुन् ।)