जनसहभागितामूलक राजनीतिक संस्कृति
राजनीतिक संस्कृति भनेको कुनै पनि व्यक्तिको राजनीतिप्रतिको आस्था, झुकाव, मूल्यमान्यता, सोचाइ र धारणा हो। राजनीतिक संस्कृतिमा नैतिक मूल्यमान्यताको कदर एवं अनुसरण, प्रजातान्त्रिक संस्कारको विकास, कानुनी शासनको प्रत्याभूति, मानव अधिकारको सुरक्षा र प्रवद्र्धन तथा शक्ति पृथकीकरण र शक्ति सन्तुलन नियन्त्रण, राजनीतिक क्षमता अभिवृद्धि, जनसहभागिता, सुशासनको अभिवृद्धि, समूह काम, प्रतिफल अनुगमन मूल्यांकन दृढ निश्चयी, दूरदृष्टि, नेतृत्व क्षमताको विकास आदि यसभित्र पर्छन्।
राजनीतिक संस्कृतिभित्र कुनै पनि देशको ऐतिहासिक, भौगोलिक, आर्थिक र सामाजिक, विचारात्मक आधारले यो देशको संस्कृतिको विकास भएको हुन्छ। व्यक्ति या समूहको राजनीति र राजनीतिकप्रतिको दृष्टिकोण नै राजनीतिक संस्कृति हो। हामी समाजमा विभिन्न किसिमका मानिस देख्छौं। कोही राजनीतिबारे पटक्कै चासो राख्दैनन् भने कोही ‘फोहोरी खेल’ भनेर घृणा गर्छन्। कसैले साम्यवादी राजनीतिक प्रणाली रुचाउँछन् भने कसैले संघीय।
वास्तवमा व्यक्ति या समूहको उपर्युक्त मानसिक अवस्था नै उसको राजनीतिक संस्कृति हो। समाजको अन्य संस्कृति, राजनीतिक आस्था, विचारधारा, वैदेशिक, सांस्कृतिक विषयहरू यसअन्तर्गत पर्छन्। राजनीतिक संस्कृति प्रगतिमा आधारित हुन्छ। राजनीतिक संस्कृतिलाई सिक्न, सिकाउन सकिन्छ। यो साझा संस्कृतिको रूपमा रहेको हुन्छ। विकासको गतिसँगै राजनीतिक संस्कृति पनि परिवर्तन हुन्छ। यसलाई स्वीकार गर्न सकिन्छ। राजनीतिक संस्कृति तीन प्रकारका हुन्छन् :–संकुचित राजनीतिक संस्कृति : ज्ञान कम, अन्धभक्ति, माग मात्र राख्ने, गाउँका नेता वा ठालुले मात्र बोलावाला राख्ने परम्परागत अवस्थालाई बुझिन्छ। केन्द्रीय सरकार अभिकरणहरूबाट अप्रभावित रहन्छ र उसको चेतनालाई सरकारले मुस्किलले दक्खल दिन्छ। परिणामस्वरूप व्यक्तिलाई आफ्ना स्थानीय समुदायको गठन र कार्य सञ्चालन मात्र थाहा हुन्छ।
प्रजा राजनीतिक संस्कृति : अर्ध विकसित संकुचित संस्कृतिको विकसित रूप हो। राज्यका तर्फबाट प्राप्त सुविधाको प्रयोग गर्ने र आफ्नो आवश्यकता राख्न नसक्ने प्रकारका हुन्छन्। वास्तवमा यस्तो संस्कृति भएका व्यक्ति वा समूहको सरकारसँगको सम्बन्ध निष्क्रिय किसिमको हुन्छ। हुन त परम्परागत संक्रमणकालीन तथा आधुनिक सबै प्रकारका राजनीतिक प्रणालीमा यस्तो संस्कार देख्न पाइन्छ।
सहभागी राजनीतिक संस्कृति : राजनीतिका बारेमा राम्रो ज्ञान भएको, अधिकार र कर्तव्यको पूर्ण जानकारी, राजनीतिक चासो उच्च नेता र नीतिमा सहभागी र यसलाई परिपक्व र विकसित रूप मानिन्छ। जस्तै– बेलायत, अस्टे«लिया, क्युबा, मिश्र आदिको राजनीतिक संस्कृति सहभागी राजनीतिक संस्कृतिभित्र पर्छ।
नेपालमा राजनीतिक संस्कृति : दुर्गम ग्रामीण क्षेत्रमा संकुचित राजनीतिक संस्कृति छ भने साना सहर र दुर्गम सदरमुकाममा प्रजा संस्कृति छ। ठूला नगरपालिका र राजधानीमा सहभागी राजनीतिक संस्कृतिको विकास भएको देखिन्छ। नेपालमा राजनीतिक संस्कृतिको चुनौती धेरै छन्। त्यसैले नेपालमा राजनीतिक संस्कृतिको सहभागी किसिमले विकास हुन सकेको छैन। सार्वभौमसत्ताको प्रश्न चिह्न आदिजस्ता राजनीतिक संस्कृतिका चुनौतीलाई सामना गर्न सके राजनीतिक संस्कृतिको विकास हुने देखिन्छ। तापनि शासकीय सुधार र सुशासनको कमी, सामाजिक विकासमा उच्च लगानीको कमी, आर्थिक विकासको अभाव, स्वस्थ्थ प्रतिस्पर्धामा अविश्वास, गल्ती कमजोरीमा आलोचना स्वीकृति नगर्ने प्रवृत्ति, राजनीतिक सामाजिकीकरणको अभाव आदिले राजनीतिक संस्कृतिको विकास हुन सकेको छैन।
राजनीतिक सक्षमताभित्र नकारात्मक पक्षमाथि नियन्त्रण गर्न सक्ने कानुनी र संस्थागत क्षमताको विकास भएको हुन्छ। देशमा उपलब्ध स्रोत र साधनको परिचालन गर्न सक्ने क्षमताको विकास आफ्नो राष्ट्र र मूल्य मान्यताप्रति गौरवको भावना विकास भएको हुन्छ। आर्थिक सामाजिक उपलब्धि र प्रतिफलको न्यायिक वितरण गर्न सक्ने राजनीतिक क्षमताको विकास भएको हुन्छ। आर्थिक विकासको अभावमा राजनीतिक विकासले गति लिन सक्दैन। यस अर्थमा नेपालको राजनीतिक विकास, आर्थिक विकासको गति न्यून भएको सन्दर्भमा सोहीबमोजिम छ। राजनीतिक संस्कृति र राजनीतिक सामाजिकीकरणको अवस्था कमजोर छ। राजनीतिक विकासले समानता, आमजनताको राजनीतिक सक्षमता र राजनीतिक संस्थाको विशिष्टीकरणमा जोड दिन्छ। समानता र राजनीतिक संस्थाको विशिष्टीकरणमा सुधार छैन।
जनपरिचालन र जनसहभागिताको अवस्था राम्रो रहेता पनि नीति निर्माण प्रक्रियामा सार्थक सहभागिता हुन सकेको छैन। राजनीतिमा पहुँचको समस्या राजनीतिक समानताको समस्या, राजनीतिक सहभागिता र विकासको समस्या छ। गरिबी, अशिक्षा, भ्रष्टाचार व्याप्त छ। राजनीतिक स्थायित्वको समस्या छ। राजनीतिक क्षमताको विकास नै राजनीतिक विकास हो। समयको मागअनुसार राजनीतिक व्यवस्था विकसित वा व्यवस्थित हुन सक्नु नै राजनीतिक विकास हो। राजनीतिक विकासभित्र स्रोत परिचालन व्यक्ति समूह, समाज, पद, इज्जत, मान आदि वितरण गर्ने क्षमता आदि कुरा राजनीतिक विकासभित्र पर्छन्।
अत: राजनीतिक विकासले जनतामा देशको राजनीतिक व्यवस्था, क्रियाकलापप्रति पूर्णज्ञान गराउँछ। आफ्ना माग, हक र अधिकारको लागि सक्षम बनाउँछ। राजनीतिक नेतृत्वको क्षमता विकास र सकारात्मक सोच अभिवृद्धि गराउँछ। राजनीतिक खराबीप्रति जनस्तरबाट नियन्त्रण गर्छ। जनसहभागिता, कानुनी समानता, योग्यता र प्रस्पिर्धात्मक क्षमताको विकास गराउँछ। बदलिँदो परिस्थितिअनुसार देखा पर्ने परिवर्तनलाई आत्मसात् गर्ने क्षमताको विकास गर्छ। जनसहभागितामूलक राजनीतिक संस्कृति अहिलेको समयको आवश्यकता हो। पारदर्शी निर्णय प्रक्रियालाई बढावा दिन्छ। कार्यस्थलमा मानसिक तनाब घटाउँछ। त्यसैले समयसापेक्ष रूपले राजनीतिक, संस्कृतिका र विकास हुनु जरुरी छ।
कुँवर, त्रिचन्द्र क्याम्पसमा प्राध्यापन गर्छिन्।