दूध बिक्री नभएपछि किसान आन्दोलित
![दूध बिक्री नभएपछि किसान आन्दोलित](https://annapurnapost.prixacdn.net/media/albums/Dudh-Pokheko1-1_sEwhx73AaL_GJrOrdZQrt.jpg)
गुलरिया/धनकुटा : बर्दियाको गुलरिया नगरपालिका ४ की दुग्ध उत्पादक किसान विनिता शर्माले पीडित अन्य किसान साथीहरूसँगै आफूहरूले उत्पादन गरेको दूध जिल्ला प्रशासन कार्यालय बर्दियाको मूल गेट अगाडि कालोपत्रे सडकमा पोखिन्। घरखेत लिलामीमा चढाएर जीवनका सबैथोक पशुपालनमा लगाएर मेहनतले उत्पादन गरेको दूध पोख्दा कसलाई खुसी लाग्थ्यो र ? दूध पोख्नु उनीसँगै आन्दोलनमा होमिएका सबै पशुपालकहरूको बाध्यता थियो।
‘दु:ख गरी दूध उत्पादन गर्यो बजारमा बिक्दैन। मुस्किलले बजार पुर्याउँदा भुक्तानी पाइँदैन’, किसान शर्माले भनिन्, ‘भारतीय आयातित दूध बन्द गर्नुपर्छ अनि मात्र हाम्रो दूध बिक्री हुन्छ। नेपाली किसानको दूधलाई प्रोत्साहन गरी अवैध नाकाहरू बन्द गर्नुपर्छ अनि मात्र किसानलाई केही राहत हुन्छ। सीमा नाकामा एकदम कडाइ गर्नुपर्छ र कृषि तथा पशुबिमा नि:शुल्क गर्नुपर्छ।’ दूधको तत्काल भुक्तानी दिँदै सरकारले दिने अनुदान वृद्धि गर्नुपर्ने अन्यथा किसानहरूको दूध उत्पादन प्रति उत्साह हराउने उनको भनाइ छ।
‘बर्दियाका किसानको ९ करोड रुपैयाँ भुक्तानी पाउनुपर्ने देखिन्छ’, नेपाल दुग्ध उत्पादन केन्द्रीय संघका सदस्य एवं बढैयाताल गाउँपालिकाका किसान इन्द्रप्रसाद लुइँटेलले भने। जसमध्ये ३ करोड डीडीसी र ६ करोड प्राइभेट डेरीहरूले तिर्नुपर्ने छ। १ अर्ब ५९ करोड २९ लाख ५० हजारको दूध भारतबाट खरिद भएर आएको तथ्यांक उनले सुनाए। लुइँटेलले थपे, ‘नेपालभरका किसानले असोजदेखि फागुनसम्मको रकम भुक्तानी पाएका छैनन्।’
सरकार समक्ष पटक–पटक वार्ता गरे पनि राज्यले कुनै पनि सुनुवाइ नगरेपछि सडक आन्दोलनमा उत्रिनु परेको उनले बताए। दूधको रकम तत्काल राज्यले उपलब्ध गराउनुपर्ने भन्दै चक्का जामसँगै जिल्ला प्रशासन कार्यालय अगाडि दूध पोखेर दुग्ध सहकारी संस्थाहरूमार्फत किसान आन्दोलनमा उत्रिएका छन्। दूध उत्पादनको बिक्री सुनिश्चित गर्नुपर्ने, भारतबाट आयातित दूध रोकी किसानको रकम तत्काल भुक्तानी गर्नुपर्ने माग उनीहरूको रहेको दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड बर्दियाका अध्यक्ष पवन यादवले बताए। ‘मंसिरदेखि किसान निरन्तर आन्दोलनमा रहे पनि सरकारको आश्वासनले चुप लागेका थियौं। समस्या समाधान नभएपछि पहिलो चरणमा ज्ञापनपत्र बुझाउँदै आन्दोलनको उद्घोष गरेका छौं। मागप्रति बेवास्ता गरिए फागुन २१ गतेदेखि निरन्तर काठमाडौंको माइतीघर मण्डलामा बृहत् आन्दोलन गर्ने तयारीमा छौं’, उनले भने।
त्यसैगरी, ६ महिनायता भुक्तानी नपाएका दूध उत्पादक किसानहरूले जिल्ला प्रशासन कार्यालय, धनकुटामा दुई घण्टा धर्ना दिएका छन्। दुग्ध उत्पादन जिल्ला सहकारी संघ लिमिटेड धनकुटामा भेला भएका सयभन्दा बढी किसानले गत सोमबार दुई घण्टा जिल्ला प्रशासन कार्यालय धनकुटामा धर्ना दिएका हुन्। उनीहरूले प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलमार्फत सरकारलाई ज्ञापनपत्रसमेत पठाएका छन्। दुग्ध किसानहरूको सरकारी स्वामित्वमा रहेका डीडीसीलगायतका अन्य डेरी उद्योगीहरूले विगत ६ महिना अघिदेखि ६ अर्ब बढीको भुक्तानी बक्यौता रहेको केन्द्रीय दुग्घ सहकारी संघ नेपालका अध्यक्ष अम्बरबहादुर कुँवरको भनाइ छ।
बर्दियाको गुलरियास्थित जिल्ला प्रशासन कार्यालय गेट अगाडि दूध पोख्दै किसान । तस्बिर : यादव आचार्य।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)